शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद देवकोटाको मुद्दामा पूर्ण सुनुवाइका लागि मिसिल कागज झिकाउने आदेश

बिहीबार, ०८ माघ २०८२, १५ : ५६
बिहीबार, ०८ माघ २०८२

सारांश

  • गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई पदमुक्त गर्ने निर्णयविरुद्धको मुद्दामा सर्वोच्चले पूर्ण सुनुवाइका लागि मिसिल झिकाउने आदेश दियो।
  • तत्कालीन माओवादी केन्द्रको कारबाही र सभामुखको निर्णयविरुद्ध देवकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए।
  • सर्वोच्चले यसअघि देवकोटालाई सांसदको रूपमा काम गर्न अन्तरिम आदेश दिएको थियो।

काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले सांसद पदबाट हटाउने निर्णयविरुद्ध दिएको मुद्दामा पूर्वआदेश अनुसार पूर्ण सुनुवाइका लागि मिसिल कागज झिकाउने आदेश दिएको छ । 

सर्वाेच्च अदालतका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र विनोद शर्माको संयुक्त इजलासले बिहीबार यसअघिको मगाइएको मिसिल फाइल झिकाउन आदेश जारी गरेको हो ।

यसअघि २०८१ फागुन ६ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले मिसिल झिकाएर पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो । 

तत्कालीन माओवादी केन्द्रको पत्रका आधारमा सभामुखबाट सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध देवकोटाले सर्वोच्चमा रिट दिएका थिए । 

तत्कालीन माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर ह्विप उल्लङ्घन गरेको भन्दै देवकोटालाई कारबाही गरेको थियो ।

माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए । 

२०७९ मंसिर ४ मंसिरको प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।

यसअघि सर्वोच्चले देवकोटाले दिएको रिटमा माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । 

सर्वोच्चले देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि उनको मनोनयन पत्र, निर्वाचन आयोगले दिएको प्रमाणपत्र र निर्वाचन आयोगले २०७९ मंसिर २९ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा नेपाल समाजवादी पार्टीको भएको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप