नासाबाट सेवा निवृत्त भइन् सुनिता विलियम्स
सारांश
- अमेरिकी अन्तरिक्षयात्री सुनिता विलियम्सले नासाबाट अवकाशको घोषणा गरिन्, बोइङको स्टारलाइनर क्याप्सुलको परीक्षण उडान उनको अन्तिम यात्रा बन्यो।
- विलियम्स सन् १९९८ मा नासामा आबद्ध भएकी थिइन् र उनले अन्तरिक्षमा ६०८ दिन बिताइन्, जुन नासाका अन्तरिक्षयात्रीहरूमध्ये दोस्रो धेरै हो।
- उनले अन्तरिक्षमा म्याराथन दौड र ट्रायथलन पूरा गरेर इतिहास रचेकी थिइन्, र उनको करियरमा नौ पटक स्पेसवाक गरिन्।
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी अनुभवी अन्तरिक्षयात्री सुनिता विलियम्सले मंगलबार जागिरबाट अवकाशको घोषणा गरेकी छिन् । यससँगै बोइङको स्टारलाइनर क्याप्सुलमार्फत गरिएको लामो र समस्याग्रस्त परीक्षण उडान नै उनको अन्तरिक्षयात्री जीवनको अन्तिम अन्तरिक्ष यात्रा बनेको छ । सुनिता सन १९९८ मा नासामा आबद्ध भएकी थिइन् । उनले अवकाश कहिले देखि लागू हुन्छ भनेर भनेकी छैनन् । नासाले जारी गरेको विज्ञप्तिमा उनले आफ्नो यात्रालाई अत्यन्तै सम्मानजनक भनेकी छिन् ।
‘मलाई चिन्ने जो कोहीलाई थाहा छ, अन्तरिक्ष मेरो सबैभन्दा मनपर्ने ठाउँ हो,’ उनले भनेकी छिन् । ‘तीन पटक अन्तरिक्षमा उड्ने अवसर पाउनु र अन्तरिक्षयात्री कार्यालयमा सेवा गर्न पाउनु मेरो जीवनको ठुलो सौभाग्य हो,’ उनले भनिन् । विलियम्सले पहिलो पटक सन २००६ मा स्पेस शटल डिस्कभरीमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)को यात्रा गरेकी थिइन् । सन २०१२ मा उनले रुसी सोयुज क्याप्सुलमार्फत पुनः अन्तरिक्षमा गइन् । तर उनको पछिल्लो मिशन सबैभन्दा चर्चित बन्यो । बोइङको नयाँ स्टारलाइनर क्याप्सुलको पहिलो मानवसहितको परीक्षण उडानका लागि उनी र सहयात्री बुच विलमोर आईएसएस पुगेका थिए ।
सुरुमा करिब एक हप्ता मात्रै बस्ने योजना भए पनि स्टारलाइनरमा देखिएका प्राविधिक समस्याका कारण उनीहरू नौ महिनाभन्दा बढी समय त्यहाँ बस्न बाध्य बने । सुरक्षा चिन्ताका कारण नासाले स्टारलाइनरलाई खाली अवस्थामा पृथ्वी फर्काउने निर्णय गर्यो । यति लामो बसाइँका बीच सुनिताको स्वास्थ्यलाई लिएर अनेकौं अड्कलबाजी चलेको भएपनि विलियम्स र विलमोरले बारम्बार अन्तरिक्षमा बसेको समय रमाइलो र सुरक्षित भएको बताएका थिए ।
२७ वर्षको नासा करियरमा विलियम्सले कुल ६०८ दिन अन्तरिक्षमा बिताएकी छिन् । यो नासाकी अन्तरिक्षयात्रीमध्ये दोस्रो सबैभन्दा धेरै हो । उनले नौ पटक स्पेसवाक गर्दै ६२ घण्टा खुला अन्तरिक्षमा बिताएकी छिन् । अन्तरिक्षमै म्याराथन दौडने र ट्रायथलन पूरा गर्ने पहिलो व्यक्ति बनेर उनले इतिहास पनि रचेकी छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण