राष्ट्रियसभा निर्वाचन : एकल महिला देवकोटालाई कांग्रेसले बनायो उम्मेदवार
सारांश
- नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ।
- देवकोटा ३२ वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेकी छिन्, र उनी पेशाले मौरीपालक कृषक हुन्।
- उनले आफ्नो राजनीतिक अनुभव र सामाजिक योगदानलाई योग्यताको रूपमा लिएकी छिन्।
हेटौँडा । आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेश तर्फको एक सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । माघ ११ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले चितवनको महासमिति सदस्य रहेकी देवकोटालाई उम्मेदवार बनाएको हाे ।
उनी पेसाले मौरीपालक कृषक हुन् । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन भएकी देवकोटा विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छिन् । देवकोटाले उम्मेदवारीलाई उनको लामो राजनीतिक सङ्घर्ष र सामाजिक योगदानको रूपमा लिएको बताइन् ।
कांग्रेसको वडा तहको सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा महिला संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दल हुँदै जिल्ला पार्टीका विभिन्न तहगत सङ्गठनहरूमा रहेर छ । हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् । उनी यसअघि दुई पटकसम्म महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् ।
उनी २० वर्षको उमेरमा एकल महिला भएकी थिइन् । उनका श्रीमान् नेपाल वायुसेवा निगममा कार्यरत थिए । २०४९ सालमा कार्यालयबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । कलिलो उमेरमा श्रीमान् गुमाएकी उनले राजनीति र पेसालाई आफ्नो शक्तिमा परिणत गरिन् ।
उनी व्यावसायिक रूपमा मौरी पालन गर्छिन् । हाल उनीसँग १३० घार मौरी छन् । कुनै समय उनले २०० घारसम्म मौरी पालेकी थिइन् ।
उमेर बढ्दै गएकाले अहिले सङ्ख्या केही घटाएको उनको भनाइ छ । २०२९ सालमा रत्ननगरमा जन्मिएकी देवकोटाले कक्षा १० सम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् ।
उनी आफ्ना राजनीतिक अनुभव र सामाजिक भोगाइ नै आफ्नो सबैभन्दा ठुलो योग्यता भएको बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण