महाभियोगको डरमा छन् ट्रम्प
सारांश
- राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले जित्नैपर्ने अन्यथा आफूमाथि महाभियोग लाग्न सक्ने बताए।
- मध्यावधि निर्वाचनमा हारले ट्रम्पलाई कानुन बनाउन र निर्णयहरू लागू गर्न कठिनाइ हुनेछ, किनकि डेमोक्र्याटहरूले बहुमत पाउने सम्भावना छ।
- ट्रम्पले घरेलु समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्ने दबाब रहेको र उनले अघिल्लो डेमोक्र्याट सरकारबाट विरासतमा पाएको बताए।
वासिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूमाथि महाभियोग लाग्ने हो कि भन्ने डरले सताइरहेको छ । यही वर्ष हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले नजिते आफूमाथि डेमोक्रेटहरूले महाभियोग लगाउने ट्रम्पले बताए ।
‘मध्यावधि निर्वाचनमा जित्नै पर्छ, हामीले जितेनौँ भने... तिनीहरूले ममाथि महाभियोग लगाउने एउटा न एउटा कारण खोज्ने छन् । ममाथि महाभियोग लगाइनेछ’ वासिङ्टनमा एक रिट्रिट कार्यक्रममा रिपब्लिकन सांसदहरूलाई ट्रम्पले भने ।
नोभेम्बरमा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ । मध्यावधि निर्वाचन हार्दैमा ट्रम्पले तत्कालै पदबाट हट्दैनन् । तर हारका कारण कंग्रेसमा रिपब्लिकन पार्टीको पकड कमजोर हुनेछ । यसले कानुन बनाउने र ठुला निर्णय लागू गर्न ट्रम्पलाई निकै सकस हुनेछ । प्रतिनिधि सभामा डेमोक्रेटले बहुमत पायो भने ट्रम्पमाथि महाभियोगको प्रक्रिया थाल्न सजिलो हुनेछ ।
राष्ट्रपति जितेपछि मध्यावधि निर्वाचनमा हार हुन्छ भनेर मानिसहरूले भन्ने गरेको पनि उनले बताए । भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति र उनको पत्नीलाई समातेर अमेरिका ल्याउने कदमलाई दुई तिहाइ अमेरिकीले ठिक मानेका छैनन् । अब ट्रम्पमाथि महँगीलगायत घरेलु समस्याहरूमाथि ध्यान केन्द्रित गर्नु पर्ने दबाब छ । मंगलबार ट्रम्पले यी समस्याबारे धेरै बोलेनन् ।
आफूले यी समस्या अघिल्लो डेमोक्रेट सरकारबाट विरासतमा पाएको भन्दै अमेरिकी शेयर बजारमा भइरहेको वृद्धिमा टेकेर रिपब्लिकनहरू बलियो बन्नु पर्नेमा ट्रम्पले जोड दिए । नोभेम्बरमा अमेरिकामा प्रतिनिधि सभाका सबै ४३६ सिट र सिनेटका झन्डै एक तिहाइ सिटका लागि मतदान हुँदैछ । २००६ मा जर्ज डब्ल्यू बुशको पालायता सत्तासीन हरेक अमेरिकी राष्ट्रपतिको पार्टीले मध्यावधि निर्वाचनमा हार बेहोरेको इतिहास छ । यस्तोमा ट्रम्पले आफ्ना दलका सांसदहरूलाई चुनावी एजेन्डामा केन्द्रित हुन दबाब दिइरहेका छन् ।
पहिलो कार्यकालमा ट्रम्पमाथि डेमोक्रेटहरूको बाहुल्य रहेको प्रतिनिधि सभामा दुई पटक महाभियोग प्रस्ताव लगिएको थियो । प्रतिनिधि सभाले दुवै प्रस्तावलाई पारित गरेपनि सिनेटमा यो पारित हुन सकेन । युक्रेन नीति र २०२१ को जनवरी ६ ट्रम्प समर्थकहरूले गराएको काण्डलाई लिएर उनीमाथि महाभियोग लगाइएको थियो । अहिले प्रतिनिधि सभामा रिपब्लिकनसँग डेमोक्रेटको तुलनामा पाँच सिट धेरै थियो । मंगलबार क्यालिफोनिर्याका रिपब्लिकन सांसद डो लामाल्फाको निधन भएपछि यो अन्तर झनै साँघुरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण