बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानमा विरोध प्रदर्शनका क्रममा ६४६ जनाको मृत्यु, सञ्चार सेवामा आंशिक खुकुलो

मङ्गलबार, २९ पुस २०८२, १५ : ३५
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तिमा ६४६ जनाको मृत्यु भएको छ।
  • इरान सरकारले मोबाइलबाट विदेशमा कल गर्न अनुमति दिएको छ, तर इन्टरनेटमा प्रतिबन्ध कायमै छ।
  • फ्रान्सले तेहरानस्थित दूतावासका कर्मचारी फिर्ता बोलायो भने जर्मनीले हिंसा अन्त्य गर्न आह्वान गरेको छ।

तेहरान । इरानमा सरकारविरुद्ध भइरहेको रक्तपातपूर्ण प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४६ पुगेको छ। देशभर प्रदर्शन चर्किँदै गएपछि इरान सरकारले आफ्ना नागरिकमाथि लगाएका सञ्चार प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको हो।

यसअन्तर्गत इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा कल गर्न अनुमति दिइएको छ। यद्यपि, इन्टरनेटमा लगाइएको प्रतिबन्ध भने अझै यथावत् छ र एसएमएस सेवा पनि सञ्चालनमा आएको छैन।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार इरानीहरूले विदेशमा फोन गर्न सके पनि विदेशबाट इरानभित्र कल गर्न भने अझै सम्भव भएको छैन। राजधानी तेहरानका नागरिकले इन्टरनेट पहुँच अझै बाहिरी संसारसँग काटिएको र सरकारद्वारा अनुमोदित केही स्थानीय वेबसाइटमा मात्र सीमित पहुँच रहेको जानकारी दिएका छन्।

मानव अधिकार कार्यकर्ताहरूका अनुसार मृत्यु हुने ६४६ जनामध्ये ५१२ जना प्रदर्शनकारी र १३४ जना सुरक्षाकर्मी रहेका छन्। पछिल्लो दुई हप्तामा १० हजार ७०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ।

इरानको अस्थिर अवस्थालाई ध्यानमा राख्दै फ्रान्सले तेहरानस्थित आफ्नो दूतावासका अनावश्यक कर्मचारीहरूलाई फिर्ता बोलाएको छ। आइतबार र सोमबार ती कर्मचारीहरूले देश छोडे पनि फ्रान्सेली राजदूत भने तेहरानमै रहेका छन्। जर्मन चान्सलर फ्रेडरिक मेर्जले इरानी सरकारलाई प्रदर्शनकारीमाथि भइरहेको हिंसा तुरुन्त अन्त्य गर्न आह्वान गरेका छन्। उनले वर्तमान शासन आफ्नो अन्तिम दिनहरूमा रहेको दाबी गर्दै बल प्रयोग गरेर सत्ता टिकाउन खोज्नेहरूको अन्त्य निश्चित रहेको बताए।

इजरायली सेनाले पनि इरानको घटनाक्रमलाई नजिकबाट नियालिरहेको र जुनसुकै आश्चर्यजनक परिदृश्यका लागि सतर्क रहेको जनाएको छ। गत वर्ष इजरायलले इरानको आणविक कार्यक्रममा आक्रमण गरेपछि दुई देशबीच चलेको युद्धमा ठूलो मानवीय क्षति भएको थियो। पछिल्लो साता इरानले इजरायल वा अमेरिकाबाट कुनै पनि आक्रमण भएमा कडा जवाफी कारबाही गर्ने चेतावनी समेत दिएको छ। इरानमा बिहीबारदेखि बन्द गरिएको इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा कहिले खुल्छ भन्नेबारे अझै अन्योल कायमै छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप