बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल र भारतबिच वैदेशिक व्यापारलाई थप सहज बनाउन समझदारी

बुधबार, ०७ माघ २०८२, १७ : ०३
बुधबार, ०७ माघ २०८२

सारांश

  • नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई सहज बनाउन दुई देशका भन्सार प्रशासनबीच समझदारी भएको छ।
  • नयाँ दिल्लीमा भएको सम्झौताअनुसार, अब वस्तुहरू सीमा नाकामा आइपुग्नु अगावै सूचना आदानप्रदान हुनेछ।
  • यस समझदारीले भन्सार प्रक्रिया छिटो हुने र व्यवसायीलाई सहजीकरण हुने अपेक्षा गरिएको छ।

काठमाडौँ। नेपाल र भारतबिच हुने वैदेशिक व्यापारलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन दुई देशका भन्सार प्रशासनबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना आदान–प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

दुई देशबिच भएको समझदारीसँगै अब नेपाल र भारतबिच निकासी गरिने वस्तुको तथ्याङ्क ती वस्तुहरू सीमा नाकामा आइपुग्नुभन्दा अगावै विद्युतीय माध्यमबाट एक–अर्कालाई उपलब्ध गराइनेछ । यो व्यवस्थाले भन्सार प्रक्रियामा लाग्ने समय उल्लेख्य रूपमा घट्ने र व्यापारिक लागत कम हुनेछ ।

वस्तुको विवरण अग्रिम रूपमा प्राप्त हुने हुँदा जोखिम विश्लेषण गरी शङ्कास्पद वस्तुको निगरानी र कारोबार गर्ने व्यवसायीलाई छिटो जाँच पासको सुविधा प्रदान गरिने, विद्युतीय तथ्याङ्क आदान–प्रदान, राष्ट्रिय कानुनको परिधिभित्र रही सुरक्षित रूपमा डेटा सेयरिङ लगायतका सहमति भएको छ । 

भन्सार सम्बन्धमा नयाँ आयाम

भन्सार विभागका महानिर्देशक भण्डारीले यस समझदारीले दुवै देशको भन्सार प्रशासनबिचको सम्बन्धलाई थप मजबुत बनाउने बताए । उनले भने, ‘वस्तुको आगमन पूर्व नै सूचना प्राप्त हुँदा जोखिम देखिएका वस्तुलाई कडाइ गर्न र सही व्यवसायीलाई थप सहजीकरण गर्न सहज हुनेछ। यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान हामी प्रतिबद्ध छौँ।’

त्यसैगरी, भारतीय पक्षका तर्फबाटका अध्यक्ष विवेक चतुर्वेदीले नेपालसँग यस्तो समझदारी गर्न पाउनु खुसीको कुरा रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि भारतले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत यो समझदारी पत्र तयार पार्नुअघि सरोकारवाला निकायहरूसँग व्यापक छलफल गरिएको थियो । कार्यक्रममा नेपालको तर्फबाट महानिर्देशकसहित ४ जना उच्च अधिकारी र भारतका तर्फबाट त्यहाँको भन्सार विभागका अध्यक्ष तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

यो समझदारीसँगै नेपाल–भारत व्यापार सम्बन्धमा प्रविधिको प्रयोगमार्फत नयाँ युगको सुरुवात हुने र सीमा नाकामा हुने ढिलासुस्ती कम भई द्विपक्षीय व्यापारले थप गति लिने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप