जनार्दनको दाबी : कांग्रेस–एमालेका कार्यकर्ताले पनि मलाई भोट दिन्छन्
सारांश
- जनार्दन शर्माले आगामी निर्वाचनमा अन्य दलका कार्यकर्ताको पनि साथ रहने दाबी गरेका छन्।
- शर्माले युवा केन्द्रित एजेन्डा र स्थानीय स्रोत साधनको परिचालन गर्दै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए।
- उनले रुकुमको विकासका लागि आइटी पार्क निर्माण, स्वास्थ्य सेवा विस्तार र चौरजहारी विमानस्थल विस्तारको योजना अघि सारे।
रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूलाई अन्य दलका कार्यकर्ताको पनि साथ रहने दाबी गरेका छन् । रुकुम पश्चिमबाट उम्मेदवारी दिएका शर्माले आफू यस पटक नयाँ पार्टी र नयाँ चुनाव चिन्ह ‘आँखा’ लिएर जनतामाझ जान लागेको भए पनि कांग्रेस र एमालेका कार्यकर्ताले समेत मत दिने जिकिर गरे ।
विगतमा चार पटक चुनाव जितिसकेको र संसद् विघटनका कारण पछिल्लो कार्यकालका अधुरा काम पूरा गर्न पाँचौँ पटक चुनावी मैदानमा उत्रिन लागेको उनले बताए । आफू सधैँ रुकुमको साझा उम्मेदवारको रूपमा रहेको र चुनाव जितेपछि कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद नगरेकाले विपक्षी दलका कार्यकर्ताले समेत फोन गरेर ‘अभिभावक चाहियो’ भन्दै ढाडस दिएको शर्माको भनाइ छ ।
उनले आफू नयाँ दलमा भए पनि व्यक्तिगत प्रभाव र विगतका कामको मूल्याङ्कन गर्दै अन्य दलका सङ्गठित सदस्यहरूले समेत प्रत्यक्षतर्फको भोट आफूलाई दिने वचन दिएको खुलासा गरे ।
शर्माले यसपटकको निर्वाचनमा युवा केन्द्रित एजेन्डालाई प्राथमिकतामा राखेका छन् । रुकुममा ‘आइटी पार्क’ निर्माण गरी विदेशी कम्पनीका काम गाउँमै बसेर गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उनको योजना छ । रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्रोत साधनको परिचालन, कृषि र साना उद्योगको विकास गर्ने प्रतिबद्धता उनले जनाए ।
साथै, खेलकुदमा युवाहरूको बढ्दो रुचिलाई सम्बोधन गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने र १२ कक्षा पास गर्दा सीपयुक्त जनशक्ति उत्पादन गर्ने उनको लक्ष्य छ । विकास निर्माणतर्फ चौरजहारी विमानस्थललाई विस्तार गरी ठुला जहाज अवतरण गर्न सक्ने बनाउने महत्त्वाकाङ्क्षी योजना शर्माले अघि सारेका छन् ।
स्वास्थ्य उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्न जिल्लामै मेडिकल कलेज सञ्चालन गर्ने, डायलासिस सेवा विस्तार गर्ने र ५० देखि १५० शैयाका अस्पतालहरूलाई एकीकृत गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने उनले बताए । विगतमा सडक र बिजुली पुर्याउने काममा नेतृत्व गरेका शर्माले अबको कार्यभार ती पूर्वाधारको प्रयोग गरेर आर्थिक समृद्धि हासिल गर्नु रहेको औँल्याए ।
राष्ट्रिय राजनीतिमा देखिएको सङ्क्रमणकालीन अवस्थालाई सम्बोधन गर्न र संविधानको रक्षा गर्न पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको शर्माको तर्क छ । आफू सधैँ जनताको मागअनुसार चल्ने गरेको र यस पटक पनि जनताकै दबाब र उत्साहका कारण उम्मेदवार बनेको उनले स्पष्ट पारे ।
शर्माले रुकुमको विकासमा आफूले खेलेको भूमिका र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण जित सुनिश्चित रहेको दाबीसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण