शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि 'तम्तयार' रहन ओलीको निर्देशन: अनेक खेल स्वीकार्य छैन, एकै चरणमा चुनाव गर

शनिबार, २६ पुस २०८२, १४ : १९
शनिबार, २६ पुस २०८२

सारांश

  • केपी शर्मा ओलीले निर्वाचनका लागि तयार रहन एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
  • ओलीले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको र निर्वाचन सार्ने खेल भइरहेको आरोप लगाए।
  • एमालेले एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहोर्याएको छ र चुनावी तयारीलाई तीव्रता दिने निर्णय गरेको छ।

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिबेलै निर्वाचन हुन सक्ने भन्दै त्यसका लागि 'तम्तयार' रहन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। शनिबार आयोजित एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक ढिलोचाँडो निर्वाचनमा जानैपर्ने भएकाले सिंगो पार्टी पङ्क्तिलाई तयारीमा जुट्न आह्वान गरेका हुन्। उनले सरकारले अझैसम्म निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

अध्यक्ष ओलीले निर्वाचनको वातावरण बिथोल्न राजनीतिक दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयास भइरहेको दाबी गरे। भयरहित वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउँदै उनले फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई विभिन्न बहानामा सार्ने खेल भइरहेको भन्दै सचेत गराए। उनले निर्वाचनका विषयमा गरिने निर्णयहरू स्वेच्छाचारी ढङ्गले नभई न्यूनतम राजनीतिक सहमतिका आधारमा हुनुपर्नेमा जोड दिएका छन्।

निर्वाचन प्रक्रियाका बारेमा बोल्दै ओलीले चरणबद्ध रूपमा निर्वाचन गर्ने कुरा एमालेलाई स्वीकार्य नहुने स्पष्ट पारे। उनले सरकारले अनेक प्रकारका खेल खेलिरहेको हुन सक्ने भन्दै एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहोर्‍याए। "हामी जतिबेला पनि निर्वाचनका लागि तयार छौँ, तर सरकारले अराजक र स्वेच्छाचारी ढङ्गले निर्णय गर्नुहुँदैन, यसमा हामी चनाखो हुनुपर्छ," ओलीले बैठकमा भने।

पार्टीको आन्तरिक तयारीका सन्दर्भमा उनले समानुपातिक निर्वाचनका लागि बन्दसूचीमा नामहरू सर्वसम्मतिले सिफारिस भइसकेको जानकारी दिए। तर, प्रत्यक्षतर्फको नाम सिफारिस गर्दा तल्लो कमिटीहरूमा केही विवाद देखिएको उल्लेख गर्दै उनले कुनै पनि विवाद सिर्जना नगरी पार्टीको निर्देशनअनुसार एकजुट भएर काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरे। निर्वाचनको सुनिश्चितताका लागि सरकारलाई दबाब दिइरहने र पार्टीका तर्फबाट चुनावी तयारीलाई तीव्र बनाउने निर्णय एमाले बैठकले गरेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप