देउवाको गृह प्रदेशमा दोहोरो दबाबमा महाधिवेशन प्रतिनिधि
धनगढी । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि आह्वान गरेको विशेष महाधिवेशनको सरगर्मी बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम भने दोहोरो दबाबमा देखिएको छ । संस्थापन पक्षले महाधिवेशनलाई विधान विपरीत दाबी गर्दै बहिष्कारको घोषणा गरेको छ भने अर्को पक्ष संस्थापनको घेराबन्दी तोड्दै काठमाडौं पुगेको छ ।
सुदूरपश्चिममा विशेष महाधिवेशनलाई असफल पार्न संस्थापन पक्षले कडा मोर्चाबन्दी कसेको देखिएको छ । बिहीबार मात्रै सुदूरपश्चिमका ६ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी नहुन ह्विप जारी गरे । तर यो ह्विप र दबाबलाई चुनौती दिँदै नेता भीम बडुवालको नेतृत्वमा सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधिहरूको टोली काठमाडौं उत्रिएको छ ।
नेता बडुवालले देउवाको गृह प्रदेशमा महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं जान नदिन ठुलो दबाब सिर्जना गरिएको बताए । उनका अनुसार सुरुमा सुदूरपश्चिमबाट १४० जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए ।
‘१४० जनामध्ये अहिले उनीहरूले (संस्थापन पक्षले) विभिन्न ढंगले डर देखाउने, तर्साउने, धम्काउने र तिमीहरूको टिकट खाइदिन्छौँ भन्ने जस्ता मनोवैज्ञानिक र भौतिक त्रास दिएर रोक्ने प्रयत्न गरिरहेका छन्,’ बडुवालले भने ।
संस्थापन पक्षले रोक्ने प्रयास गरे पनि काठमाडौंमा सुदूरपश्चिमको उपस्थिति कमजोर नहुने उनको दाबी छ । ‘उनीहरूले जति रोक्ने प्रयत्न गरे पनि हामी ४० प्रतिशतभन्दा माथि सहभागिता जनाउँछौँ,’ बडुवालले भने, ‘हाम्रो अनुमानमा ३० प्रतिशत साथीहरू काठमाडौं पुगिसक्नुभएको छ भने १० प्रतिशत जति बाटोमा हुनुहुन्छ । भोलिसम्म सबै आइपुग्नुहुन्छ ।’
विशेष महाधिवेशनले पार्टी फुटको संघारमा पुर्याउने संस्थापन पक्षको आरोपलाई बडुवालले अस्वीकार गरे । उनले बहुमत प्रतिनिधिहरूको निर्णयलाई नेतृत्वले स्वीकार गर्नुपर्ने तर्क राखे ।
‘सम्मेलन स्थलमा बहुमतले हस्ताक्षर गर्यो भने त्यसले कहिल्यै पनि पार्टी फुटाउँदैन । बहुमतले लिड (नेतृत्व) गर्ने हो, अल्पमतलाई समेट्ने हो,’ बडुवालले भने, ‘हामी त्यहाँ बहुमत पुर्याउँछौं र त्यसको आधारमा नयाँ नेतृत्व चयन प्रक्रिया वा निर्णय हुन्छ भने त्यो उहाँहरू (देउवा पक्ष) ले पनि मान्नुपर्छ ।’
सुदूरपश्चिममा कांग्रेसका ४१६ जना महाधिवेशन प्रतिनिधि छन् । जसमध्ये केहीको मृत्यु भएको र केही निष्क्रिय हुँदा हाल करिब ३९० को हाराहारीमा सक्रिय प्रतिनिधि रहेको बडुवालको दाबी छ ।
‘काठमाडौंको सम्मेलन हलमा सुदूरपश्चिमबाट मात्रै कम्तीमा १५० देखि १६० जनाको भौतिक उपस्थिति हुनेछ,’ उनले दाबी गरे ।
बझाङ, डोटी, डडेलधुरा, अछाम, कञ्चनपुर र कैलालीका जिल्ला सभापतिहरूले आगामी माघ ११ को राष्ट्रियसभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्नु आत्मघाती हुने निष्कर्ष निकाल्दै विज्ञप्ति जारी गरिसकेका छन् ।
विशेष महाधिवेशनका पक्षधर मानिने गगन–विश्वप्रकाश समूहकै कतिपय स्थानीय नेताहरू समेत पछि हटेका छन् । प्रदेश महामन्त्री नरनारायण शाहले स्वास्थ्यको कारण देखाउँदै र सहमहामन्त्री अम्बिका चलाउनेले निर्वाचनको संवेदनशीलता देखाउँदै महाधिवेशनमा नजाने घोषणा गरेका छन् । प्रदेश सभापति बीरबहादुर बलायरले यसअघि नै आफू विशेष महाधिवेशनको विपक्षमा रहेको बताइसकेका छन् ।
बाजुरा र दार्चुलाका सभापतिहरू शेखर कोइराला पक्षधर मानिए पनि उनीहरू खुलेर काठमाडौं जाने पक्षमा देखिएका छैनन् । बैतडीका सभापति चतुरबहादुर चन्दले एजेन्डामा सकारात्मक भएपनि पार्टी फुट्ने अवस्था आए सहभागी नहुने सर्त राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण