पार्टी फुट्नु हुँदैन भन्छन् देउवा, के गर्लान् गगन–विश्व ?
सारांश
- नेपाली कांग्रेसका सभापति देउवा र महामन्त्रीहरूबीच पार्टी विवाद समाधानका लागि छलफल भएको छ।
- नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएसँगै पार्टी फुट्ने चिन्ता बढेको छ।
- देउवाले पार्टी जोगाउन टिकटमा हस्ताक्षर गर्ने अधिकार छाड्न तयार रहेको बताए।
काठमाडौँ । पार्टी विवाद उत्कर्षमा पुगेसँगै बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच कुराकानी भएको छ । सभापति देउवासँगको छलफलबाहेक महामन्त्रीद्वय थापा र शर्मा अलग्गै कानुनी परामर्शमा पनि जुटेका छन् ।
यता, भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भइसकेको छ । उता नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा संस्थापन पक्षले बिहान ८ बजेलाई केन्द्रीय समिति बैठक बोलाए पनि यो समाचार तयार पार्दासम्म बैठक बस्न सकेको छैन ।
सभापति देउवा पक्ष र विशेष महाधिवेशन पक्षधरका आ–आफ्नै तयारीले चुनावको मुखमा नेपाली कांग्रेस फुट्ने हो कि भन्ने कांग्रेसजनमा चिन्ता र चासो बढिरहेको छ । कांग्रेसको विवादसँगै आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनबारे समेत अन्योल र आशंका बढेको छ । यदि कांग्रेस विभाजन भयो भने उक्त मितिमा निर्वाचन हुन नसक्ने आशंका समेत बढ्न पुगेका छन् ।
बुधबार बिहान देउवा निवास महाराजगञ्जमा भएको महामन्त्रीद्वय थापा र शर्मासँगको छलफलमा ठोस सहमति जुट्न नसके पनि सभापति देउवा भने केही लचक देखिएका छन् । महामन्त्रीद्वयको कुराकानीमा देउवाले पार्टी फुटबाट जोगिन्छ भने आफू टिकटमा हस्ताक्षर गर्ने अधिकारसमेत छाड्न तयार रहेको बताएका थिए ।

त्यसलगत्तै महामन्त्रीद्वय थापा र शर्मा कानुनविद्हरूसँग छलफलमा जुटेका छन् । अब कांग्रेस विभाजन रोक्ने वा अघि बढ्ने भन्ने ‘बल’ गगन–विश्वहरूको कोर्टमा पुगेको छ । त्यसो त महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समेत पार्टी फुट्न नदिने बताउँदै आए पनि नयाँ नेतृत्वको चयन प्रक्रियामा सामेल भइसकेपछि उनीहरूलाई समेत ‘ब्याक’ हुन कठिन हुने देखिएको छ ।
यदि गगन–विश्वले महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढाएमा नयाँ नेतृत्व चयन हुनेछ भने देउवा पक्षले समानान्तर कांग्रेसका नाममा आफ्ना गतिविधि अघि बढाउनेछन् । यस्तो अवस्थामा कांग्रेसको विवाद र मुद्दा निर्वाचन आयोग र अदालतसम्म पुग्न सक्ने देखिन्छ ।
केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी एकतामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सोहीअनुसार वार्ता मिल्ने सम्भावना अझै बाँकी रहेकाले थापा र शर्मा अहिले छलफलमा जुटेको बताए । उता हाल भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइसकिएको छ भने सभापतिमा गगन थापा स्वयंले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन समेत तयार रहेको भनेर लचकता अपनाउँदा–अपनाउँदै गगन–विश्व अघि बढेर पार्टी विभाजन भएमा पार्टी विभाजनको दोष र जिम्मेवारी थापा र शर्माहरूले बोक्नुपर्ने हुनेछ ।

‘माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा उम्मेदवारी दर्ता भयो । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा पनि मैले नै हस्ताक्षर गरेँ’, देउवाको भनाइ उद्धृत गर्दै नेता महतले भने, ‘अब प्रत्यक्षतर्फ अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनले मिल्छ कि मिल्दैन, कानुनी रूपमा निक्र्योल गरौँ, म तयार छु, तर पार्टी नफुटाउनुस्,’ देउवाले महामन्त्रीद्वयलाई आग्रह गरेका थिए ।
साथै देउवाले वैशाखमा १५औँ महाधिवेशन तय भइसकेकाले अहिले नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई भनेका थिए । नेता महतका अनुसार त्यसक्रममा सभापति देउवालाई संरक्षकको भूमिकामा मात्र बस्न आग्रह गरेका थिए । जवाफमा देउवाले भनेका थिए, ‘मैले सार्वजनिक रूपमा नै अब सभापतिको उम्मेदवार हुँदिनँ भनेको छु । विधानअनुसार पनि म सभापति बन्न पाउँदिनँ । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट म उम्मेदवार हुँदिनँ । त्यतिबेलासम्म धैर्य गर्नुस् ।’
यसअघि सभापति देउवाले संसदीय निर्वाचन लड्न नपाउने भन्ने महामन्त्रीद्वयको भनाइ आएको प्रसंगमा भने देउवासँगको भेटमा उनीहरूले त्यो प्रसंग ननिकालेको दाबी गरे । सभापति देउवाले महामन्त्रीहरूलाई ‘के मलाई संसदको चुनाव पनि नलड भनेको हो ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा महामन्त्रीद्वयले ‘त्यस्तो होइन’ भन्ने जवाफ दिएका थिए । ‘त्यो त भनेको होइन’, महामन्त्रीको भनाइ उद्धृत गर्दै महतको भनाइ छ ।
त्यसपछि देउवाले थप भनेका थिए, ‘पार्टी एकता महत्त्वपूर्ण हो । मेरो हस्ताक्षर महत्त्वपूर्ण होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण