यो निर्वाचन आत्मसमर्पण नबनोस्, आत्मनिर्णय बनोस्
सारांश
- देश निर्वाचनको संघारमा छ, तर नागरिकहरू राजनीतिक प्रणाली र नेताहरूसँग असन्तुष्ट छन्।
- जनताको जीवन र राजनीतिक भाषणबीचको खाडल फराकिलो हुँदै गएको छ, जसले राजनीतिक संकट निम्त्याएको छ।
- युवा पुस्ता परिवर्तन चाहन्छन्, तर उनीहरूले विवेकपूर्ण निर्णय र मतदान प्रक्रियामा सक्रिय हुनुपर्छ।
नेपाल फेरि एउटा निर्णायक मोडमा उभिएको छ । देश निर्वाचनको संघारमा छ, तर यो केवल अर्को चुनावी मिति होइन । यो विगतका गल्ती, भ्रम र असफलतामाथि जनताले फैसला सुनाउने घडी हो । सडकमा असन्तोष पोखिएको छ, चियापसलमा निराशा गुञ्जिएको छ, सामाजिक सञ्जालमा आक्रोश उर्लिएको छ । तर अब प्रश्न उठ्छ– यो आक्रोश मतपेटिकासम्म पुग्छ कि फेरि भाषण र गुनासोमै सीमित रहन्छ ?
आजको नेपाल राजनीतिक रूपमा थाकेको छ । सरकारहरू फेरिन्छन्, गठबन्धन बन्छन् र भत्किन्छन्, तर शासन गर्ने संस्कार फेरिएको छैन । सत्ता सेवा होइन, सुविधा र सौदाबाजीको साधन बनेको छ । राजनीति विचार र दर्शनको क्षेत्र हुनुपर्ने ठाउँमा लेनदेन र भागबण्डाको खेल बनेको छ । जनतालाई मालिक होइन, संख्याको रूपमा हेरिन्छ । यही थकित र अविश्वासले भरिएको परिवेशमा आगामी निर्वाचन हुन गइरहेको छ ।
सामान्य नेपालीको जीवन र राजनीतिक भाषणबीचको दूरी आज भयावह स्तरमा पुगेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ, आम्दानी स्थिर छ । शिक्षित युवा बेरोजगार छन्, रोजगारीको खोजीमा पासपोर्ट बोकेर एयरपोर्ट धाइरहेका छन् । गाउँहरू खाली हुँदै गएका छन्, सहरहरू अव्यवस्थित बन्दै गएका छन् । स्वास्थ्य उपचार ऋणमा निर्भर छ, शिक्षा प्रमाणपत्रमा सीमित छ । तर यही देशमा विकास, समृद्धि र सुशासनका भाषणहरू थाकेका छैनन् । जनताको जीवन कठोर यथार्थमा अडिएको छ, नेताको भाषण काल्पनिक संसारमा घुमिरहेको छ । यही खाडल नै आजको राजनीतिक संकटको जड हो ।
निर्वाचन नेपालमा क्रमशः चेतनाको अभ्यासभन्दा कर्मकाण्ड जस्तै बन्दै गएको छ । चुनाव आउँछ, झण्डा झुण्डिन्छ, नारा गुञ्जिन्छ, भोट हालिन्छ । तर चुनावपछि जनताले आफैंलाई सोध्दैनन् हामीले सही निर्णय गर्यौँ कि गरेनौंरु पाँच वर्षपछि फेरि उही अनुहार, उही शैली, उही निराशा दोहोरिन्छ । लोकतन्त्र उत्सव होइन, थकानको चक्र बन्दै गएको छ । यही चक्र तोड्ने कि फेरि दोहोर्याउने भन्ने प्रश्नमा यो निर्वाचन उभिएको छ ।
मतदान कुनै औपचारिकता होइन, यो शक्ति हस्तान्तरणको प्रक्रिया हो । यो एउटा गम्भीर राजनीतिक र नैतिक निर्णय हो । कसलाई राज्य सञ्चालनको जिम्मा दिने, कसलाई अस्वीकार गर्ने भन्ने निर्णय हो । तर दुर्भाग्यवश, मतदान अझै पनि धेरैका लागि बानी, डर, लोभ, जात, नाता वा क्षणिक भावनाबाट निर्देशित छ । विवेकबाट होइन, आदतबाट हुने मतदानले परिवर्तन होइन, पुनरावृत्ति जन्माउँछ ।
अब सामान्य नेपालीले गम्भीर रूपमा सोच्नुपर्ने समय आएको छ । कसलाई भोट हाल्ने भन्ने प्रश्नभन्दा पहिला कसलाई भोट नहाल्ने भन्ने चेतना विकास गर्न जरुरी छ । पाँच वर्ष जनतासँग संवाद नगरेको नेता चुनावको मुखमा आएर मुस्कुराउनु मात्रले योग्य हुँदैन । सिद्धान्त र नीति बारम्बार त्यागेर सत्ता समीकरणमा रमाउने दललाई देशको भविष्य सुम्पिनु जोखिम हो । पैसा, प्रभाव, डर वा पहिचानको नाममा मत किन्ने प्रयास गर्ने उम्मेदवारले जनताको अपमान गरिरहेको हुन्छ । यस्ता प्रवृत्तिलाई अस्वीकार गर्नु नै लोकतन्त्रको रक्षा हो ।
आजको राजनीतिमा विचारको गहिरो अभाव देखिन्छ । धेरै राजनीतिक शक्तिहरू न स्पष्ट दिशामा छन्, न दीर्घकालीन दृष्टिकोणमा । सत्ता नै अन्तिम लक्ष्य बनेपछि नीति र प्रतिबद्धता क्षणभरमै बदलिन्छ । यही कारण जनतामा सबै उस्तै हुन् भन्ने खतरनाक भ्रम फैलिएको छ । यो भ्रम सुविधाजनक देखिए पनि दीर्घकालीन रूपमा विनाशकारी छ । सबै उस्तै ठान्नु भनेको गलत र सहीबीचको भेद मेटाउनु हो । यसले अन्ततः जिम्मेवारीबाट भाग्ने संस्कार जन्माउँछ ।
युवा पुस्ता आज आक्रोशित छ, प्रश्न गरिरहेको छ, परिवर्तन चाहिरहेको छ । यो सकारात्मक संकेत हो । तर आक्रोश मात्र पर्याप्त हुँदैन । सडकमा उठेको आवाज मतपेटिकामा नपुगेसम्म सत्ता संरचना बदलिँदैन । क्रान्तिकारी नारा संगठन, नीति र मतदानमा रूपान्तरण नभएसम्म परिवर्तन अधुरो रहन्छ । यो निर्वाचन युवाहरूका लागि परीक्षा हो भावनामा बग्ने कि विवेकमा निर्णय गर्ने, क्षणिक आकर्षण रोज्ने कि दीर्घकालीन सोच अपनाउने ।
नेपालको राजनीतिमा जात, धर्म र क्षेत्रीय पहिचानको दुरुपयोग पुरानै रोग हो । यी पहिचानहरू आफैंमा समस्या होइनन्, तर जब ती मत बटुल्ने हतियार बन्छन्, तब राजनीति विभाजनको कारखाना बन्छ । समस्या समाधानको सट्टा डर र घृणा बेच्ने प्रवृत्तिले देशलाई अगाडि होइन, पछाडि धकेल्छ । मतदाताले सजग हुनुपर्छ जसले नागरिकलाई बाँड्छ, उसले भविष्य बनाउँदैन ।
लाखौँ नेपाली विदेशमा छन् । उनीहरूले देशको अर्थतन्त्र धानेका छन्, तर राजनीतिक निर्णय प्रक्रियाबाट टाढा छन् । यो लोकतन्त्रको गम्भीर कमजोरी हो । तर देशभित्र रहेका नागरिकले आफ्नो अधिकार प्रयोग नगरी बस्नु भनेको विदेशिएका नेपालीको आवाजसमेत कमजोर पार्नु हो । मौनता पनि एक प्रकारको समर्थन हो गलत प्रवृत्तिको समर्थन ।
मतदानपछि पनि नागरिकको जिम्मेवारी सकिँदैन । वास्तवमा जिम्मेवारी त्यहीँबाट सुरु हुन्छ । जसलाई जिताइयो, उसलाई निगरानी गर्नुपर्छ । प्रश्न गर्नुपर्छ । जवाफ माग्नुपर्छ । प्रतिनिधि जनताको सेवक हो, मालिक होइन भन्ने कुरा व्यवहारमै स्थापित गर्नुपर्छ । पाँच वर्षको मौनताले लोकतन्त्र कमजोर बनाउँछ, निरन्तर नागरिक चेतनाले मात्र बलियो बनाउँछ ।
आगामी निर्वाचनमा मतपेटिकामा हालिने एउटा मत केवल एउटा सिटको निर्णय होइन । त्यो निर्णय हो, देश सही दिशामा जान्छ कि फेरि उही गोलचक्करमा फस्छ । युवा यहीँ भविष्य खोज्छ कि विदेशमै हराउँछ । राजनीति सेवा बन्छ कि फेरि व्यापार । अब निर्णय जनताको हातमा छ । परिवर्तन चाहने हो भने, मतदान पनि परिवर्तनकारी हुनुपर्छ ।
यो निर्वाचन आत्मसमर्पण नबनोस्, यो आत्मनिर्णय बनोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण