शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्दोलनको दमनकारीसँग प्रधानमन्त्रीको अस्वभाविक उठबस : साह

सोमबार, २८ पुस २०८२, १९ : ४६
सोमबार, २८ पुस २०८२

सारांश

  • आजपा अध्यक्ष प्रभु साहले प्रधानमन्त्रीको 'दमनकारी'सँग उठबसले जेनजी आन्दोलनको भावनामाथि असर पर्ने बताए।
  • उनले जेनजी आन्दोलनका पीडित परिवारले न्यायको अपेक्षा गरेको र सरकारको स्पष्टता आवश्यक रहेको उल्लेख गरे।
  • साहले कर नीति र भन्सार व्यवस्थाका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको र निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताए।

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आन्दोलनको दमनकारीसँग प्रधानमन्त्री सुशीला कार्की अस्वभाविक उठवस भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको यस्तो उठबस हुँदा जेनजी आन्दोलनको भावनाअनुसार सरकार अघि बढ्न नसक्ने उनको भनाइ छ । 

सोमबार पर्सा क्षेत्र नं. ३ अन्तर्गत पोखरियामा आजपाद्वारा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारले न्यायको अपेक्षा गरिरहेको उल्लेख गर्दै ती घटनासँग सम्बन्धित विषयमा सरकारको स्पष्टता आवश्यक रहेको बताए। उनले आन्दोलनका पीडित परिवार तथा सहभागीहरूले न्यायको माग गर्दै आएको बताए।

तर उनले विगतमा सार्वजनिक रूपमा व्यक्त गरिएका अभिव्यक्तिभन्दा फरक ढंगका राजनीतिक भेटघाटहरू प्रधानमन्त्रीबाट देखिन थालेको बताए। साहले नेकपा (एमाले) अध्यक्ष एवं जेनजी आन्दोलनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको मुखनै हेर्दिनँ भन्ने प्रधामन्त्रीले अहिले घण्टौँ बालुवाटारमा चियागफ गर्ने गरेको टिप्पणी गरे । 
यसैगरी, उनले पछिल्लो समय सरकारपिच्छे कर नीति र भन्सार व्यवस्थाका कारण सर्वसाधारण तथा सीमावर्ती क्षेत्रका नागरिकले समस्या भोग्नुपरेको उल्लेख गरे। कर प्रणाली र भन्सार प्रक्रियामा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा साहले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिए। कुनै पनि बहानामा निर्वाचन सार्ने प्रयास भए जनस्तरबाट प्रतिरोध हुनसक्ने चेतावनी उनले दिए।

आजपा नेता शिव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघुवित्त पीडितका पक्षमा सक्रिय मणिराम ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप