शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भावी प्रधानमन्त्रीमा गगन थापालाई अघि सारे पछि महामन्त्री पौडेलले भने– देश परिवर्तनको यात्रामा सँगै सहकार्य गरौँ

शुक्रबार, ०९ माघ २०८२, १८ : ५०
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आह्वान गरे।
  • उनले विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको र गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताए।
  • पौडेलले परिवर्तित कांग्रेसले देश परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताको साथ खोजे।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गरेका छन् ।

पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे लगत्तै सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले आम कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको भन्दै अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैमा अपिल गरेका हुन् ।

नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रूपान्तरणको विषयलाई पैरवी गरिरह्यौँ । हामीले नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरू निरन्तर उठाइरह्यौँ । आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ,’ उनले भने,‘हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन । देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौँ ।’

आम नेपाली कांग्रेसका साथीहरू र मतदाताहरूको चाहना बमोजिम नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात् हामीले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने,‘मलाई विश्वास छ देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुनेछ ।’

परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उल्लेख गर्दै उनले देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास गरे । 

‘जसको नीति त्यसकै नेतृत्व हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन्, ‘त्यसअनुसार कांग्रेसलाई नीतिगत पक्षबाट बदल्ने, नेतृत्वगत पक्षबाट बदल्ने र दुवै पक्षबाट बदलिएको कांग्रेसले देश बदल्ने अठोटमा यहाँहरूको साथ रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप