युक्रेनले ९० अर्ब युरो ऋण सैन्य आवश्यकतामा खर्च गर्ने ईयूको घोषणा
सारांश
- युरोपेली संघले युक्रेनलाई ९० अर्ब युरो ऋण दिने घोषणा गरेको छ, जसको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्च हुनेछ।
- यो ऋण युक्रेनको सैन्य क्षमता सुदृढ गर्न र राज्यका आधारभूत सेवाहरू सञ्चालन गर्न प्रयोग गरिनेछ।
- ऋण फ्रान्स लगायतका देशहरूको अडानलाई सम्बोधन गर्दै युरोपेली रक्षा उद्योगलाई बलियो बनाउने लक्ष्य राख्दछ।
कीएभ । युरोपेली सङ्घ (इयू) ले युक्रेनका लागि उपलब्ध गराउने ९० अर्ब युरोको ऋण प्याकेजको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेको छ। ब्रसेल्सले बुधबार सार्वजनिक गरे अनुसार यस ऋणको दुई तिहाइ रकम किएभको सैन्य संयन्त्रलाई सुदृढ बनाउन प्रयोग गरिनेछ भने बाँकी रकम सामान्य बजेट र प्रशासनिक कार्यका लागि छुट्याइएको छ। महिनौँसम्म चलेको कूटनीतिक विवादपछि डिसेम्बरमा इयू सदस्य राष्ट्रहरू यो ठूलो परिमाणको सैन्य सहयोग उपलब्ध गराउन सहमत भएका हुन्।
रूसले युक्रेनमाथि सुरु गरेको आक्रमण पाँचौँ वर्षमा प्रवेश गर्न लाग्दा नगद अभाव झेलिरहेको किएभका लागि यो ऋण निकै महत्त्वपूर्ण मानिएको छ। इयू प्रमुख उर्सुला भोन डेर लेयनले यस सहयोगले युक्रेनलाई युद्धको मैदानमा आफ्नो प्रतिरक्षा बलियो बनाउन र राज्यका आधारभूत सेवाहरू सुचारु राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। उनले यो कोष मुख्यतया युक्रेन र युरोपेली देशहरूबाटै हतियार खरिद गर्न प्रयोग गरिने जानकारी समेत दिइन्।
युरोपको रक्षा उद्योगलाई बलियो बनाउन र अमेरिकामाथिको निर्भरता कम गर्न फ्रान्स लगायतका देशहरूले राख्दै आएको अडानलाई यस ऋण प्याकेजले सम्बोधन गरेको देखिन्छ। यद्यपि, आवश्यक सैन्य उपकरणहरू युरोपमा उपलब्ध नभएको खण्डमा युक्रेनले युरोप बाहिरबाट पनि खरिद गर्न सक्ने लचकता अपनाइएको छ। भोन डेर लेयनका अनुसार यो लगानीले युरोपमा रोजगारी सिर्जना, अनुसन्धान र विकासमा समेत सकारात्मक प्रतिफल दिनेछ।
रुसी केन्द्रीय बैंकको रोक्का गरिएको सम्पत्ति प्रयोग गर्ने योजना असफल भएपछि इयूका नेताहरूले साझा बजेटमार्फत यो ऋणको ग्यारेन्टी गर्ने सम्झौता गरेका थिए। अब यस ऋणलाई युरोपेली संसद् र सदस्य राष्ट्रहरूले अन्तिम अनुमोदन गरेपछि मात्र भुक्तानी प्रक्रिया सुरु हुनेछ। यस ऋणको वार्षिक करिब तीन अर्ब युरो बराबरको ब्याज भने ब्रसेल्सले आफ्नै बजेटबाट बेहोर्ने तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण