महिला विश्वकप ग्लोबल छनोट : अन्तर्राष्ट्रिय मञ्चमा खुल्न नसकेको नेपाल
सारांश
- नेपाल महिला क्रिकेट टोली आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भयो।
- टस जितेर ब्याटिङ गरेको नेपालले १०२ रन बनायो भने थाइल्याण्डले १२.५ ओभरमा लक्ष्य पूरा गर्यो।
- नेपालको ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोरी देखिएको छ, र अब नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो पटक सहभागिता जनाइरहेको नेपाल महिला क्रिकेट टोलीले प्रतियोगिताको सुरुवातमै निराशाजनक हार बेहोर्यो ।
घरेलु मैदानमा आयोजना भइरहेको इतिहासकै सबैभन्दा ठुलो महिला क्रिकेट आईसीसी इभेन्टको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भयो । आठ विकेटको ठुलो हार बेहोरेको नेपालको कमजोर सुरुवातले अघिल्लो चरणको यात्रा कस्तो हुन्छ भन्नेमा चासो बढाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १० विकेट गुमाउँदै १०२ रनमात्र जोड्न सक्यो । जबाफमा थाइल्यान्डले लक्ष्य १२.५ ओभरमै दुई विकेट गुमाएर सहजै पूरा गर्यो । थाइल्यान्डकी अनुभवी ब्याटर नाथाकान चानाथमले ४९ बलमा ९ चौका र १ छक्कासहित नटआउट ५७ रनको अर्धशतकीय इनिङ खेल्दै नेपालको बलिङलाई पूर्ण रूपमा असफल तुल्याइन् । उनलाई ननपाटले ३२ रन बनाउँदै साथ दिइन् ।
नेपालको इनिङ सुरुवात भने उत्साहजनक थियो । सम्झना खड्का र बिन्दु रावलले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै टिमलाई बलियो आधार दिएका थिए । यो साझेदारी नेपाल महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै दोस्रो उच्च ओपनिङ साझेदारीसमेत हो । पावर प्लेभित्र नेपालले आक्रामक शैली प्रदर्शन गरे पनि मध्यक्रमका ब्याटरले साथ नदिँदा नेपाल कमजोर बन्न पुग्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पिच पनि ब्याटिङमैत्री देखिन्थ्यो, तर विकेट खसेसँगै नेपाल पुरानै रोगको सिकार बन्यो ।
सम्झना खड्काले ११ बलमा ६ चौकासहित २६ रन बनाउँदै आफ्नो काम पूरा गरिन् । उनी क्रिजमा रहँदासम्म थाइल्यान्ड दबाबमा देखिएको थियो, तर उनको विकेटसँगै नेपालको इनिङ बिस्तारै ओरालो लाग्यो । बिन्दु रावलले ४४ रन बनाउँदै टी–२० करियरकै उच्च स्कोर गरे पनि स्ट्राइक रोटेसनमा समस्या देखियो । पूजा महतो, कप्तान इन्दु बर्मा लगायत मिडल अर्डरका ब्याटरहरू जिम्मेवारी लिन असफल हुँदा नेपाल ठुलो स्कोरतर्फ अघि बढ्न सकेन ।
रुबिना क्षेत्रीले १० बलमा १७ रनको आक्रामक इनिङ खेल्दै केही आशा जगाए पनि पुछारका विकेट लगातार खस्दा नेपाल १०२ रनमै अलआउट भयो ।
नेपाली टोलीका पूर्वप्रशिक्षक मनोज कटुवालले राम्रो सुरुवात गरे पनि पछिल्लो क्रमका ब्याटरले साथ नदिँदा खेल ठुलो स्कोरसम्म नपुगेको बताए । ‘राम्रो सुरुवातलाई ठुलो स्कोरमा रूपान्तरण गर्न नसक्ने पुरानै कमजोरी दोहोरियो,’ कटुवालले भने ।
बलिङ र फिल्डिङतर्फ पनि नेपाल कमजोर देखियो । सरिता राना मगरले दुई विकेट लिए पनि थाइल्यान्डका ब्याटरहरूले खासै दबाब महसुस गर्नुपरेन । फिल्डिङमा क्याच छुट्नु, थ्रो कमजोर हुनु र समग्र फिटनेसमा कमी देखिनुले नेपालको अन्तर्राष्ट्रिय स्तर अझै पुगेको छैन भन्ने संकेत गर्यो ।
नेपाली महिला टोलीका लागि यो ग्लोबल छनोटमै पुग्नु नै ऐतिहासिक उपलब्धि हो । नेपाल पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेलिरहेको छ र र्याङ्किङका आधारमा पनि समूहकै कमजोर टोलीमध्ये एक मानिन्छ ।
थाइल्यान्डसँगको तथ्यांकले पनि यही यथार्थ पुष्टि गर्छ । नेपालले अहिलेसम्म थाइल्यान्डसँग १७ अन्तर्राष्ट्रिय खेल खेलेकोमा आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेलमा एकपटक पनि जित हात पार्न सकेको छैन । थाइल्यान्ड महिला क्रिकेट संरचना, अनुभव, फिटनेस र स्किलका हिसाबले नेपालभन्दा धेरै अगाडि रहेको टोली हो ।
तर घरेलु मैदान, घरेलु समर्थक र ऐतिहासिक अवसरको सदुपयोग गर्न नसक्नु भने निराशाजनक पक्ष हो । सधैँ ‘पोटेन्सियल टिम’को ट्यागमै सीमित रहने कि अब प्रतिस्पर्धी बन्ने भन्ने प्रश्न नेपाल महिला क्रिकेटले आफैँसँग गर्नुपर्ने अवस्था आएको छ ।
नेपाल अब प्रतियोगिताको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । मिडल अर्डर ब्याटिङ, फिटनेस, फिल्डिङ र गेम अवेयरनेसमा सुधार देखाउन सकेमात्र नेपालले बाँकी खेलहरूमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026