शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपका लागि भारत जाने कि नजाने ? बंगलादेशको आज हुने बैठकबाट टुङ्गो लाग्ने

बिहीबार, ०८ माघ २०८२, ०९ : ४९
बिहीबार, ०८ माघ २०८२

सारांश

  • आगामी टी-२० विश्वकपमा बंगलादेशको सहभागिता अनिश्चित, सरकार र खेलाडीबीच छलफल हुँदै छ।
  • आईसीसीले स्थल परिवर्तनको माग अस्वीकार गरेपछि बंगलादेश थप दबाबमा, स्कटल्याण्डले खेल्ने सम्भावना।
  • बंगलादेशले आईपीएलमा रोक र सुरक्षा चिन्ताका कारण भारत जान आनाकानी गरिरहेको छ।

ढाका । आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा बंगलादेशको सहभागिता अन्योल जारी छ। 

बंगलादेश सरकारका खेल सल्लाहकार आसिफ नजरुलले आज बिहीबार राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूसँग विशेष बैठक बोलाएका छन्। ढाकास्थित होटल इन्टरकन्टिनेन्टलमा दिउँसो ३ बजे हुने यस बैठकले बंगलादेश टोली विश्वकप खेल्न भारत जाने वा नजाने भन्ने अन्तिम निर्णय गर्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को खेल स्थल परिवर्तन गर्ने मागलाई बुधबार अस्वीकार गरेपछि बंगलादेश थप दबाबमा परेको हो। बीसीबीले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू भारतको सट्टा श्रीलंकामा गराउन माग गरेको थियो। 

आईसीसीको बोर्ड बैठकमा १६ मध्ये १४ सदस्य राष्ट्रहरूले बंगलादेशको प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने केवल पाकिस्तानले मात्र बंगलादेशको समर्थन गरेको थियो। आईसीसीले कार्यतालिका र खेल स्थलमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ।

बंगलादेशका टी–२० कप्तान लिटन दासले मंगलबार बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलपछि आफू र पूरै देश विश्वकप सहभागितालाई लिएर अन्योलमा रहेको बताएका थिए। खेल सल्लाहकार नजरुलले आजको बैठकमा खेलाडीहरूलाई सरकारको आधिकारिक धारणा जानकारी गराउने र उनीहरूको राय समेत लिने बुझिएको छ। यदि बंगलादेशले विश्वकपबाट नाम फिर्ता लिएमा उसको स्थानमा स्कटल्याण्डले प्रतियोगितामा प्रवेश पाउनेछ।

विवादको जड इन्डियन प्रिमियर लिग (आईपीएल) सँग पनि जोडिएको छ। बंगलादेशमा हिन्दुहरूको हत्या भएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बंगलादेशी तीव्र गतिका बलर मुस्तफिजुर रहमानलाई आईपीएल खेल्न अनुमति दिएको छैन। यस कदमबाट रुष्ट बनेको बंगलादेश सरकारले आफ्नो देशमा आईपीएल प्रसारणमा रोक लगाएको थियो भने सुरक्षाको कारण देखाउँदै विश्वकपका लागि भारत जान आनाकानी गरिरहेको छ।

तालिका अनुसार बंगलादेश ग्रुप ‘सी’ मा रहेको छ र उसले वेस्ट इन्डिज, इटाली र इङ्गल्याण्डसँग कोलकाताको इडन गार्डेनमा तीन खेल खेल्ने तय छ। त्यस्तै, अन्तिम समूह खेल मुम्बईमा नेपालविरुद्ध खेल्ने तालिका छ। 

बंगलादेशले श्रीलंकामा खेल हुने ग्रुप ‘बी’ मा सार्न गरेको मागलाई पनि आईसीसीले अस्वीकार गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप