बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

बिहीबार, ०८ माघ २०८२, ०५ : ०५
बिहीबार, ०८ माघ २०८२

सारांश

  • म्याग्दीका समिर खान र यास्मिन बेगमले आमाको नामबाट नागरिकता पाए।
  • नागरिकताका लागि उनीहरूले लामो समयसम्म प्रक्रिया पूरा गरेका थिए।
  • नयाँ नियमावली कार्यान्वयनसँगै आमाको नामबाट नागरिकता दिने बाटो खुलेको हो।

म्याग्दी । बेनी नगरपालिका–७ का समीर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समीर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए ।

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।

समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उनका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुन् । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छिन् । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसकेका छन् । उनले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताए ।

समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप