शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारा–४ मा पूर्वआईजीपी सर्वेन्द्र खनालले  थाले चुनावी अभियान

शनिबार, ०३ माघ २०८२, १६ : ४५
शनिबार, ०३ माघ २०८२

सारांश

  • पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बारा-४ मा चुनावी माहोल बनाउन सक्रिय छन् र उम्मेदवारीको तयारीमा छन्।
  • खनालले सिमरालाई बसोबासको केन्द्रविन्दु बनाएर स्थानीय जेनजीहरुसँग भेटघाट र छलफल गरिरहेका छन् ।
  • यसअघि काठमाडौं र तनहुँमा पराजित भएका खनालले यसपटक बारा-४ बाट चुनाव लड्ने तयारी गरेका छन्।

बारा । कुनै बेला प्रहरी संगठनमा अब्बल प्रशासकको रूपमा ख्याति कमाएका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यतिबेला बारा–४ मा चुनावी माहौल बनाउन सक्रिय छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा–४ बाट आफ्नो उम्मेदवारी निश्चित भएको उनको दाबी छ । 

निर्वाचनलाई लक्षित गरेर खनालले घर भाडा नै लिएर सिमरालाई बसोबासको केन्द्रबिन्दु बनाएका छन् ।  

खनाल पछिल्लो ३ सातादेखि आफ्नो पक्षमा माहौल बनाउन क्षेत्र नं ४ का गाउँ, टोल, टोलमा पुगेर जेनजीहरुसँग भेटघाट र छलफल गर्दै आएका छन् । 

जीतपुरसिमरा वडा नं २२ अम्लेखगञ्जका रमेश लामाले  खनालले जेनजीहरु भेटघाट र छलफल गरेको बताए । भेटघाटमा खनालले आफ्नो पार्टीले जेनजीहरुको प्रतिनिधित्व र मागलाई सम्बोधन गर्ने बताएको उनको भनाइ छ । 

यसअघि एमालेमा सक्रिय खनाल काठमाडौं–६ र तनहुँ–१ मा उठेर पराजित भएका थिए । २०७९ को निर्वाचनमा बारा ४ बाट उम्मेदवारी दिने तयारी गरेका खनालले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए  ।

पछिल्लो समय उनले आफ्नै अध्यक्षतामा ‘समुन्नत नेपाल पार्टी’ गठन गरेका छन् ।

गृह जिल्ला तनहुँ छोडेर बारा–४ आउनुको कारणबारे रातोपाटीसँगको कुराकानीमा खनालले प्रहरी संगठनमा हुँदा बाराका जनताको धेरै सेवा गरेकोले यहाँका जनताले आफूलाई माया गर्ने दाबी गरे  । 

‘प्रहरी संगठनमा लामो समय मैले यहाँका जनताको सेवा गरेर छु, मैले गरेको कामको सबैले मुल्याकंन र सम्मान गर्नुहुन्छ भन्ने मेरो अपेक्षा हो’ खनालले भने ‘उहाँहरूको अमूल्य मत खेर नजाओस् भन्ने मेरो भनाइ हो’

जेनजीहरु भावना आम नागरिकको भावना भएकोले युवाहरुसँगको भेटघाटलाई प्राथमिकता दिएको खनालको भनाइ छ ।

बारा ४ मा १ उप महानगरसहित सहित ४ वटा पालिका पर्दछ ।  यहाँ १ लाख ७ हजार मतदाता छन् । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा ४ बाट गठबन्धन उम्मेदवार किसान श्रेष्ठको ३० हजार ३४१ र उनका निकटतम प्रतिस्पर्धी एमालेका एकवाल मियाँले २० हजार ३३६ ल्याएका थिए । 

अगामी फागुन २१ गते हुने निर्वाचनका लागि यहाँबाट अन्य दलबाट पनि दाबेदारको सङ्ख्या ठुलो भए पनि हालसम्म उम्मेदवारको अन्तिम टुङ्गो भने लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप