‘साहित्यमा पनि राजनीतिमा जस्तै आवेग हाबी छ, विवेक शून्य छ’
सारांश
- नेत्र एटम साहित्यिक समालोचना र कविताको क्षेत्रमा परिचित नाम हुन् र उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन्।
- उनले किताबलाई जीवित मान्छेको अनुभूति सँगालिएको सिर्जना मान्छन् र यसलाई लेखकको जीवन र चिन्तनको रूपमा लिन्छन्।
- उनले नेपाली कविताको अवस्था र समालोचनाको भूमिकाबारे प्रकाश पार्दै सामाजिक सञ्जालको युगले समालोचनालाई सतहमा ल्याएको विचार राखे।
समालोचना र कविताका क्षेत्रमा चर्चित नाम हो नेत्रमणि सुवेदी अर्थात् नेत्र एटम । गजल र निबन्ध विधामा समेत कलम चलाउने नेत्र एटम त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत छन् । उनको ‘शब्दहरूको नेपथ्य’ (संयुक्त कविता सङ्ग्रह– २०५६) उपन्यास– ‘सिद्धान्त र नेपाली उपन्यास’ (२०६०), ‘भित्र कतै दुख्छ भने’ (गजल सङ्ग्रह– २०६०), ‘समालोचनाको स्वरूप’ (२०६१), प्रिय मौनता (कविता सङ्ग्रह–२०७८) लगायत दर्जन भन्दा बढी कृतिहरू प्रकाशित छन् । उनै नेत्र एटमसँग रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि गरिएको कुराकानी ।
- अधिकांशलाई किताब के हो भनेर सोध्यो भने ‘ज्ञानको सङ्ग्रह’ भन्छन् । तपाईंका लागि किताब के हो ?
मलाई किताब ज्ञानको सङ्ग्रह जस्तो लाग्दैन । मेरा लागि किताब जीवित मान्छेको अनुभूति सँगालिएको एउटा सिर्जना हो । मान्छेका चलायमान अनुभूति हुने भएकाले मलाई किताब मन पर्छन् । मलाई त किताब जीवित मान्छे जस्तै लाग्छन्, जो अक्षरमा अनूदित भएर पानामा बसेका हुन्छन् । कृति लेखेपछि लेखक मर्छ भन्ने पनि छन् । तर, म यो कुरा मान्दिनँ । बरु लेखकको जिजीविषा पाठकमा सर्यो भन्ठान्छु म ।
किताबमा लेखकको व्यक्तित्व टड्कारो हुन्छ । त्यसैलाई हामी मौलिक शैली भन्छौँ । जुनसुकै किताबका हरेक अक्षर पढ्दाखेरि मेरो दिमागमा लेख्ने मान्छे नै आइरहेको हुन्छ । म किताबलाई लेखककै जीवन र चिन्तनका रूपमा ग्रहण गर्छु । लेखकको त्यसै जिउँदोपनलाई हो मैले सम्मान गर्ने । अक्षरहरूमा आड लागेर ऊ मलाई आत्मीय मित्र, असल प्रेमी, सुन्दर शिष्य आदि अनेकौँ रूपमा नियालिरहेको हुन्छ ।
- यतिबेला मैले तपाईंलाई आफूले बिर्सन नसकेका किताबहरूको नाम भन्नुस् भनेँ भने के भन्नुहुन्छ ?
त्यस्ता किताब त कति छन् कति । ठ्याक्क छानेर केहीको नाम लिनु भनेको झुटो बोलेजस्तो हुन्छ । क्षणिक रूपमा मैले अहिले सम्झेको चिजले मात्रै मलाई प्रभाव पारको हुन्न नि, कतिले अचेतनबाटै प्रभाव पारेका हुन्छन् । आफैँलाई पनि तिनको सम्झना आउँदैनन् तर प्रभाव भने लेखनमा देखिन्छ । पठनको सुरुवाती कालमा पढ्दादेखि अहिलेको कुरा गर्ने हो भने चाहिँ भवानी भिक्षुको ‘टाइपिस्ट’ कथा ठ्याक्कै सम्झन्छु ।
कुनै पनि रचनामा कलात्मकता के हो, लेखनको शिल्प के हो भन्ने पहिलोचोटि महसुस गराएको कथा त्यही हो । त्यसमै आधारित रहेर ‘सावित्री’ भन्ने सर्ट मूभि पनि बनेको छ । त्यो कथा निकै जीवन्त छ । मैले ८/९ कक्षामा पढ्दाखेरि पढेको थिएँ । तर अहिले पनि मलाई त्यो त्यत्तिकै प्रिय र प्रेरणादायी लाग्छ ।
- अहिले तपाईंले कविता र समालोचनाका क्षेत्रमा आफ्नो छुट्टै नाम बनाउनुभएको छ । तपाईंलाई अहिलेको ‘नेत्र एटम’ बनाउन ‘टाइपिस्ट’ कथाले कत्तिको भूमिका खेल्यो त ?
मेरो कला चेतनाको ढोकाचाहिँ त्यही कथाले ढकढकाएको हो । त्यो कथा पढेपछि म बिस्तारै साहित्यतिर लहसिएँ । मभित्र एक खालको पढ्ने उत्सुकता उत्पन्न भयो । सिर्जनात्मक रूपले चार्ज भएँ भनूँ न, अनि बिस्तारै ‘एटम’ लेख्न थालेँ । यो ०४१ सालतिरको कुरा हो । साहित्यिक रचनाशीलताको बिउ त्यसैबेला रोपिएको थियो होला । ०४२–०४३ सालतिर ‘सहर’ शीर्षकको कविता लेखेँ । अन्तर्मुखी थिएँ, मेरो अभिव्यक्तिले डायरीका पानाहरू भरिन थाले । निरन्तरको प्रयासले त्यसपछि साथीहरूका रचनामाथि समेत आलोचनात्मक टिप्पणी गर्ने स्तरमा पुगेको हुँ ।
- तपाईं प्रभावित कथाबाट हुनुभयो तर कथा कहिल्यै लेख्नुभएन, किन ?
हो, मैले केही प्रयास गरे पनि खासमा कथा भने कहिल्यै लेखिनँ । एकचोटि विज्ञान उपन्यास लेख्छु भनेर लागेको पनि थिएँ । त्यो पूरा भएन । मलाई अझै पनि एउटा उपन्यास लेख्न मन छ तर अहिले बजारमा आइरहेका धेरै उपन्यासहरूको आकार देख्छु, पढ्न दिक्क लाग्छ । मानौँ बजारमा मूल्य उठाउन बृहत् आकार दिए जस्तो । मैले लेखेँ भने छोटो ‘द ओल्ड म्यान एन्ड द सी’, ‘शिरीषको फूल’, ‘उलार’ जस्तो सानो लेख्छु भन्ने सोच जीवित छ । मैले सकुँला नसकुँला तर लेखेँ भने त्यो दार्शनिक उपन्यास हुनेछ ।
‘द ओल्ड म्यान एन्ड द सी’ पढ्दा जस्तो खालको सन्तुष्टि पाउँछु त्यो सन्तुष्टि दिने नेपाली उपन्यास पढ्न पाउनु अहिले दुर्लभ छ । अलिक हलुका, सतही संवेदनाले भरिएका । खासमा भन्ने हो भने चित्तै बुझ्दैन । सान्टियागोको जीवनकथा जस्तै उपन्यासमा मेरो पनि एउटा आदर्श परिकल्पना छ । हेर्नुस् त, त्यसमा मान्छेको भोक, प्यासलाई, चाहना अनि बाँच्नुको संघर्षलाई कति सूक्ष्म तरिकाले केलाइएको छ ।
- तपाईंले अनेक विधामा कलम चलाइरहनु भएको छ तर पढ्नका लागि तपाईंलाई बाँधेर राख्ने विधाचाहिँ कुन हो ?
कविता नै हो । कवितामा सुन्दर बिम्बहरू सिर्जना गरिएको रहेछ भने मलाई त्यो कविताप्रति सिर्जनात्मक ईर्ष्या पनि लाग्छ । सोच्छु— त्यसरी बिम्ब बनाउन मैले किन सकिनँ ? गहन रूपमा आत्मसात् गरिएको कविताले मलाई एकान्तमा पनि झकझकाइरहन्छ । सुन्दर कविता पढ्न पाउँदा त्यसले आनन्द दिन्छ अनि म मेरा विद्यार्थीहरूसँग त्यस्ता अपूर्व अनुभवहरू साझा गर्छु ।
कवितामा जुन किसिमको बिम्ब प्रयोग गरिन्छ त्यसले संसारलाई, वस्तुलाई, परिघटनालाई हेर्ने दृष्टिकोण नै बदलिदिन्छ । कवितामा धेरै सम्भावनाहरू हुँदा रैछन्, पृथक् र वैकल्पिक । हामीले यथार्थमा जे अनुभूत गरिरहेका छौँ, जे भोगिरहेका छौँ, जे हाम्रो ज्ञान छ, त्यसबाट मुक्त गरेर कल्पनाका नयाँ–नयाँ आयामहरू त्यसले देखाइदिँदो रहेछ । मलाई लाग्छ, कवितामा बाँच्नु सक्नु त उदार र सौन्दर्यपूर्ण जीवनको एउटा पराकाष्ठा हो ।
- तपाईं आफैं समालोचक अनि कवि पनि । यस आधारमा अहिले नेपाली कविता विधाको अवस्था कस्तो देख्नु हुन्छ ?
कविता साधना हो, ध्यान हो, आवेगहरूको संयोजित अवतरण हो । हो, सुन्दर कविताहरू कम छन् तर तिनको सिर्जना लगातार भइरहेको छ । सुन्दर कविताहरू टनका टन गेगरमा केही सुनका कणहरू जस्ता पाइन्छन् र त तिनको मूल्य हुन्छ । तर त्यति मात्रै भेटिँदा पनि मलाई आनन्द लाग्छ । आफ्नो अध्ययन सार्थक भयो भन्ने हुन्छ । ३०–४० वटा कवितासंग्रह पढ्दाखेरि, दुई–तीन ओटा कविता मात्रै गज्जब भन्ने खालका हुन्छन् ।
- यस्तो किन ?
किनभने धेरै कविहरूले प्रचलनमा रहेको ट्रेन्डमै कविता लेख्छन् । मलाई यस्तो पुनरावृत्ति कलाहीन प्रदर्शन जस्तो लाग्छ । परम्परामा नयाँ खालका बिम्ब सिर्जना गर्ने, ताजा भाव र एकदम छुने खालको सङ्गीत समेटेर सिर्जना गर्ने निकै कम छन् । विषय र विम्ब दुवै बासी हुनु त कविताको हत्या गर्नु जस्तै हो तर त्यस्तैको यहाँ बोलवाला छ । पारिजातले मानुषी कवितामा जुन खालको बिम्बहरू प्रयोग गरेर नारीवादी चेत त्यहाँ प्रकट गरिन्, अहिलेसम्मका धेरै नारीवादी कविहरूले त्यही खालको बिम्ब, त्यही लिगेसीलाई पछ्याइरहेका छन् ।
रिमाल, भूपी वा वैरागी काइँलाको अनुकरणमा पनि कविता उत्पादन भइरहेका छन् । त्यस्ता कारखानामाथि प्रश्न गर्ने पारखी पाठक कति होलान् यहाँ ? कविहरूले समाजलाई, जीवनलाई नयाँ तरिकाले हेर्न र गहन चिन्तन दिन सक्नुपर्ने हो । कविता त सौन्दर्यलाई नयाँ संरचना दिने कुरा हो नि । तर अहिले अनुकरण गरेर लेख्ने चलन ज्यादा छ । कविले आफ्नै कविताको शैली अनुकरण गर्दा त ऊ मर्यो भनेर भनिन्छ । अर्को व्यक्तिको कविता अनुकरण गर्नेको हालत त झन् के होला ?
राजनीतिमा जस्तो एउटालाई नेता मानेर अरू त्यसैका कार्यकर्ता भएको जस्तो सहज वृत्ति कविको सृजनशीलता होइन । कवि कसैको फ्यान हुन सक्छ, कविताका सुन्दरताको प्रशंसा गर्न सक्छ तर त्यसलाई अनुकरण गर्ने कवि हुँदैन । अहिले त हामीकहाँ कविताको स्थापित ‘प्याटर्न’ मज्जाले भंग हुन सकेकै छैन । यो नै अहिलेका कविहरूको प्रमुख चुनौती हो । जसले यो चुनौती स्वीकार गर्छ र भंग गर्न सक्छ, त्यो स्थापित हुन्छ, त्यसको भविष्य हुन्छ ।
अरूचाहिँ सङ्ख्या बढाउन काम लाग्छन् । तिनको रचनाहरूले आधारलाई भर्ने काम गर्छन् । हिमाल बन्नका लागि पनि त तल माटोको थुप्रो त चाहिन्छ नि । चुली बन्ने र चम्कने त औँलामा गन्न सकिने केही न हुने हुन् ।
- अब प्रश्न समालोचनातिर मोडेँ है, हाम्रो साहित्यमा समालोचना कम, प्रशंसा बढी जस्तो देखिन्छ नि किन ?
मूल रूपमा समालोचना भनेको कृतिमा आफूले आस्वादन गरेको सौन्दर्यको प्रभाव अर्को मान्छेलाई चित्त बुझ्ने तरिकाले व्याख्या गर्ने कला हो । समालोचनामा रहेको आलोचनाको अर्थ पनि राम्रोसँग हेर्ने नै भनेको हो अर्थात् सिर्जनालाई परख गर्ने । क्रिटिसाइज गर्ने भनेको होइन, रचनालाई क्रिटिकल्ली हेर्ने भनेको हो । सविकल्प र नयाँ दृष्टिका साथ हेर्ने भनेको हो । हाम्रोमा आलोचना गर्ने भन्नासाथ अर्कालाई खोट देखाएर गाली गर्ने अथवा यो–यो नराम्रो हो भनेर देखाउने हो भन्ने बुझाइ छ ।

हाम्रो ऐतिहासिक सन्दर्भमा कन्टेक्स्चुअलाइज गरेर त्यसको सौन्दर्य कुन तरिकाले फिट छ अथवा यसले यस्तो खालको प्रभाव पार्छ भनेर देखाउनु नै समालोचना हो । अब तपाईंले भनेको प्रश्नमा आऊँ । अहिले समालोचनाको अर्थ परिवर्तन भएको छ । शब्दका त अर्थ परिवर्तन हुन्छन् नि । किन यस्ता भयो त ? समालोचना गहन विमर्श हो तर यो अहिले सामाजिक सञ्जालमा पोस्ट गरिने वस्तु बनेको छ । यो माध्यमले समालोचनाको गहनता धान्न सक्दैन ।
समालोचना अहिले विमोचन कार्यक्रममा व्यक्त गरिने प्रशंसा भएको छ । त्यहाँ त लेखक साथमै हुन्छ । त्यो लेखक तपाईंको साथी, सँगसँगै लेख्ने प्रतिस्पर्धी अनि एउटा बलियो ‘ग्याङ’ बनाएर बसेको नायक पनि हुन सक्छ । अनि कसरी सम्भव हुन्छ, त्यस्तो परिवेशमा समालोचना ? फेरि हामी मान्छेको एउटा अवगुण छ, आफ्नो कमजोरी अर्काले नदेखाइदियोस् भन्ठान्ने । अझ अरूको छेउमा त झन् भन्दै भनिदियोस् । सार्वजनिक रूपमा त्यसो गर्दा त्यसले उल्टो असर पार्छ । मैले अहिलेसम्म कमजोरी देखाउँदा स्वीकार गर्ने एक–दुई जना मान्छे मात्रै भेटेको छु ।
- कमजोरी देखाउँदाखेरि अप्ठ्यारो परेको अवस्था कत्तिको भोग्नुभएको छ ?
पाठकले आलोचना खोज्छन्, लेखकले प्रशंसा । पहिले पहिले कार्यक्रममा जाँदा म कृति जस्तो छ त्यस्तै भन्दिन्थेँ । तर त्यसो गर्दा कति शत्रु बने, कति ठसक्क परे । कति विद्वेषी व्यवहार गर्ने भइसक्या छन् । ‘फलानाले के लेख्या छ र, मेरोमा यस्तो भन्यो’ भन्ने खालका पनि छन् । अब त मलाई त्यस्ता कार्यक्रममा बोल्न मन लाग्नै छोडिसक्यो ।
फेरि हामीकहाँ गुटवाद पनि त मौलाएको छ । गुट पनि नभनौँ ग्याङ भनौँ । ग्याङ किन भनेको भने त्यस समूहमा भएको कुनै एक जनाको आलोचना गरिदियो भने बाँकी सदस्यले सामाजिक सञ्जालमा अभियान नै चलाएर आक्रमण गर्छन् । त्यस्तो गरेका छन् र गराएका पनि छन् । त्यसले गर्दा बडो खतरनाक छ परिवेश । छन्द र गद्यको युद्ध नै चल्छ । आलोचनात्मक रूपले विकल्प सोच्न मान्छे तयार छैनन् । कसैप्रति दासता छ कसैप्रति आक्रामकता ।
‘मैले जे लेखेको छु त्यो नै सबभन्दा राम्रो हो, त्यो नै अन्तिम सत्य हो’ भन्ने खालको प्रवृत्ति अधिकांश लेखकमा छ । साहित्यमा पनि राजनीतिको जस्तै सतहीपन व्याप्त भएको छ । आवेग नै हाबी छ, विवेक न्यून । यस्तो खालको असहिष्णु समाजमा समालोचना कसरी फस्टाउँछ ? समालोचकले कुन रिस्क लिएर लेख्ने ? किन लेख्ने ?
- त्यसो भए के सामाजिक सञ्जालको युगले समालोचनाको स्तरलाई झनै सतही बनाई दिएको छ ?
सामाजिक सञ्जालले समालोचनालाई खासै धेरै प्रभाव त पार्दैन किनभने यो मूल रूपमा एकेडेमिक काम हो । त्यसैले अखबारी पत्रपत्रिका, सामाजिक सञ्जालसँग यसको खास सम्बन्ध हुँदैन । तर यसले समीक्षालाई भने प्रभावित पार्छ । आलोचनात्मकता झिनो हुने हुँदा समीक्षालाई सतही बनाउँदै लैजान्छ । पलपुर कल्चरको एउटा विशेषता नै यही हो कि मासले जे खोज्छ, जे बजारमा बिक्छ, लेखकले त्यही दिन थाल्छ ।
समीक्षकले पनि पाठकको अभिरुचिअनुसार लेख्न थाल्छ । पाठकको रुचिअनुसार दिने भएपछि यसमा समेटिने कुनै तत्त्वले मान्छेमा गलत बुझाइ हुने वा वास्तविकता लुक्ने खतराबारे विचारै गरिँदैन । यसले गर्दा स्तर, उत्प्रेरणा, चिन्तन आदि छायामा पर्छन् र साहित्य केवल बिकाऊ बन्छ, लाइक र कमेन्टमा त्यो भर पर्न थाल्छ ।
- चर्चित लेखकका कृतिमाथि समालोचना गर्न कत्तिको गाह्रो वा सजिलो हुने गरेको अनुभव छ ?
अहिलेका अधिकांश कृति चर्चित होइनन्, मिडियाबाट चर्चित बनाइएका हुन् । पलपुर कल्चरका बाइप्रडक्ट हुन् ती । यसका लागि मिडिया, सामाजिक सञ्जालको विज्ञापनले ठुलो भूमिका खेलेको छ । मिडियाले पहुँचवालाका बारेमा मात्र छाप्छ । उसको किताब आउन लाग्यो भनेर फिचर बनाउँछ । किताब आउनुभन्दा अगाडि नै उसको अन्तर्वार्ता लिन्छ । उसको किताबका केही अंशहरू छापेर विज्ञापन गर्छ । पाठकमा ‘योबाहेक अर्को लेखक नै छैन’ भन्ने छाप पर्न जान्छ ।
यिनीहरू निश्चित म्यादका साथमा आएका हुन्छन् । कोही अलि बढी टिक्छन् कोही कम । बजारलाई एउटाको चर्चाले मात्र पुग्दैन नि । केही समयपछि बजारले अर्कै चर्चित अनुहार खोज्छ, विचारसित उसलाई खास मतलब हुँदैन । पलपुर कल्चरमा सधैँभरि एउटै मान्छे मात्र चर्चित भइरहन सक्दैन । त्यसैले पुनः पुनः चर्चित भइरहनका लागि उसले अनेक चटक गरिरहनु पर्छ ।
यस्ता झुटा स्टन्टले सधैँ काम पनि गर्दैनन् । स्टन्ट गर्न सकेन भने बजारले त्यस लेखकलाई निर्ममतापूर्वक त्यागेर अर्कालाई अङ्गाल्न थाल्छ । यो पुँजीवादमा राजनीति जस्तै हो साहित्य पनि । फुक्काफाल र उदार हुनुपर्ने लेखक बजारका दास बन्छन् अनि सङ्कीर्णतामा बाँच्छन् । टिक्न नसक्ने सकिन्छ । वास्तविक रूपले क्षमतावान् लेखकहरू, क्लासिकल लेखकहरूको बारेमा कलम चलाउँदाचाहिँ समालोचक जिम्मेवार हुनुपर्छ । गहन समालोचना गर्नुपर्छ । पाठकको दिमागमा यिनीहरूको एक खालको छवि बसिसकेको हुन्छ ।
बिर्सिसकेका यस्ता लेखकलाई पनि आलोचनात्मक रूपले हेर्न सक्यो भने ऊ फेरि जिउँदो बनेर प्रकट हुन्छ । समालोचनाले लेखक र लेखनलाई पुनर्जीवित बनाउँछ । विमर्शले योगदानको सान्दर्भिक पुनर्मुल्याङ्कन पनि हुन्छ । कति इतिहासको चिहानमा पुरिएका प्रतिभा सग्ला भएर युगलाई नै प्रभावित पार्न थाल्छन्, कति जाइन्ट फिगरहरु पनि धूलीसात् हुन्छन् । अहिलेको कन्टेक्सटमा योगमाया र भानुभक्तलाई नै हेर्नुस् न ।
- समालोचना आफैँमा साहित्य हो कि सहायक विधा हो ?
समालोचना दोस्रो साहित्य हो । तर अहिले पहिलो साहित्य र दोस्रो साहित्यबिच भिन्नता देखाउने रेखा मेटिँदै गइरहेको छ । कतिपय समालोचना पनि सिर्जना भइदिएका छन् । ‘परालको आगो’ कथालाई पढेर इन्द्रबहादुर राईले जुन सिर्जनात्मक समालोचना लेखे, त्यो ‘कठपुतलीको मन’ बन्यो । त्यसलाई चाहिँ हामीले अहिले फेरि कथा भनेर पढिरहेका छौँ । समालोचनामा सिर्जनात्मकताको सम्भावना ज्यादा छ । यो कुरा ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ का कतिपय निबन्धदेखि नै पढ्न पाइन्छ ।
- साहित्यमा गुटबन्दी छ भन्नुभयो । यस्ता गुटबन्दी, पुरस्कार र पहिचान आदिले समालोचनालाई कत्तिको प्रभावित पारिराखेकोे देख्नु हुन्छ ?
कसले के भन्ला वा के सोच्ला भनेर मानिसहरू अहिले एकदम सम्पादित तरिकाले बोल्न थालेका छन् । बुलिङ गरिएला कि भनेर आफ्नो आवाज दिन डराइरहेका हुन्छन् । बोलेकै कारण समस्या भोग्नु पर्ने स्थिति पनि छ । साहित्यमा विचार मिल्ने समूह हुनु राम्रो कुरा हो । साहित्यलाई उन्नतिशील बनाउन विमर्शका समूहहरू बन्नु पनि पर्छ । यसले कतिपय साइलेन्ट लेखकलाई पनि ग्रुमिङ गर्छ । तर गुटबन्दी चाहिँ राम्रो होइन किनभने त्यसले शत्रुतापूर्ण प्रतिस्पर्धा सिर्जना गर्छ र विवेकहीनतालाई प्रश्रय दिन्छ । यसले प्रतिभालाई अन्याय गर्छ । अन्याय त सबैको विकासका निम्ति अवरोध हो नी ।

पुरस्कार भनेको ‘राम्रो काम गरिस् भनेर बक्सिस दिएको हो’ । त्यसमा त्यस्तो खराबी के छ र ? तर जब लेखकले पुरस्कार दातालाई हेरेर लेख्न थाल्छ, दाताको चाप्लुसीमा लागेर हिँड्न थाल्यो भने चाहिँ उसको लेखन पनि कमजोर हुन्छ, चिन्तन पनि स्खलित हुन्छ, लक्ष्य डाइभर्ट हुन्छ । जानुपर्ने एकतिर हुन्छ, ऊ अन्तै पुगिदिन्छ । अगुवा बन्नुपर्ने लेखकहरू नै झुटको पछि लाग्न थालेपछि समाज कतातिर जाला ? आफै कल्पना गर्नुस ।
- समालोचना कमजोर भयो भने साहित्यको भविष्यको चित्र कस्तो देखिन्छ त ?
समालोचना कमजोर भयो भने साहित्यको सही मूल्याङ्कन हुँदैन । मूल्याङ्कन नहुनु भनेको गलत तत्त्वहरूले प्रश्रय पाउनु हो । उहिले ग्रिसमा एरिस्टोफेनिस भन्ने एकजना नाटककार थिए, उनले ‘द फ्रग’ भन्ने एउटा नाटक लेखेका छन् । त्यति बेला एकदमै देखावटी प्रदर्शनमा रमाउने साहित्यकारहरूको बोलवाला रहेछ । जहाँ गए नि उनै साहित्यकारहरूको डाँको ठुलो हुने, अहिलेका हाम्रा साहित्यिक मेलाहरूमा जस्तै ।
त्यो देखेर नाटककारलाई साह्रै दिक्क लागेछ । झुटो लोकप्रियताको ढोँग गर्नेहरूको भन्डाफोर गर्न उनले मरिसकेको एउटा नाटककारलाई जीवित बनाएको प्रसङ्ग त्यसमा छ । अहिले पनि त्यस्ता झुटा साहित्यकारबाट साहित्यलाई जोगाउनुपर्ने स्थिति छ । यो काम सही समालोचनाबाट हुन सक्छ नत्र लाइक र कमेटन्टबाट हराएर कलात्मक साहित्य विलुप्त हुँदै जान्छ ।
- आफूलाई प्रभावशाली लागेको समालोचकको नाम लिनुपर्यो भने कसको नाम लिनुहुन्छ ?
म त टी.एस. एलियटको नाम लिन्छु । इलियटको ‘ट्रेडिसन एन्ड द इन्डिभिजुअल ट्यालेन्ट’ उत्कृष्ट दार्शनिक समालोचना हो । उनले यो लेख सही ढङ्गले प्रस्तुत गरेझैँ लाग्छ । यहाँ उनले समालोचकलाई दुई श्रेणीमा राखेका छन् । एक खालको समालोचक शास्त्रले निर्धारण गरेअनुसार लेख्छन् । यस्ता समालोचकलाई उनले दोस्रो दर्जाको भनेका छन् । पहिलो श्रेणीको समालोचकले भने उपयुक्त ठाउँमा शास्त्रको प्रयोग पनि गर्छ र आफ्नो विवेक प्रयोग गरिकन नयाँ शास्त्र जन्माउँदै पनि जान्छ । साहित्यको सिर्जनामा पनि यही नियम लागु हुने हो ।
- नेपालीमा कसैको नाम लिनुपर्यो भने कसको लिनुहुन्छ ?
दुई जनाको नाम लिन्छु, दयाराम श्रेष्ठ र ऋषिराज बराल । दयाराम श्रेष्ठको लेखनमा सान्दर्भिक आलोचनात्मक चिन्तन हुने हो भने त्यो मेरो आदर्श बन्थ्यो अनि ऋषिराज बरालको लेखनमा एकपक्षीय विचारका ठाउँमा वैकल्पिक चिन्तनले पनि स्थान पाउँथ्यो भने त्यो मेरा लागि सुन्दर हुन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण