विश्वको आर्थिक वृद्धिमा व्यापार तनाव जोखिम बनेको आईएमएफको चेतावनी
सारांश
- आईएमएफले विश्वको आर्थिक वृद्धिमा व्यापारिक तनाव र एआई क्षेत्रको मन्दी जोखिमको रूपमा औंल्याएको छ।
- आईएमएफका अनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर ३.३ प्रतिशत पुग्ने अनुमान छ, तर २०२७ मा केही घट्नेछ।
- प्रतिवेदनमा एआई र प्रविधिमा लगानीलाई सकारात्मक मानिए पनि बजारमा गिरावटको चेतावनी दिइएको छ।
वासिङ्टन डीसी । विश्वको आर्थिक वृद्धिमा व्यापारिक तनाव र एआई क्षेत्रको सम्भावित मन्दी मुख्य जोखिमका रूपमा रहेको चेतावनी बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले दिएको छ ।
विश्व अर्थतन्त्र हाल स्थिर अवस्थामा रहेको भए पनि पनि आगामी दिनमा चुनौतीहरू कायमै रहेको आफ्नो पछिल्लो विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनमा आईएमएफले जनाएको हो ।
आईएमएफका अनुसार सन २०२६ मा विश्व आर्थिक वृद्धि दर ३ दशमलव ३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यो यसअघि गरिएको ३ दशमलव १ प्रतिशतको प्रक्षेपणभन्दा बढी हो । सन २०२७ मा भने यो दर केही घटेर ३ दशमलव २ प्रतिशतमा झर्ने कोषको अनुमान छ ।
विश्व अर्थतन्त्र अपेक्षाकृत लचिलो र मजबुत देखिएको बीबीसीसँगको कुराकानीमा आईएमएफका प्रमुख अर्थशास्त्री पियर ओलिभिए गोरिन्चासले बताए । उनका अनुसार सन २०२५ का व्यापारिक अवरोधहरूलाई विश्व अर्थतन्त्रले क्रमशः पन्छाउँदै अघि बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहणसम्बन्धी आफ्नो प्रस्तावको विरोध गर्ने युरोपका आठ देशमाथि अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाउने धम्की दिएको सन्दर्भमा यो प्रतिवेदन आएको हो । ट्रम्पका ट्यारिफहरूले विश्व आर्थिक गतिविधि सुस्त पारे पनि प्रविधि क्षेत्रमा भएको लगानीले त्यसलाई आंशिक रूपमा सन्तुलनमा राखेको आईएमएफले जनाएको छ ।
प्रतिवेदनमा एआई र प्रविधि क्षेत्रमा भएको तीव्र लगानीलाई विश्व अर्थतन्त्रका लागि सहायक टेवाका रूपमा वर्णन गरिएको छ । तर एआईसम्बन्धी अपेक्षा अत्यधिक आशावादी सावित भएमा बजारमा अचानक गिरावट आउन सक्ने चेतावनी पनि दिइएको छ । यस्तो अवस्थाले उपभोग, लगानी र वित्तीय बजारमा नकारात्मक असर पार्न सक्ने आईएमएफको भनाइ छ ।
यसबाहेक व्यापारिक तनाव, आन्तरिक राजनीतिक द्वन्द्व तथा भू–राजनीतिक तनावले आपूर्ति शृङ्खला, वस्तु मूल्य र वित्तीय बजारमा असर पुर्याई विश्व अर्थतन्त्रलाई थप अनिश्चित बनाउने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ ।
आईएमएफले विश्व आर्थिक स्थिरताका लागि केन्द्रीय बैंकहरूको स्वतन्त्रता अत्यन्त महत्त्वपूर्ण रहेकोमा पनि जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण