शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीमा अर्धवार्षिक समीक्षा सुरु : निर्वाचन देखाएर कामबाट नपन्छिन मुख्यमन्त्रीको निर्देशन

बुधबार, ०७ माघ २०८२, १६ : ०२
बुधबार, ०७ माघ २०८२

सारांश

  • कर्णाली प्रदेशमा मन्त्रालयगत अर्धवार्षिक समीक्षा सुरु भएको छ, जसमा मुख्यमन्त्रीको उपस्थिति रहेको छ।
  • मुख्यमन्त्री कँडेलले निर्वाचनलाई देखाएर काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।
  • मुख्यमन्त्रीले कामको गति सुस्त भएको भन्दै मन्त्री र कर्मचारीहरूसँग असन्तुष्टि जनाए।

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयगत अर्धवार्षिक समीक्षा सुरु भएको छ। मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा मन्त्रालयगत रूपमा समीक्षा सुरु गरिएको हो।

बुधबार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा भएको समीक्षा बैठकमा मुख्यमन्त्री कँडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देखाएर काममा ढिलासुस्ती गर्ने र पन्छिने काम नगर्न मन्त्री तथा कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने उनको भनाइ छ। ‘निर्वाचनको बहाना बनाएर विकास निर्माण र सेवा प्रवाहका काम रोक्नु हुँदैन,’ उनले भने।

मुख्यमन्त्री कँडेलले कामको गति सुस्त भएको भन्दै मन्त्री र कर्मचारीहरूसँग असन्तुष्टि जनाएका छन्। मन्त्रालय अन्तर्गतका कामहरूको कार्यतालिका निर्माण भए पनि सोहीअनुसार काम नभएको उनले बताए।

‘कार्यालय प्रमुखले आफ्नो योग्यता, क्षमता र लगनशीलतासहित परिणाम देखिने गरी काम गर्नुहोस्,’ उनले भने, ‘विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य हुँदैन।’

मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गरे। विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै उनले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप