बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बालेन, कुलमान र प्रचण्ड ‘चुनाव जित्ने’ क्षेत्रको खोजीमा

बिहीबार, २४ पुस २०८२, १९ : ००
बिहीबार, २४ पुस २०८२

सारांश

  • आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सोही मितिमा हुने सम्भावना बलियो बन्दै गएको छ।
  • निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका नेताहरु मतदातालाई आकर्षित गर्न लागिपरेका छन्।
  • बालेन शाह, कुलमान घिसिङ र प्रचण्ड लगायतका नेताहरु कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने चासो बढेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । ठुलै राजनीतिक उथलपुथल नभएको खण्डमा आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सोही मितिमै हुने आधारहरू मजबुत बन्दै गएको छ ।  यद्यपि केही नयाँ तथा पुराना राजनीतिक दल र स्वयं जेनजीको एउटा पक्षले भने फागुन २१ मा निर्वाचन ‘हुँदैन’ भन्न छाडेका छैनन्, जसले केही अन्यौलता सिर्जना गरिरहेको छ ।

 हुन त विगतका निर्वाचनहरूमा पनि मतदान हुने दिनसम्मै यस्ता संशयहरू देखिँदै नआएका होइनन् । यस्ता संशयलाई केहीबेर अलि परै राखेर हेर्दा फागुन २१ को निर्वाचन तयारी लगायतका हिसाबले पनि नहुनुपर्ने कारण देखिँदैन ।

चुनावको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र तिनका नेताहरू विभिन्न ढंगले चुनावकै तयारीस्वरुप जनतासँगको सम्बन्ध विस्तारमा जोड दिइरहेका छन् । चाहे त्यो निर्वाचन हुँदैन भनेर होस् वा हुन्छ भनेर नै किन नहोस्, उनीहरू मतदाताको मन जित्ने र जनतासँग जोडिने प्रयत्नमै देखिन्छन् ।

यस पटकको निर्वाचन विगतको भन्दा अलि फरक परिस्थितिमा हुन लागेकाले पनि यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका साथ हेरिँदै आएको छ । जेनजी आन्दोलनपछि नयाँ र पुराना शक्तिका रूपमा परिभाषित नेपाली राजनीतिमा निर्वाचनमा समेत यही दुई पक्षबिच प्रतिस्पर्धा हुने पूर्वानुमान धेरैको छ । यस्तो परिस्थितिमा पुराना पार्टी र तिनका नेताका लागि नयाँ शक्ति चुनौतीका रूपमा स्वाभाविक रूपमा रहेका छन् । 

जेनजी आन्दोलनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा मन्त्रीबाट बुधबारमात्र राजीनामा दिएका कुलमान घिसिङ मिसिएर एउटै पार्टीबाट चुनाव लड्ने तयारीले नेपालको राजनीति थप चलायमान बनेको छ । कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिएर शक्त राजनीतिमा होमिने घोषणा गरिसकेका छन् भने मेयर बालेन शाहले केही दिनमै राजीनामा दिएर सक्रिय राजनीतिमा होमिने तरखर गरिरहेका छन् । 

२०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र (लौरौ) चुनाव चिह्नबाट मेयर पद जितेका शाह जेनजी आन्दोलनका एक स्टेकहोल्डर समेत मानिन्छन् । काठमाडौँको मेयर पदको निर्वाचनमा अत्यधिक रुचाइएका शाहको क्रेज नयाँ पुस्तामा उल्लेख्य भएको बताइए पनि सङ्गठन बनिसकेको छैन । त्यसैले पुराना भनिएका पार्टीहरूले बालेन, रवि र कुलमानहरूमाथि ‘पपुलिष्ट राजनीति नटिक्ने’ भाष्य निर्माण गरिरहेका छन् । नयाँले पुराना र पुरानाले नयाँलाई हेर्ने दृष्टिकोण एकातिर रहेकै बेला बालेन, कुलमानले कहाँबाट चुनाव फेस गर्दैछन् भन्ने चासो पनि उत्तिकै बढेको छ ।

  • प्रचण्डलाई कसले छाड्ने ?

बालेन र कुलमानको अलावा पुरानो पार्टी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत कहाँबाट निर्वाचन लड्दैछन् भन्ने आम चासो बढिरहेको छ । किनभने प्रचण्डले २०६४ यता रोल्पा २, काठमाडौँ १०, २०७० सालमा काठमाडौँ १० र सिराहा–३, २०७४ मा चितवन–३, २०७९ गोरखा–२ बाट निर्वाचन लडेका थिए । तर यो पटक २०८२ फागुनमा भने प्रचण्डले निर्वाचन लड्ने क्षेत्र यकिन भएको छैन । 

यो निर्वाचनमा प्रचण्डलाई कालिकोट, नुवाकोट–१, गोरखा–१, सिन्धुली–२, महोत्तरी–४बाट उम्मेदवारका लागि सिफारिस भएको छ । त्यसबाहेक प्रचण्ड पूर्वी रुकुमबाट समेत चुनाव लड्ने आन्तरिक छलफल भएको छ । सम्भवतः यिनैमध्ये कुनै एक क्षेत्रबाट प्रचण्ड निर्वाचन लड्ने प्रयासमा छन् । पूर्वी रुकुमको हकमा उक्त नेकपा बैठक प्रचण्डकै निवासमा बसेको थियो । त्यसले गर्दा पनि प्रचण्ड सोही जिल्लाबाट चुनाव लड्नसक्ने अनुमान भइरहेको छ । त्यसो त प्रचण्डले काठमाडौँ १० र सिन्धुलीबाट समेत निर्वाचन जित्ने वातावरण मूल्याङ्कन गरेर उपयुक्त स्थान रोज्ने उनी निकटका नेताहरूको भनाइ छ ।

  • कहाँबाट लड्दैछन् बालेन ?

प्रचण्डपछि नयाँ शक्तिका रूपमा राजनीतिमा आउन लागेका बालेन शाहको चुनावी क्षेत्रबारे समेत चर्चा, परिचर्चा भइरहेको छ । बाहिरी रूपमा जेजति चर्चा भएपनि बालेन स्वयंले भने यही क्षेत्रबाट चुनाव लड्छु भनेर भनिसकेका छैनन् । बालेन निकटस्थहरूले केही समय पहिलासम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्नसक्ने भनेर प्रचार गरेका थिए । तर पछि फेरि बालेन निकटस्थहरूले नै झापा नभएर काठमाडौँ–२ बाट बालेन निर्वाचन लड्नसक्ने सम्भावना रहेको बताइरहेका छन् । यसअघि रास्वपाकी नेतृ सोविता गौतमले जितेको काठमाडौँ–२ बालेनलाई छाडेर उनी गौतम चितवन– ३ मा जानसक्ने समेत बताइँदै आएको छ । गौतमले केही दिन अघि बालेनले काठमाडौँ–२ बाट चुनाव लड्न चाहेको खण्डमा आफू छाडेर चितवन जान समेत तयार रहेको बताएकी थिइन् । त्यसबाहेक कतिपयले बालेन महोत्तरीबाट समेत चुनावमा प्रतिस्पर्धा गर्नसक्ने अनुमान र अड्कलबाजी भइरहेका छन् । त्यसैले बालेन चर्चामा रहेका ती स्थानमध्येबाटै उठ्न सक्ने रास्वपा नेताहरूको भनाई छ ।

  • काठमाडौँ–३ मा कुलमानको आँखा

सुशीला कार्की नेतृत्वको सरकारमा ३ मन्त्रालयसहित ११५ दिन मन्त्री भएका कुलमान घिसिङ पनि सेलिब्रेटी पात्र हुन् । नेपाललाई लोडसेडिङमुक्त बनाउन घिसिङले गरेको पहललाई धेरैले जस दिने गरेका छन् । सोही क्रेडिटले सेलिव्रेटी बनेका घिसिङ मन्त्री भएकै बेला आफूनिकटस्थहरुलाई राखेर उज्यालो नेपाल पार्टी (उनेपा) गठन गरेका थिए । तर, निर्वाचन मिति नजिकिँदै गर्दा जेनजीको भावना र नयाँ शक्ति मिल्नुपर्छ भन्ने चाहानाअनुसार आफू संरक्षक रहेको पार्टी रास्वपामा मिसाए । 

यद्यपि यो समाचार लेख्दासम्म रास्वपा र उनेपाविचको सहमति कार्यान्वयन भैनसकेको दुवै पक्षले स्वीकार गरिसकेका छन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार चितवन पुगेर उनेपासँगको सहमति कार्यान्वयनकै चरणमा रहेको बताएबाटै पनि उनीहरूबिचको सहमति कार्यान्वयन भइनसकेको पुष्टि हुन्छ । तर यो निर्वाचनमा कुलमान घण्टी चुनाव चिह्नबाटै निर्वाचन लड्ने विषय भने लगभग पक्का जस्तै रहेको छ । यस्तो अवस्थामा कुलमानले कुन निर्वाचन क्षेत्र रोज्लान् ? धेरैको प्रश्न छ ।

कुलमान स्वयंले पनि यही निर्वाचन क्षेत्रबाट उठ्छु भनेर घोषणा गरिसकेका छैनन् । सायद समय बाँकी नै भएको र विपक्षी रणनीति बुझ्ने मनसायले पनि धेरैले आफू निर्वाचन लड्ने क्षेत्र तत्काल घोषणा नगर्ने रणनीति नेताहरूले अख्तियार गर्ने गर्दै आएका छन् । यही चासोकाबिच कुलमानले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्नसक्ने उनी निकटस्थहरूले दाबी गरेका छन् । 

उज्यालो नेपाल पार्टी गठनमा भूमिका खेलेका कुलमानका सहोदर दाजु गणेश घिसिङले बुधबार रातोपाटीसँग भनेका थिए, ‘उहाँ (कुलमान) फागुन २१ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने लगभग पक्का नै छ ।’ २०७९ को निर्वाचनमा काठमाडौँ –३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । बौद्ध, जोरपाटी थली लगायतका क्षेत्र स्थान उक्त निर्वाचन क्षेत्रमै पर्छन् । जहाँ तामाङ, शेर्पालगायतका जनजातिको बसोबास उल्लेख्य रहेको छ । यही जातीय भोट सहजै आउने भएका कारण पनि कुलमानको आँखा काठमाडौँ–३ मा बढी केन्द्रित भएको उनी निकटस्थहरूको भनाइ छ । मन्त्री हुँदै पनि कुलमानले भित्री रूपमा त्यस क्षेत्रका मतदातामाझ पुगेर अनौपचारिक ढंगले भोट माग्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप