बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

सोमबार, ०५ माघ २०८२, ०८ : १५
सोमबार, ०५ माघ २०८२

सारांश

  • कञ्चनपुरको शुक्लाफाँटामा दलित समुदाय सामाजिक परिवर्तन र हकअधिकारका लागि संगठित भएका छन्।
  • समूहले जातीय विभेद अन्त्य र अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
  • आर्थिक सुरक्षाका लागि मासिक बचत र समुदायका कल्याणकारी कार्यमा खर्च गर्ने योजना छ।

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ का दलित समुदाय सामाजिक परिवर्तन र हकअधिकार सुनिश्चितताका लागि संगठित भएका छन्। जातीय भेदभाव र दलित समुदायभित्रै जकडिएर रहेको आन्तरिक विभेद अन्त्य गर्ने उद्देश्यले यहाँका दलित परिवारले १७ सदस्यीय 'नमूना समूह' गठन गरेका हुन्। यो समूहले विशेष गरी दमाइँ, विश्वकर्मा, सार्की र बादी समुदायबीच कायम रहेको चुलोचौका र पानी नचल्ने जस्ता कुप्रथा हटाउन पहल गर्नेछ।

दलित अगुवा शिवी लुहारका अनुसार बाह्य विभेदविरुद्ध लड्नुअघि समुदायभित्रको आन्तरिक एकता आवश्यक रहेकाले सबै उपजातिको साझा प्रतिनिधित्व हुने गरी समूह बनाइएको हो। समूहले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने, सामाजिक सद्भाव कायम राख्ने र संविधानले दिएका अधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा दबाब दिने लक्ष्य राखेको छ। हाल वडा नम्बर ५ का करिब एक सय परिवार यसमा आबद्ध भइसकेका छन् भने यसलाई २५० परिवारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

सामाजिक सुधारका साथै समूहले आर्थिक सुरक्षाका लागि मासिक बचतको अवधारणा पनि अघि सारेको छ। प्रत्येक सदस्यले मासिक एक सय रुपैयाँ बचत गर्ने र उक्त रकम समुदायका कल्याणकारी कार्यमा खर्च गरिनेछ। विशेष गरी आर्थिक अभावका कारण मृत्यु संस्कार गर्न समस्या हुने परिवारलाई शव वाहन, दाउरा र खाद्यान्न सहयोग गर्ने व्यवस्था मिलाइएको समूहका अध्यक्ष नन्दराम वडले बताएका छन्। भविष्यमा यसलाई व्यावसायिक तालिम र आयआर्जनका कार्यक्रमसँग जोड्ने योजना समेत रहेको छ।

वडा नम्बर ५ मा सुरु गरिएको यो अभियानलाई शुक्लाफाँटाका अन्य वडाहरूमा पनि विस्तार गरिने भएको छ। वडा सदस्य जयराज पाण्डेयले समाज परिवर्तनका लागि थालिएको यो संगठित प्रयासमा ऐक्यबद्धता जनाउँदै नगरका हरेक योजनामा दलित समुदायको प्रतिनिधित्व र बजेट सुनिश्चित गर्न कटिबद्ध रहने बताएका छन्। यो सक्रियताले जातीय विभेद न्यूनीकरण र दलित समुदायको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप