शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरधामको फोहर व्यवस्थापन चुनौतीपूर्ण, तीर्थयात्री भन्छन्– पवित्र स्थानमा जताततै फोहर रहेछ

बिहीबार, ०१ माघ २०८२, २२ : १८
बिहीबार, ०१ माघ २०८२

सारांश

  • जनकपुरधाम, धार्मिक स्थल फोहरले दुर्गन्धित हुँदा पर्यटक र तीर्थयात्रीहरू समस्यामा परेका छन्।
  • फोहर व्यवस्थापनमा जनकपुर उपमहानगरपालिकाको सक्रियता कम देखिएको छ, जसले गर्दा फोहोर जताततै फालिएको छ।
  • स्थानीय सरकार र गुठी संस्थानबीचको समन्वय अभाव र ल्यान्डफिल साइटको समस्याका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

जनकपुरधाम । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम हिन्दु धर्मावलम्बीको पवित्र धार्मिक स्थल पनि हो, जहाँ भगवान राम र देवी जानकी (सीता)को ऐतिहासिक मन्दिर छ ।

प्रदेशकै प्रशासनिक केन्द्रका साथै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रसमेत रहेको जनकपुरधाम पछिल्लो समय फोहरले दुर्गन्धित भएको छ ।

जाडो महिनामा आन्तरिक तीर्थयात्रीका साथै भारतका विभिन्न राज्यबाट समेत जनकपुरधाममा धार्मिक पर्यटकको भिड लाग्ने गर्दछ । सरदर दैनिक १५ देखि २० वटा भारतीय बस तीर्थयात्री लिएर आउने गरेका छन् ।

यसरी आउने भारतीय तीर्थयात्री जनकपुरका गोपाल धर्मशाला लगायत विभिन्न मठमन्दिरमा बस्ने गर्छन् । उनीहरू आफैँ पकाएर खाने तथा जथाभावी फोहर गरेर जाने गर्दा जनकपुरधाममा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन् ।

जनकपुर घुम्न आएका भारत, उत्तर प्रदेशका हरिश तिवारी आफूले सुनेको जनकपुर र देखेको जनकपुरमा निकै भिन्नता रहेको बताउँछन् । सीताको जन्मभूमि निकै पवित्र ठाउँ हो भन्ने आफूले सानैदेखि सुनेको र सोही कारण जनकपुर घुम्न आएको बताउने उनी जनकपुर क्षेत्रमा जताततै फोहर देख्दा खिन्न लागेको धारणा राख्छन् ।

‘यो त पवित्र भूमि हो, यस्तो पवित्र भूमिमा फोहरले दुर्गन्ध फैलाएको छ,’ उनले भने ।

गुजरातबाट आएका सोनी सुमन पनि धार्मिक स्थल सफा हुनुपर्ने तर्क गर्छन् । ‘जानकी मन्दिर, राम मन्दिर जाँदा वरिपरि अव्यवस्थित नाला, फोहरले तीर्थयात्रीलाई खिन्न बनाउँछ,’ उनले भने, ‘धार्मिकस्थलमा आउँदा त आनन्द अनुभूति हुनुपर्ने हो, यहाँ फोहरले गर्दा मन शान्त र आनन्दको अनुभूति नै नहुने रहेछ ।’

janakpur-phohor

गोपाल धर्मशालाको अगाडि धनुष क्षेत्र पोखरी घाट फोहरले ढाकेको देखिन्छ । स्थानीय चिया पसलले जगदीश ठाकुरले भने, ‘पोखरीको फोहरले गर्दा श्रद्धालुहरू हातखुट्टा धुन पनि हिचकिचाउँछन्, नुहाउन त परै जाओस् ।’

बाहिरबाट आएका तीर्थयात्रीसमेत फोहरले गर्दा जनकपुरधाममा धेरै समय बिताउन नचाहने उनको अनुभव छ । ‘पहिला भारतीय पर्यटकहरू दुई–तीन दिनसम्म बसेर जान्थे,’ उनले भने, ‘अहिले त बिहान आइपुगेका तीर्थयात्री दुई÷चार घण्टामै फर्कने गरेका छन् । साँझतिर आइपुगेकाहरूचाहिँ बाध्यताले एकरात बस्छन् ।’

जनकपुरधाम उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा सक्रियता देखाएको छैन । सार्वजनिक स्थलमा डस्टबिनको व्यवस्था नहुँदा जताततै फोहर फाल्ने गरिएको स्थानीय बताउँछन् ।

पग्ला बाबा धर्मशाला अगाडि रहेको महाराज सागरको अवस्था पनि उस्तै दयनीय छ । चिया–खाजाका साना होटल तथा पसलले सागरको घाटमा फोहर फाल्ने गर्छन् । स्थानीय पसले रामराजा साहले भने, ‘दुर्गन्धका बाबजुद व्यापार त गर्नैपर्छ । व्यापार नगरे पेट भर्न गाह्रो हुन्छ ।’

फोहर फाल्ने ठाउँ र डस्टबिनको व्यवस्था नहुँदा जथाभावी फोहर फालिएको उनको भनाइ छ । ‘चिया–खाजा खानका लागि समेत मान्छे आउन मान्दैनन्,’ उनले भने, ‘दुर्गन्धमा बसेर खान कसलाई मन लाग्छ र ? ग्राहकलाई राम्रो वातावरणमा राखेर खुवाउन पाए व्यापार पनि बढ्थ्यो तर हामीले मात्र चाहेर सफा राख्न सकिँदैन ।’

अर्का स्थानीय व्यवसायी राकेश दासका अनुसार राति मानिसहरूले पोखरीका घाटमा फोहर ल्याएर फाल्ने गरेका छन् । विवाह पञ्चमी, राम नवमी, छठजस्ता पर्वमा पोखरी तथा सागर सजाइने गरे पनि अरुबेला कसैले सर–सफाइमा चासो नराखेको उनको गुनासो छ ।

स्थानीयवासीका अनुसार उपमहानगरपालिकाले फोहर उठाउन चासो नै देखाएको छैन । ‘कुनै दिन नगरपालिकाको गाडी आएर फोहर उठाएर लान्छ, कुनै दिन आउँदैन,’ एक स्थानीयले भने, ‘वडामा पनि गुनासो ग¥यौँ तर वास्ता गर्दैनन् ।’

१०० भन्दा बढी मन्दिर, ७० भन्दा धेरै कुण्ड रहेको जनकपुरधाम फोहरले गर्दा कुरुप बनेको छ । जनकपुरधामका अधिकांश खाली ठाउँमा आसपासका बासिन्दाले फोहर फाल्ने गरेका छन् । नगरपालिकाको गाडी समयमै फोहर सङ्कलन गर्न नआएका कारण त्यसरी सार्वजनिक तथा खाली जग्गामा फोहर फाल्नु परेको स्थानीयको भनाइ छ ।

image

जनकपुर–४ का वडाध्यक्ष सुरेश झा जथाभावी फोहर फाल्नु दण्डनीय हुने बताउँछन् । ‘फोहर हुन नदिन यहाँका स्थानीयवासी, व्यापारीहरूले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘समयमा हाम्रो सफाइको गाडी आउँछ र समयमा सफाइ हुन्छ ।’

फोहर बोक्ने गाडीले सम्बन्धित ठाउँबाट फोहर उठाएर गइसकेलगत्तै पनि कतिपयले फोहर फाल्ने गर्दा सफाइको काम नदेखिएको उनको भनाइ छ ।

त्यस्तै जनकपुर–३ का वडाध्यक्ष दिपेन्द्र साहले पनि जानकी मन्दिर, विवाहमण्डप, अर्गाजा पोखरीको वरिपरि फोहर फाल्ने गरिएको बताए । ‘फोहर फाल्नेलाई सजायको व्यवस्था नगरेसम्म फोहर व्यवस्थापनमा चुनौती छ,’ उनले भने ।

विगत दुई वर्षदेखि धनुष सागर पोखरीमा प्रत्येक शनिबार सरसफाइ अभियान हुँदै आएको छ । सो अभियानमा लागेका जयनाथ अधिकारीले भने, ‘म थाकेँ । जनकपुर सुध्रिनेवाला छैन । कतिसँग झगडा गर्ने ? रक्सी खाएर पोखरीको डिलमा बोतल फ्याल्छन् । नगरपालिका सुरक्षा, सफाइको नाउँमा कानमा तेल हालेर सुत्छ ।’

जनकपुरको गंगासागर आरतीघाट बाहेक महाराज सागर, गोर धोई पोखरी लगायतका पोखरी फोहरको गोदाम भएको उनले बताए ।

फोहर व्यवस्थापनका लागि जनकपुरका सबै वडालाई जिम्मेवारी दिएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह बताउँछन् । ‘वडालाई ट्रयाक्टर सहित सफाइ कर्मचारी पनि दिइएको छ,’ उनले भने, ‘फोहर समस्या समाधान गर्न गुठी संस्थान बाधक बनेको छ ।’

जनकपुरधामको सबै सार्वजनिक जग्गा गुठी संस्थानसँग रहेको भन्दै उनले ल्यान्डफिल साइटका लागि जग्गा उपलब्ध गराउन बारम्बार आग्रह गर्दा पनि प्राप्त हुन नसकेको बताए । उनले भने, ‘ल्यान्डफिल साइट नभएसम्म यहाँ फोहरको समस्या दिगो रूपमा समाधान हुन सक्दैन ।’

ल्यान्डफिल साइट बनाउन प्रयास गर्दा समेत स्थानीयहरूको अवरोधको कारणले गर्दा समस्या भएको नगर प्रमुख साहले बताए । सरसफाइ व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकामा १५० चालक एवं सफाइकर्मी, २१ वटा ट्र्याक्टर, आठ वटा टिप्पर, दुई वटा जेसीबी, दुई वटा पानी ट्याङ्कर र दुई वटा म्याजिक भ्यान रहेको सफाइ प्रमुख श्याम ठाकुरले जनाए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता प्रमेश झाका अनुसार २०७५ सालतिर फोहर व्यवस्थापनका लागि नारायण नगरपालिकाको फुलगाममा रहेको मनियार डिलमा जग्गा लिजमा लिएको थियो । तर सो जग्गा राजर्षि जनक विश्वविद्यालयका लागि राखिएको भन्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अवरोध गरेपछि हालसम्म ल्यान्डफिल साइटको जग्गा विवाद समाधान नभएको उनले बताए ।

जनकपुरधाममा रहेका मठमन्दिर, धर्मशाला, स्वास्थ्य संस्थामा समेत फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जनकपुरलाई फोहरमुक्त बनाउन स्थानीयवासीका साथै स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेसम्म फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको सरोकारवाला बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप