बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थारु बस्तीमा माघीको रौनक : ढिक्री र अनदीको तयारीसँगै नयाँ नेतृत्व चयनको चटारो

शनिबार, २६ पुस २०८२, १३ : ४०
शनिबार, २६ पुस २०८२

सारांश

  • माघी पर्व नजिकिँदै गर्दा कञ्चनपुरका थारु बस्तीहरूमा उत्सवको माहोल छाएको छ, र मानिसहरू पर्वको तयारीमा जुटेका छन्।
  • माघीमा ढिक्री, अनदीको भात, सुँगुरको मासु र जाँड बनाउने तयारी अन्तिम चरणमा पुगेको छ, र युवायुवतीहरू मघौटा नृत्यको अभ्यासमा जुटेका छन्।
  • माघी पर्वले आपसी सम्बन्ध सुधार गर्ने र नयाँ नेतृत्व चयन गर्ने अवसर प्रदान गर्दछ, जसले थारु समुदायको पहिचानलाई जीवन्त राख्छ।

कञ्चनपुर । थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका थारु बस्तीहरूमा उत्सवको माहोल छाएको छ। माघीको आगमनसँगै गाउँगाउँमा चहलपहल बढेको छ भने पुरुष र महिलाहरू पर्वको तयारीमा बिहानदेखि साँझसम्म व्यस्त देखिन्छन्। कोही दाउरा जोहो गर्न र वनबाट साल तथा मालुका पात सङ्कलन गर्न व्यस्त छन् भने महिलाहरू घरघरमा बसेर परम्परागत दुना–टपरी गाँस्न तल्लीन छन्।

माघी पर्वमा पाहुनालाई आफ्नै हातले बनाएका दुना–टपरीमा खाना पस्किने मौलिक चलन छ, जसले थारु समुदायको प्रकृतिसँगको निकटतालाई झल्काउँछ। यसका साथै माघीका लागि अनिवार्य मानिने परिकारहरू ढिक्री, अनदीको भात, सुँगुरको मासु र जाँड बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। महिलाहरू घरघरमा अनदीको चामल भिजाउने र जाँड राख्ने काममा जुटेका छन् भने पुरुषहरू मासुको जोहो गर्ने र नदी, खोला तथा पोखरीमा माछा मार्ने काममा सक्रिय छन्। बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिताले गाउँमा सामूहिक एकताको भावनालाई थप बलियो बनाएको छ।

साँझ पर्न नपाउँदै थारु बस्तीका चोक र आँगनहरूमा मादलको ताल गुञ्जिन थालेको छ। युवायुवतीहरू मघौटा नृत्यको अभ्यासमा जुटेका छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव साटासाट गरिरहेका भेटिन्छन्। पर्वकै लागि घरआँगन लिपपोत गरेर चिटिक्क पारिएको छ भने गाउँका साझा मन्दिर र बाटोघाटोहरू सामूहिक रूपमा सरसफाइ गरिएको छ। कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष महोत्सवको तयारी समेत तीव्र पारिएको छ।

माघी पर्व केवल खानपान र नाचगानमा मात्र सीमित छैन, यो आपसी मनमुटाव बिर्सिएर सम्बन्ध सुधार्ने अवसर पनि हो। थारु समाजमा यस पर्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष गाउँको नयाँ नेतृत्व चयन गर्नु हो। माघीकै अवसरमा बस्ने गाउँसभा 'देवानी' मार्फत वर्षभरिको आय–व्यय समीक्षा गरिन्छ र आगामी वर्षका लागि नयाँ भल्मन्सा, बरघर, चौकीदार र गुरुवा चयन गर्ने परम्परा छ। यसरी माघीले थारु समुदायको पहिचान, संस्कृति र सामाजिक व्यवस्थालाई जीवन्त राख्दै नयाँ वर्षको सुरुवात गर्ने गर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप