डडेल्धुरामा कांग्रेसको नयाँ परीक्षणः महरको 'अग्निपरीक्षा'
सारांश
- डडेल्धुरामा शेरबहादुर देउवाको सट्टा नैनसिंह महरले चुनाव लड्दैछन्, जसले 'देउवा युग' को अन्त्यको संकेत गर्छ।
- महरको प्रतिस्पर्धामा नेकपा एमालेका चक्र स्नेही र रास्वपाका डा. ताराप्रसाद जोशी छन्, जसले कांग्रेसको गढ भत्काउन खोज्दैछन्।
- कांग्रेसले महरलाई युवा जोस र वैचारिक स्पष्टताका कारण टिकट दिएको छ, तर उनलाई विरासत जोगाउन चुनौती छ।
धनगढी । विगतमा डडेल्धुरा भन्नेबित्तिकै नेपाली कांग्रेसको उम्मेदवार शेरबहादुर देउवा भनेर सबैको मन मस्तिष्कमा आउने गर्थ्यो । यस पटक त्योभन्दा केही फरक अवस्था छ । २०४८ सालदेखि ०७९ सम्मका सात वटा संसदीय निर्वाचनमा लगातार जित्दै आएका देउवा यसपटक चुनावी मैदानमा देखिने छैनन् ।
देउवालाई नेपाली राजनीतिमा ह्याट्रिक प्रधानमन्त्रीसमेत भनेर धेरैले भन्छन् । पार्टी सभापतिको छवि बनाएका देउवा डडेल्धुराका लागि एक मात्र विकल्पजस्तै थिए । तर यसपटक देउवा चुनावी मैदानभन्दा बाहिरै हुनुपर्ने भएको छ । पार्टी सभापतिबाट हटेपछि उनको संसदीय यात्रामा पनि ब्रेक लाग्यो । यो विश्राम देउवाको आफ्नै चाहना हो वा बदलिँदो राजनीतिक परिस्थिति ? यो प्रश्न अहिले चौतर्फी चलेको छ ।
कांग्रेसभित्रकै एक पक्ष भन्छ, 'शेरबहादुर दाइले अब अभिभावक बनेर बस्ने निधो गर्नुभयो ।'
तर अर्को पक्षको बुझाइ अलि फरक छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीमा पुस्तान्तरणको अभ्यासलाई कडाइका साथ लागु गर्न खोज्दा देउवालाई टिकट नदिइएको वा बाध्य भएर पछि हट्नुपरेको चर्चा पनि उत्तिकै छ । नेपाली कांग्रेसका नेताहरू डडेल्धुरामा 'देउवा युग'को औपचारिक अन्त्य भएको र त्यो गह्रौँ विरासत थाम्ने जिम्मेवारी आइपुगेको बताउँछन् । अहिलेको अवस्था देउवाको विरासत थाम्ने जिम्मेवारी विद्यार्थी राजनीतिबाट उदाएका नेता नैनसिंह महरको काँधमा आएको छ ।
देउवाका उत्तराधिकारीका रूपमा कांग्रेसले टिकट थमाएका महर डडेल्धुराका लागि नयाँ अनुहार भने होइनन् । उनी डडेल्धुरामा हुर्किएका र यहीँको विद्यार्थी राजनीतिबाट खारिएका नेता हुन् । उनको राजनीतिक यात्राको जग नेपाल विद्यार्थी संघ (नेविसंघ) हो ।
२१ वर्षको कलिलो उमेरमै २०५२ सालमा नेविसंघ डडेल्धुराको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका महरले आफ्नो संगठन कौशलकै कारण २०५६ सालमा जिल्ला सभापतिको चुनाव जितेका थिए । जिल्लाको राजनीतिबाट उदाएका महरको यात्रा त्यतिमै रोकिएन । २०५७ सालको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी संगठन विभाग प्रमुख, उपाध्यक्ष हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय सभापतिमा निर्वाचित भएर राष्ट्रिय राजनीतिमा आफ्नो कद बढाएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका महरले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मको अनुभव सँगालेका छन् ।
राजनीतिमा पूर्णकालीन हुनुअघि महरले पत्रकारिताको अनुभव पनि सँगालेका छन् । उनले २०५३ देखि २०५७ सालसम्म कान्तिपुर दैनिक, राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा काम गरेको अनुभव छ ।सञ्चारकर्मको अनुभवले उनलाई जनताका समस्या बुझ्न र तिनलाई आवाज दिन थप मद्दत पुर्याएको उनी निकट एक नेता बताउँछन् ।
तीन नेताका अनुसार शिक्षामा पनि महर अब्बल मानिन्छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका महर वैचारिक रूपमा सशक्त छन् । उनका पाँच वटा प्रकाशित पुस्तकहरू पनि छन् । २०६२/६३ को जनआन्दोलनका क्रममा तीन महिना जेल जीवन बिताएका महर लोकतन्त्रप्रतिको निष्ठामा खरो उत्रिएका नेताका रूपमा चिनिने ती नेता बताउँछन् ।
समाजसेवामा सक्रिय रहेका उनले दैवी प्रकोप उद्धार पदक र अन्तर्राष्ट्रिय सम्मानसमेत पाएका छन् ।
आउँदो फागुन २१ गते हुने निर्वाचन महरका लागि सहज भने पक्कै छैन ।
‘देउवाको नाममा भोट माग्न जति सजिलो थियो, नयाँ अनुहारका लागि त्यो विरासत जोगाउनु फलामको चिउरा चपाउनु सरह हुन सक्छ,’ उनी निकट नेता बताउँछन् । देउवा आफैँ उम्मेदवार हुँदा पनि पछिल्ला चुनावहरूमा मतान्तर घट्दै गएको थियो । त्यसमाथि यसपटक देउवा स्वयं मैदानमा नहुँदा विपक्षी दलहरू हौसिएका छन् ।
महरको प्रतिस्पर्धामा नेकपा एमालेबाट चक्र स्नेही चुनावी मैदानमा छन् । उनी एमालेको परम्परागत मतलाई सुरक्षित राख्ने दाउमा कस्सिएका छन् ।
अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. ताराप्रसाद जोशी छन् । उनले २०७९ सालमा स्वतन्त्र रूपमा सुदूरपश्चिम प्रदेश सभामा जित निकालेका थिए । अहिले प्रदेश सभा सांसद पद राजीनामा दिएर उनी फेरि रास्वपाबाट चुनाव लड्ने तयारीमा छन् । यहाँ पुराना दलप्रतिको वितृष्णालाई क्यास गर्न रास्वपाले बलियो उपस्थिति जनाउने आकलन गरिएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिंह मालले पनि महरलाई चुनौती दिइरहेका छन् । यीलगायत अन्य दलहरूले महरसँग प्रतिस्पर्धा गर्नेछन् ।
विपक्षीहरूले कांग्रेसको गढ भत्काउने दाउ हेरिरहँदा महरका लागि भने यो जीवनकै ठुलो अग्निपरीक्षा हो । एकातिर देउवाले बनाएको बलियो संगठनको जग छ भने अर्कोतिर युवा नेतृत्व स्थापित गर्ने सुनौलो अवसर छ । कांग्रेसको उच्च स्रोतका अनुसार पार्टीले महरलाई टिकट दिनुको मुख्य कारण नै उनको युवा जोस र वैचारिक स्पष्टता हो । पार्टीभित्रको एउटा तप्का महरको उम्मेदवारीलाई नेतृत्व हस्तान्तरणको महत्त्वपूर्ण समयका रूपमा व्याख्या गरिरहेको छ ।
डडेल्धुरामा यसपटक विगतजस्तो एकहोरो नतिजा आउनेमा धेरैले शंका व्यक्त गरेका छन् । मतदाताहरू परिवर्तनको खोजीमा छन् । यद्यपि कांग्रेसको बलियो संगठन र महरको व्यक्तिगत छविले नतिजा कांग्रेसकै पक्षमा आउने दाबी गर्नेहरूको पनि कमी छैन ।
‘डडेल्धुरामा कांग्रेसकै पक्षमा नतिजा आउँछ, महरको देउवाजस्तो उचाइ नभए पनि उहाँमा काम गर्ने हुटहुटी छ,’ डडेल्धुराका स्थानीय एक शिक्षकले बताए । यहाँ एमाले र रास्वपाको बढ्दो प्रभावलाई नजरअन्दाज गर्न नमिल्ने विश्लेषकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण