वामपन्थीहरूको ग्राम्स्की अध्ययन कसरी त्रुटिपूर्ण भयो ?
सारांश
- लेखले ग्राम्स्कीको 'इन्टरेग्नम' को अवधारणा प्रस्तुत गर्दछ, जहाँ पुरानो व्यवस्था विघटन हुँदैछ तर नयाँ जन्मिएको छैन, जसले 'राक्षसहरूको समय' निम्त्याउँछ।
- लेखमा पुँजीवादको संकटको प्रतिक्रिया र फाँसीवादको उदय, साथै दक्षिणपन्थको उदय र ट्रम्पको लोकप्रियताको विश्लेषण गरिएको छ।
- बर्नी स्यान्डर्सको तस्बिरलाई वर्तमान राजनीतिक विभाजनको प्रतीकको रूपमा लिँदै, लेखले वर्चस्वका लागि सङ्घर्ष र रोगी लक्षणहरूको विश्लेषण गर्दछ।
लेखको सुरुवातमै म एउटा दाबी वा भनौँ आत्मस्वीकृति गर्दै छु । एन्टोनियो ग्राम्स्कीको पुस्तक ‘प्रिजोन नोटबुक्स’ मा रहेको एउटा टिप्पणीलाई वैश्विक रूपमा फैलाउने काममा मेरो पनि भूमिका छ । ग्राम्स्कीको टिप्पणीमा भनिएको छ ‘पुरानो मर्दै छ तथा नयाँ जन्मन सकेको छैन । आजको संकट ठ्याक्कै यही तथ्यमा छ । यही अन्तराल वा सन्धिकाल (इन्टरेग्नम) मा अनेक प्रकारका रोगी लक्षणहरू देखा पर्दैछन् ।’
मैले त्यसलाई घटाएर थप संक्षिप्त एवं प्रस्ट बनाउने दुष्प्रयास गरेको थिए, ‘पुरानो दुनियाँ मर्दै छ तर नयाँले जन्म लिन सकेको छैन । यो समय राक्षसहरूको हो ।’ आज तपाईँले ‘ब्लु लेबर’ पार्टीको चिन्तक, कुनै अल्छी पत्रकार वा रोबर्ट जेनरिक जस्ता मान्छेलाई सोध्नुभयो भने यसबारे उनीहरू सबैको साझा सहमति पाउनुहुन्छ ।
उनीहरू अहिलेको समयलाई ग्राम्स्कीको सन्धिकाल (इन्टरेग्नम) मान्छन् । गत वर्षको नोभेम्बर १६ मा ‘राक्षसहरूको समय’ भन्ने ग्राम्स्कीको वाक्यांश ‘डेली मेल’ नामको अखबारको मुख पृष्ठको शीर्षककै रूपमा छापियो । जसमा डोनाल्ड ट्रम्प तथा यो वर्षको बीबीसीले तयार गर्ने ‘रेथ प्रवचन’ बारे कथा लेखिएको थियो ।
अब लागौँ सन्धिकाल तिर । यसको चरित्र कस्तो छ त ? सामाजिक परिवर्तनको क्षेत्रमा पुँजीवाद विघटित हुँदै छ तर नयाँ समाजवादी व्यवस्था जन्मने छाँटकाँट छैन । हामी रोगी लक्षणहरू भोगिरहेका छौँ । जस्तो प्रविधि सामन्तवाद (टेक्नो–फ्युडलिजम) ले सिर्जना गरेका सामाजिक वरियता वा तहहरू देख्दै छौँ ।
यौनिक अर्थतन्त्रमा पुरानो पितृसत्ता विघटित हुँदै छ । तर नयाँ स्वतन्त्र यौनिकता जन्मन सकेको छैन । हामी रोगी लक्षणहरू नै भोगिरहेका छौँ । तर वर्तमान समय विशुद्ध रूपमा संक्रमणकाल हो वा होइन भन्ने प्रस्ट छैन ।
यस्तो मान्यतामा केही भ्रमहरू विद्यमान छन् । सबै भन्दा खराब भ्रम चाहिँ हाम्रो आफ्नै मान्यतामा छ । पुरानो र नयाँको बिचमा सोझो र सहज सङ्क्रमण हुन्छ भन्ने मान्यतामा छ । हाम्रा केही विशेष सीमाका कारण हामी त्यस्तो भ्रम देख्न सकिरहेका छैनौँ । उदाहरणका लागि मानिसहरू पहिलो मार्क्सवादी क्रान्ति गलत ठाउँमा भएका कारण स्टालिनवादको उदयको भय मान्छन् ।
त्यस्तो क्रान्ति विकसित पश्चिमा मुलुकमा नभएर ‘पिछडिएको’ रुसमा सम्पन्न भएकाले स्टालिनवाद उदाएको तर्क गर्छन । यसबाट पनि मैले फैलाएको ग्राम्स्कीको वाक्यांश किन लोकप्रिय भयो भन्ने प्रस्ट हुन्छ । यसले हामीलाई इतिहासको आधारभुत प्रगतिवादी धारणा जोगाउन सजिलो बनाउँछ । जस्तै: पुँजीवादबाट समाजवादतर्फको यात्रामा धारणाहरूको रक्षा गर्न सघाउँछ यसले ।
साथै स्टालिनवादी दानवीयतालाई ऐतिहासिक परिस्थितिका कारण देखापर्ने आकस्मिक विचलनका रूपमा सामान्य देखाएर खारेज गर्न सजिलो पार्छ । इतिहासबारे आधारभूत मार्क्सवादी दृष्टिमै रहेको स्टालिन जस्ता व्यक्तिको उदयको सम्भावनालाई नकार्न सघाउँछ । पोलिस–जर्मन क्रान्तिकारी रोजा लक्जम्बर्गले भविष्य समाजवाद वा बर्बरतामध्ये एउटाको हुने भनेकी थिइन ।
तर इतिहासमा हामीले अलि फरक पनि भेट्यौँ । स्टालिनवादले हामीलाई समाजवाद र बर्बरतासँगै हुन सक्ने पनि सिकायो ।
विश्वभर फाँसीवादको उदयलाई वैश्विक पुँजीवादमा देखिएको संकटको प्रतिक्रियाका रूपमा लिँदै अमेरिकी दार्शनिक टोड म्याक्गोवानले एक पटक मलाई अर्को वाक्यांश सुझाएका थिए । उनका अनुसार अब हामीले चर्चा गर्नुपर्ने वाक्यांश वाल्टर बेन्जामिनले लेखेको ‘प्रत्येक फाँसीवादका पछाडि एउटा असफल क्रान्ति हुन्छ’ भन्ने हो । तर, प्रत्येक फाँसीवादको कारण त्यस पछाडिको असफल क्रान्ति भने होइन ।
बरु फाँसीवाद आफैमा पुँजीवादले जन्माउने स्वाभाविक प्रतिक्रिया चाहिँ हो ।

पुँजीवादले संकटको प्रतिक्रिया कुनै न कुनै स्वरूपको फाँसीवादबाटै गर्छ । त्यस्तो फाँसीवादी खतरासँग जुध्नका लागि मुक्तिकामी प्रतिरोध चल्छ । छोटकरीमा भन्दा, फाँसीवादको खतरा बेगर मुक्ति हुँदैन । यसैलाई हामीले उल्ट्याएर हेर्यौँ भने के हुन्छ ? हामीले आशा गरेको नयाँ दुनियाँको हाम्रो तस्बिर नै आजको वास्तविक ‘रोगी लक्षण’ हो । वास्तविक समाधान पनि हामीले पर्खेको नयाँ दुनियाँमा छैन । तत्काल गर्नुपर्ने सुधार तथा पहलहरूमा छ ।
सन् १९१७ को रुसी क्रान्तिको गहन समस्या बोल्शेभिकहरुलाई प्रेरित गरिरहेको कम्युनिस्ट युटोपियामा थियो । वास्तविक अर्थमा नयाँ सम्भावनाहरु पछि देखा परेका पनि थिए । स्टालिनवादको प्रतिरोधमा ट्रट्स्कीवाद जस्ता आन्दोलनहरू देखिएका थिए ।
त्यसैगरी आजको अमेरिकामा पनि नयाँ र सार्थक राजनीतिक विचारहरू विद्यमान प्रणालीलाई पुरै ध्वस्त पार्ने बाटोबाट आएका छैनन् । बरु ‘डेमोक्र्याटिक पार्टी’ को प्रगतिशील तप्काबाट आएका छन् । त्यहाँ बर्नी स्यान्डर्स, अलेक्जेन्ड्रिया ओकासियो–कर्टेज तथा जोहरान मम्दानी जस्ता व्यक्तिले अघि सारेका छन् ।
यो पृष्ठभूमिबाट मात्रै हामी अहिलेको दक्षिणपन्थबारे केही बुझ्न सक्छौँ । नयाँ लोकप्रियतावादी दक्षिणपन्थले ग्राम्स्कीलाई आफ्नो महत्त्वपूर्ण विन्दु मानेको ठम्याउन सक्छौँ । ट्रम्प र उसका टोलीहरू वास्तविक रूपमा ‘सांस्कृतिक मार्क्सवादी’ हुन । उनीहरू ग्राम्स्कीले परिकल्पना गरे जस्तै तर आफ्नै स्वरूपको विचारधारात्मक वर्चस्व (आईडियोलोजिकल हेजेमोनी) का लागि सङ्घर्ष गर्दै छन् ।
ग्राम्स्कीका अनुसार, वर्चस्वका लागि सङ्घर्ष भनेको सामाजिक शक्तिहरूको वास्तविक समूह वैचारिक क्षेत्रमा अभिव्यक्त नभएको अवस्था हो । जुन राजनीतिक शक्ति स्वतः विचार र संस्कृतिमा अभिव्यक्त हुँदैन भन्ने मान्यतामा आधारित छ । खर्बपतिहरु तथा अतिधनाड्य व्यक्तिहरू लगायत समाजका अत्यधिक शक्तिशाली समूहहरू विचारधारात्मक रूपमा आम जनता भन्दा बढी शक्तिशाली हुन्छन् भन्ने हो ।
त्यसैले समाजमा विद्यमान परस्पर विरोधी शक्तिहरू राष्ट्रिय इतिहास, धर्म तथा नैतिकता जस्ता साझा लोकप्रिय परम्पराका तत्त्वहरूलाई आफ्नो विचारधारात्मक परियोजनामा समावेश गर्न खोज्छन् । यस क्रममा जसले आफ्नो विचारधारात्मक परियोजनालाई सबैको साझा जस्तो देखाउन सक्छ उसैले जित्छ । जनताको साझा पहिचान निर्माण गर्ने सबैजसो पलहरू समेट्न सक्नेले जित्छ । ट्रम्पको लोकप्रियतावादले आफ्नो परियोजनामा यस्तै अनेक तत्त्वहरू एकीकृत गरेको छ ।
आपसमा अन्तर्विरोधी तत्त्वहरू समेत समावेश गरिएका छन् । ठुला निगम पुँजीको विरुद्ध कामदार वर्गको प्रतिरोध र पुँजीवादको ‘सिर्जनात्मक’ आत्माका अवधारणा एकै ठाउँमा मिसाइएको छ । त्यहाँ विदेशीहरू विरुद्धको घृणा पनि घोलिएको छ ।
ग्राम्स्कीले वर्चस्व (हेजेमोनी) को अवधारणा इटालीमा फाँसीवादको विजयको प्रतिक्रियामा विकास गरेका थिए भन्ने हामीले भुल्नु हुँदैन । त्यसबेला ग्राम्स्की उदाउँदै गरेको स्टालिनवादी वामपन्थ पनि नयाँ रोगकै हिस्सा हो भन्नेमा पूर्ण सचेत थिए । साथै उनको आफ्नै विचार पनि त्यसबेला प्रभुत्वशाली रहेको स्वरूपको साम्यवादी बहस र अभ्यासको विरुद्ध ‘हतारको आविष्कार’ थियो भन्नेमा उनी त्यत्तिकै सचेत थिए ।
वर्चस्वका लागि सङ्घर्ष प्रभावकारी त्यसबेला हुन्छ जब कुनै तस्बिर वा ‘मिम’ सफलतापूर्वक प्रयोग हुन्छ । साथै त्यसले लक्षित विचारधारात्मक एजेन्डामा राम्रोसँग काम गर्छ । सन् २०१९ मा साल्भाडोरबाट अमेरिका आउँदै गरेका आप्रवासी ओस्कार रामिरेज र उनकी २३ महिने छोरीको लास पानिमा डुबिरहेको तस्बिर सार्वजनिक भयो । तस्बिर तुरुन्तै अमेरिकाले सीमा नियन्त्रणमा लागू गर्ने शैलीको क्रूरताको प्रतिक बन्न पुग्यो ।
यो घटनालाई हेगेलले भन्ने गरेको ठोस वैश्विकता (कङ्क्रिट युनिभर्सालिटी) को उदाहरणका रूपमा पनि हेर्न सकिन्छ । अर्थात् एउटै घटनाको तस्बिरले वैश्विक दुःखान्त दर्साउँदै सहानुभूति जगाउने तथा त्यसबारे आवश्यक कदमको माग गर्न सक्ने अवस्था सिर्जना भयो । यस्तो तस्बिरको शक्ति त्यसलाई व्याख्या गरिने सन्दर्भमा पूर्ण रूपमा निर्भर गर्छ ।
त्यही तस्बिरलाई फरक सन्देश दिनका लागि पनि प्रयोग गर्न सकिन्थ्यो । जोखिमपूर्ण सीमा पार गर्ने प्रयास गर्नका लागि आप्रवासीहरूले उठाउने चरम जोखिमहरूको बारेमा चेतावनीका रूपमा पनि लिन सकिन्थ्यो । यो सन्दर्भ सहजै बुझ्न सकिन्छ । निश्चय पनि तस्बिरहरू आफैले निश्चित अर्थ बोक्दैनन् । वैचारिक सङ्घर्ष भित्र तिनीहरूलाई कसरी प्रस्तुत गरिन्छ वा प्रयोग हुन्छ भन्नेबाट तिनीहरूको राजनीतिक प्रभाव आउँछ ।
आप्रवासी तथा शरणार्थीहरूबारे हुने बहसले गहन शिक्षा दिइरहेको छ । आप्रवासीको विरोध गर्ने लोकप्रियतावादीहरूले प्रायः उनीहरूलाई समाज नै जोखिममा पार्ने खतरनाक अपराधीका रूपमा चित्रण गर्न खोज्छन् । त्यसका लागि सबैलाई स्तब्ध पार्ने खालका तस्बिरहरू एवं आधारहीन झुटा कथाहरू फैलाउँछन् । बलात्कार तथा हत्याका झुटा समाचारहरू प्रसार गर्छन् ।
यसले डर मात्रै पैदा गर्दैन मानिसहरूमा शत्रुता पनि सिर्जना गर्छ । उता बहुसंस्कृतिको वकालत गर्ने उदारवादीहरू विपरीत दिशामा रहेर पनि कहिलेकाहीँ यस्तै खाले गल्ती गर्छन् । उनीहरू शरणार्थी र नागरिकहरू बिच रहेका खास सांस्कृतिक भिन्नताहरूको बारेमा कुरा गर्नबाट पन्छिन्छन् । त्यसो गर्दा आफूलाई नस्लवादी वा युरो केन्द्रित देखिएला भनेर तर्सिन्छन् ।
फलस्वरूप गम्भीर समस्याबारेको छलफल नै बेवास्ताको सिकार हुन्छ । बेलायतमा त्यसको चर्चित उदाहरणका रूपमा करिब दस वर्ष अघिको ‘ग्रूमिङ ग्याङ’ काण्डलाई लिन सकिन्छ । दक्षिण एसियाली पुरुषहरूको समूहले कामदार वर्गका गोरा केटीहरूलाई दुर्व्यवहार गर्ने गरेको पाइएको थियो । ‘ईस्लामोफोबिया’ को आरोप लाग्ने डरले वर्षौँसम्म त्यस्ता प्रमाणहरूलाई बेवास्ता गर्ने गरियो ।
त्यसबारेका चर्चाहरूलाई न्यूनीकरण गरियो । प्रमुख सार्वजनिक काण्डका रूपमा उक्त घटनाले भने आज पनि ब्रिटिस राजनीतिलाई असर गरिरहेको छ ।
त्यस्तै २३ वर्षे युक्रेनी शरणार्थी महिला इरिना जारुत्स्काको गत अगस्टमा नर्थ क्यारोलिनाको सार्लोटमा भएको हत्याको घटनालाई पनि हेर्न सकिन्छ । त्यसबेला प्रसारित भिडियोमा इरिना रेलभित्र आफ्नो सिटमा बस्दै गरेको देखिन्छ । उनको छेउमा उनका हत्या आरोपी डेकार्लोस ब्राउन जुनियर देखिन्छन् ।
सुरुमा सबै कुरा सामान्य जस्तै देखिन्छ । छेउको सिटमा बसेका ब्राउन केही रिसाएका जस्तो देखिन्छन् । त्यस्तो हङ्गामा हुने अवस्था नै देखिँदैन । त्यसको चार मिनेटमै एकाएक ब्राउनले जारुत्स्कालाई धेरै पटक छुरा हान्छन् । उनी त्यही ढल्छिन् । ब्राउन बिस्तारै त्यहाँबाट उठेर अगाडी जान्छन् अनि आफ्नो स्वेटर खोलेर रगताम्य हात पुच्छन् । लगत्तै रेलबाट निस्किन्छन् ।
अन्य यात्रुहरू रगत बगेको देखेर एकाएक झस्किन्छन् ।
उनीहरूले जारुत्स्का ढलेको देखेपछि बल्ल उनको अवस्थाबारे थाहा पाउँछन् । त्यो घटनाक्रममा सबैभन्दा चिन्ताजनक कुरा के छ भने, मान्छे मारिए पछि पनि त्यहाँ कुनै हल्लाखल्ला हुँदैन । छेउमा बसेका धेरै जसो काला जातिका यात्रुहरू केही गर्दैनन् । उनीहरू केवल लज्जित भावमा हेरेर मात्रै बस्छन् । अपेक्षा अनुरूप नै त्यस हत्यालाई लिएर दक्षिणपन्थीहरूले व्यापक रूपमा टिप्पणी र निन्दा गरे ।
केही अघि मारिएका चार्ली कर्कदेखि ट्रम्पसम्म भर्त्सनामा उत्रिए । आलोचना गर्ने दक्षिणपन्थीहरु प्रायः जातीय कार्ड खेलिरहेका थिए । उनीहरुले एउटा काला जातिको एवं पहिले नै अर्को मुद्दामा दोषी ठहरिएको अपराधीले गोरी केटीको हत्या गरेको भन्दै होहल्ला गरेका थिए । यस सन्दर्भमा पनि गम्भीर व्याख्या प्रदान गर्नुको सट्टा, उदारवादी वामपन्थीहरूले गर्न सक्ने भनेको सबै घटनालाई कम महत्त्व दिनु थियो ।
उनीहरू यस्ता घटनाको बेवास्ता नै गरे । किनभने यो राजनीतिक रूपमा उनीहरूको हिसाबकिताबको तरिकामा फिट हुने खालको थिएन ।
यहाँनेर वामपन्थीहरूले सिक्नै पर्ने मुख्य पाठ, राजनीति भनेको शक्ति र प्रभावका लागि सङ्घर्ष हो भन्ने नै हो । त्यसमा कसरी जित्ने भनी सिक्नुपर्छ । जो वाइडेनको राष्ट्रपति कार्यकाल उद्घाटन समारोहमा एक जना व्यक्ति अनौठो गरी अलि पर बसेका थिए । उनी थिए बर्नि स्यान्डर्स । त्यहाँ सहभागी सबैले समारोहको औपचारिकता पालना गरिरहेका थिए ।

तर, ओभरकोट लगाएका स्यान्डर्स भने मुखमा मास्क लगाएर चुपचाप बसिरहे । उनलाई त्यहाँ चलिरहेको तमासामा रुचि देखिन्नथ्यो । त्यसबेलाको उनको प्रसिद्ध तस्बिर छिट्टै भाइरल भयो र ‘मीम’ बन्यो । त्यसो गर्दा पनि उनी कुनै अर्थमा पनि बहिष्कृत देखिएका थिएनन् । केवल अरूभन्दा पृथक् देखिन्थे । उनी त्यहाँ हुँदै गरेको गतिविधिमा उत्सुक देखिँदैनथे ।
कुनै समय दार्शनिक हेगेलले नेपोलियनलाई आफ्नो समयको ‘विश्वात्मा’ का रूपमा देखेको उल्लेख गरेका थिए । विश्वात्मालाई घोडामा चढेर दौडेको देखेको भनेका थिए । त्यस्तै गरी स्यान्डर्सको तस्वीरले पनि वाइडेनको कार्यकाल सुरुवातको क्षणको खास भाव देखाइरहेको थियो । वाइडेन र उनका समर्थकहरूले दाबी गरेजस्तै अमेरिका र संसार ‘सामान्य’ अवस्थामा फर्कने होहल्लाबारे व्यापक आशङ्का देखाइरहेको थियो ।
उनको तस्बिरको लोकप्रियताले धेरै मानिस अझै पनि गहन र गम्भीर परिवर्तनको अपेक्षा गरिरहेका छन् भन्ने बुझाएको थियो । मानिस झनै आक्रामक राजनीतिको आशा गर्छन् भन्ने देखाएको थियो । उक्त परिदृश्यले अमेरिकाको डेमोक्र्याटिक पार्टीको राजनीतिमा विभाजनका रेखाहरू स्पष्ट रूपमा कोरिएको देखायो । जसमा एकतिर वाइडेनको अगुवाइमा रहेको उदार संस्थापन थियो भने त्यसको विरुद्ध प्रजातान्त्रिक समाजवादीहरू थिए । सबै भन्दा लोकप्रिय प्रतिनिधि बर्नी स्यान्डर्स नै हुन् ।
यहाँ मैले गर्न खोजेको कुरा केवल राजनीतिक विषयको होइन । आम विश्वास प्रणालीलाई कुनै एउटा व्यक्तिको वरपर केन्द्रित गर्नुपर्ने आवाश्यकताबारे भन्न खोज्दैछु । यसरी मात्रै हामी कुनै पनि रूपको अतिशय व्यक्तिपूजामा पुग्नबाट रोकिन सक्छौँ । मध्यस्थताका जटिल जालहरू देखिने र सक्रिय हुने हुँदा त्यस्तो काम रोकिन्छ । यसरी मात्रै त्यस्तो जटिल जालो बन्छ जसमा हाम्रा आकाङ्क्षाहरू (स्यान्डर्समा मुर्तिकृत भए जस्तै सबै आकाङ्क्षा र आशाहरू) कुनै स्वरूपको वास्तविकतामा रूपान्तरण हुन सक्छन् ।
राजनीतिक संलग्नता धान्ने सकारात्मक शक्ति बन्न सक्छ । हामीले त्यसको वैयक्तिकरण वा मूर्तिकरण हटाइदियौँ भने हामी त्यसको आम वैश्विक आत्मा (जेनेरल स्पिरिट) विशुद्ध रूपमा पाउँदैनौँ । त्यस्तो कुनै व्यवहारिक तत्त्व उपलब्ध नहुँदा हामी परिचालनको शक्तिको अभावमा भद्रगोलमा पर्छौँ । यहाँनिर हामी दुई वटा तस्बिरको चर्चा गर्न सक्छौँ । एउटामा स्यान्डर्स मौनतासाथ किनारामा बसेका छन् । अर्कोमा कान र गालामा रगत बग्दै गरेका ट्रम्प जसलाई ‘सेक्रेट सर्भिस’ का एजेन्टहरूले मञ्चबाट बाहिर निकाल्दैछन् । उनी हक्की शैलीमा मुठ्ठी उठाएर पृष्ठभूमिमा अमेरिकी झन्डा भएको दृश्यमा एउटा विद्रोही जस्तै देखिन्छन् ।
त्यो तस्बिर सार्वजनिक हुनासाथ ‘आइकोनिक’ बनिहाल्यो । तथापि त्यसले कुनामा एक्लै बसेका विनम्र स्यान्डर्सको कम चमकधमक सहितको तस्बिर जत्ति परिचालन शक्ति भने हासिल गर्न सकेन ।
त्यसैले हामीले के मान्नुपर्छ भने हाम्रा आकाङ्क्षा र विश्वासहरू कुनै एउटा व्यक्तिमा केन्द्रीकृत हुनैपर्छ । ट्रम्पले दक्षिणपन्थीहरुका लागि त्यस्तै गरेका हुन् । वामपन्थीहरुका लागि पनि स्यान्डर्स, ओकासियो–कर्टज वा ममदानी जस्ता आकर्षक अगुवा आवाज चाहिन्छ ।
डिसेम्बर २०२४ मा लुइगि म्यांगिओन गिरफ्तार हुँदा पनि यस्तै घटना भएको थियो । उनलाई ‘युनाइटेड हेल्थकेयर’ का प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्सनलाई गोली हानेर मारेको अभियोग लगाइएको थियो । मान्छेहरूले सामान्यतः उक्त गोलीकान्डको भर्त्सना नै गरे । तर त्यसबेला केही अनपेक्षित घटनाहरू पनि भएका थिए । अमेरिकामा धेरै मानिसहरू ‘युनाइटेड हेल्थ केयर’ लाई उसका विभिन्न नीतिहरूका कारण मन पराउँदैनन् ।
त्यसका प्रमुख थम्सनलाई सर्वसाधारणहरूको शोषण गरेर निर्दयतापूर्वक नाफा कमाउने ठुला कम्पनीका साहुहरूको प्रतीकको रूपमा हेर्थे । त्यसै कारण मानिसहरूमा उनको हत्या आरोपी म्यांगिओनप्रति सहानुभूतिको ठुलो लहर फैलियो । लहर अझ शक्तिशाली बन्दै सबै पार्टीहरू भित्र देखा पर्न थाल्यो ।

हामीले माथि चर्चा गरेको स्यान्डर्सको सन्दर्भ जस्तै म्यांगिओन पनि वर्गसंघर्षमा उत्पिडित समुदायको प्रतीक बन्न पुगे । त्यस सन्दर्भले वर्गसंघर्ष कायमै रहेको देखायो । तर राजनीतिक विभाजनका रेखाहरू भित्र दबिएर रहेको देखियो । त्यसले विद्यमान राजनीतिक झिनाझटीहरुमा आफूलाई व्यक्त गर्न नसकेको देखियो । साथै कुनै विस्फोटको मौका पर्खिरहेको देखियो ।
यसरी हेर्दा हामीमाझ एउटा प्रश्न देखा पर्छ । ग्राम्स्कीले भन्ने गरेको वर्चस्वका लागि सङ्घर्ष तथा नयाँ नजन्मेको र पुरानो मरेको समयको बिचमा देखा पर्ने रोगी लक्षणहरू आपसमा कसरी जोडिन्छन् त ? हामी हाम्रो सुरुवाती चर्चामै फर्कौँ: ट्रम्पको शासनकाल दुर्भाग्यपूर्वक बिचैमा रोकिए जस्तो देखिनासाथ सबै कुरा सामान्य अवस्थामा फर्कने क्रममा छन् भन्ने सन्देश सहित वाइडेनको शपथग्रहण समारोह आयोजना गर्ने प्रयास नै खासमा वास्तविक रोगी लक्षण निहित थियो ।
समारोहको एउटा कुनामा एक्लै चुपचाप बसिरहेका स्यान्डर्सको तस्वीरको चौतर्फी प्रशंसामा करोडौँ मानिस वाइडेनको कार्यकाल थालनीमा रोगी लक्षण छन् भन्ने बुझ्छन् भन्ने सङ्केत थियो । साथै मानिस कुनै आधिकारिक एवं निरोगी नयाँ सुरुवात सम्भव छ भन्ने आशा गरिरहेका छन् भन्ने सङ्केत पनि थियो ।
खासमा भन्दा ट्रम्प र वाइडेन दुबै रोगी समयका लक्षण हुन् । तर यिनीहरूको स्वरूप र शैली फरक छ । ट्रम्प खासमा अति उत्तरआधुनिकतावादी इतिहासवादी हुन् । उनी परम्परा र विगतप्रति नक्कली निष्ठा देखाउने नग्न नवमालिक हुन् । उता वाइडेनको प्रगतिवाद शिरदेखि पाउसम्मै परम्परागत एवं रूढिवादी छ । उनको लक्ष्य नै केही विषयमा यस्तो प्रभावकारी परिवर्तन गर्नु थियो ताकि वास्तविक अर्थमा महत्त्वपूर्ण कुराहरू भने परिवर्तन हुन नसकुन् ।
अर्को शब्दमा भन्नुपर्दा, वर्चस्वको लडाइँमा सहभागी हुने वा जित्ने नै पनि सन्धिकाल वा भनौँ ग्राम्स्कीको ‘इन्टरेग्नम’ को समाधान गर्नु होइन । ग्राम्स्कीको रोगी लक्षणबारेको कथन खासमा त्यस्तो राजनीतिक संघर्षको वर्णन हो, जून निरन्तर चलिरहन्छ ।
जब हामी एक्लै बसिरहेका स्यान्डर्सको तस्वीरमा मुक्तिको अपेक्षाको गन्ध भेट्छौ त्यसबेला वाइडेनको राष्ट्रपति कार्यकाल उद्घाटन समारोह आफैमा रोगी लक्षण बन्न पुग्छ । वर्चस्वका लागि सङ्घर्ष नभएको तथा अनेक रोगी लक्षणहरू नभएको स्थानमा शुद्ध तार्किक प्रविधि तन्त्र अर्थात रेस्नल टेक्नोक्रेसी मात्रै बाँकी हुन्छ । यस्तै ठाउँ सबैभन्दा रोगी हुन्छ । अबका दिनमा त्यस्तो स्थान उत्तर–मानव स्थान हो ।
(द न्यु स्टेट्सम्यानबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण