बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चाडपर्व

थारु समुदायमा नयाँ वर्षको उत्साह, गाउँको नयाँ नेतृत्व चयन

बुधबार, ३० पुस २०८२, ११ : ५०
बुधबार, ३० पुस २०८२

सारांश

  • सुदूरपश्चिमका थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाउँदै छन्।
  • माघीमा विशेष परिकारका साथै नयाँ नेतृत्व चयन र सामाजिक प्रशासनसम्बन्धी कार्यहरू हुने गर्छन्।
  • युवापुस्तामा मौलिक संस्कृति लोप हुने चिन्ता बढेको छ भने, प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

धनगढी । सुदूरपश्चिमको तराई क्षेत्र, विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारु समुदायको घर–आँगनमा अहिले माघी पर्वको रौनक छाएको छ । थारु समुदायले माघीलाई एक पर्वका रूपमा मात्र नभई आफ्नो नयाँ वर्षको रूपमा समेत धूमधामसँग मनाउँदैछन् ।

पुसको कठ्याङ्ग्रिदो जाडोको बेवास्ता गर्दै गाउँबस्तीमा माघीको उल्लास छाएको छ । एक हप्ता अघिदेखि नै सुरु भएको तयारीले अहिले मूर्त रूप लिएको छ ।

माघीको तयारी पुस लाग्नेबित्तिकै सुरु भए पनि विशेष तयारी भने माघे संक्रान्तिको एक हप्ता अघिदेखि तीव्र हुन्छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ की स्थानीय विपनी चौधरीका अनुसार यो समयमा थारु महिलाहरूलाई माघीको तयारी गर्न भ्याइनभ्याइ हुन्छ ।

‘हामीले हरेक वर्ष पुसको अन्तिम दिनदेखि माघ ३ गतेसम्म धुमधामका साथ माघी मनाउँछौँ । यसका लागि एक हप्ता अघिदेखि नै जङ्गल गएर सालका पात टिप्ने, दुना–टपरी गाँस्ने र घरलाई लिपपोत गरेर चिटिक्क पार्ने काम गर्छौं,’ उनले भनिन्, ‘खानपिनका लागि कुटानी–पिसानीको काम पनि सकिसकेका छौँ । ढिकरी र रोटी पकाउनका लागि सबै तयारी पूरा भइसकेको छ ।’

माघी पर्वको अर्को मुख्य विशेषता भनेको यसको खानपिन हो । यो पर्वमा थारु समुदायमा विशेष परिकार पाक्छन् । विपनी चौधरीका अनुसार माघीमा बङ्गुरको मासु अनिवार्यजस्तै हुन्छ । यसका साथै जाँड (स्थानीय मदिरा), ढिकरी (चामलको पिठोबाट बनाइने विशेष परिकार), आलु, मुला र सिन्कीको तरकारी खाने चलन छ ।

पुस मसान्तको दिन, जसलाई थारु भाषामा ‘जिता मरना’ दिन पनि भनिन्छ, यस दिन घर–घरमा सुँगुर काट्ने र मासुका परिकार बनाउने गरिन्छ । पुसको अन्तिम रात यी परिकार खाएर रमाइलो गरिन्छ भने माघ १ गते बिहानै उठेर नदी वा तलाउमा नुहाउने परम्परा छ । यसलाई पाप पखाल्ने र पुण्य कमाउने अवसरका रूपमा लिइन्छ ।

नुहाइसकेपछि घरका आफूभन्दा ठुलाबडाबाट आशीर्वाद लिने गरिन्छ । सानालाई आशीर्वाद दिने र ठुलालाई ढोग्ने यो चलनलाई ‘सेवा सलाम’ भनिन्छ ।

नयाँ वर्ष पनि भएकाले यो समयमा चेलीबेटीलाई विशेष सम्मान गरिन्छ । विवाह गरेर गएका छोरी–चेलीहरूलाई माइतीमा बोलाउने, मिठा परिकार खुवाउने र उपहार दिने चलन छ । यसले दाजुभाइ र दिदीबहिनीबिचको प्रेमलाई अझ प्रगाढ बनाउँछ ।

माघी पर्वको सबैभन्दा रोचक र महत्त्वपूर्ण पक्ष भनेको यसको सामाजिक तथा राजनीतिक पाटो हो । धनगढी–६ का थारु अगुवा मोतीलाल चौधरीका अनुसार माघी भनेको खानपिन र रमाइलो मात्र होइन, यो थारु समुदायको नयाँ आर्थिक वर्ष र नयाँ नेतृत्व चयन गर्ने समय पनि हो ।

परम्परा अनुसार माघको पहिलो हप्ताभित्र थारु गाउँहरूमा ‘खोज्नी बोझ्नी’ वा भेला आयोजना गरिन्छ । यो भेलाले आगामी वर्षका लागि गाउँको मुख्य मान्छे अर्थात् ‘भलमन्सा’ छनोट गर्छ । साथै, गाउँको सुरक्षा गर्ने ‘चौकीदार’ र हुलाकीको काम गर्ने व्यक्तिहरू पनि यसै समयमा छानिन्छन् । यो प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक हुन्छ, जहाँ गाउँलेहरूले छलफल गरेर सर्वसम्मत वा बहुमतका आधारमा नेतृत्व चयन गर्छन् ।

दाजुभाइबिच घर छुट्टिने वा अंशबन्डा गर्ने सोच भएमा पनि यही माघीको समयमा भागबन्डा गर्ने पुरानो चलन रहेको मोतीलालले बताए । यसरी हेर्दा माघी पर्व थारु समुदायको सामाजिक प्रशासन चलाउने मुख्य आधार स्तम्भ हो ।

‘यसबेला थारु समुदायले गाउँमा अर्को वर्ष गरिने विकास निर्माणका कार्यहरूको वार्षिक योजना बनाउँछन् । कुलो–पानी मर्मत, बाटोघाटो निर्माण र पूजाआजाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुन्छ । समुदायमा देखिएका समस्याहरूको समाधान खोज्ने र वर्षभरिको हिसाब–किताब सार्वजनिक गर्ने काम पनि यही बेला हुन्छ,’ उनले भने ।

दाजुभाइबिच घर छुट्टिने वा अंशबन्डा गर्ने सोच भएमा पनि यही माघीको समयमा भागबन्डा गर्ने पुरानो चलन रहेको मोतीलालले बताए । यसरी हेर्दा माघी पर्व थारु समुदायको सामाजिक प्रशासन चलाउने मुख्य आधार स्तम्भ हो ।

पर्वको सुरुवातसँगै गाउँमा नाचगानको रौनक पनि सुरु हुन्छ । स्थानीय सुन्दरी चौधरीका अनुसार माघीको अवसरमा ‘मघौटा’ नाच नाच्ने गरिन्छ । पर्वको सुरुका दिनहरूमा घर–घरमा गएर नाच्ने, गाउने र रमाइलो गर्ने चलन छ । परम्परागत पोसाकमा सजिएका युवायुवतीहरूले मादलको तालमा नाच्दै एक–अर्कालाई शुभकामना साटासाट गर्छन् ।

‘माघी आएपछि खुट्टा आफैँ नाच्न खोज्छन्, गाउँघर गुञ्जायमान हुन्छ,’ सुन्दरीले भनिन् ।

यद्यपि, समयसँगै केही चिन्ता पनि थपिएका छन् । पछिल्लो समय युवा पुस्ताले आफ्नो मौलिक संस्कृति र परम्परा बिर्सिंदै गएकोमा पाका पुस्ताहरू चिन्तित छन् । स्थानीय पार्वती चौधरीले युवाहरू आधुनिकतातर्फ आकर्षित हुँदा माघीको मौलिकता कतै हराउने हो कि भन्ने चिन्ता व्यक्त गरिन् ।

‘अहिलेका केटाकेटीहरू मोबाइल र बजारिया गीतमा रमाउन थालेका छन् । परम्परागत मघौटा नाच र गीतहरू बिस्तारै कम हुँदै गएका छन् । हाम्रो पहिचान जोगाउन युवाहरूलाई संस्कृति सिकाउनु जरुरी छ,’ पार्वतीले भनिन् । उनले आफ्ना छोराछोरीलाई चाडपर्वको महत्त्व बुझाउनुपर्नेमा जोड दिइन् ।

माघीको महत्त्वलाई बुझ्दै राज्यले पनि यसलाई विशेष स्थान दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी पर्वको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

tharu culture

माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट पनि बिदा दिने प्रचलन रहँदै आएको छ । जस अनुसार कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने गरेका छन् । यसले समुदायलाई पर्व मनाउन अझ सहज बनाएको छ ।

माघीको अवसरमा विभिन्न संघ–संस्थाहरूले ‘माघी मिलन’ तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । यस्ता कार्यक्रमले थारु र गैर–थारु समुदायबिचको भाइचारा र सद्भावलाई बलियो बनाउन मद्दत पुर्‍याएको छ ।

सुदूरपश्चिममा तराईमा बसोवास गर्ने समुदायले माघी पर्व मनाइरहँदा पहाडी समुदायले भने माघी संक्रान्ति पर्व मनाउने गर्छन् । पुसको अन्तिम दिन विभिन्न धार्मिकस्थलहरूमा रातभरि जाग्राम बस्ने, भजन किर्तन गर्ने र माघ १ गते नदीमा स्नान गर्ने गर्छन् । प्रदेशका डडेल्धुराको भित्री मधेस परशुराम धाम, कैलालीको गोदावरी धाम लगायतका धार्मिकस्थलमा मेला लाग्ने गर्छ र त्यहाँ स्नान गर्न सयौँ श्रद्धालु भक्तजन जाने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप