मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा निर्वाचनमा छुट्टै बैंक खाताको व्यवस्था गर्न राष्ट्र बैंकलाई पत्राचार

शुक्रबार, ०९ माघ २०८२, १८ : ५९
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
  • आयोगले निर्वाचन आचारसंहिताको प्रावधान कार्यान्वयन गर्न र निर्वाचन खर्चलाई पारदर्शी बनाउन अनुरोध गरेको हो।
  • राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन खर्च बैंक खाताबाटै गर्नुपर्ने व्यवस्था मिलाइनेछ।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको छ । शुक्रबार निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरिदिन पत्राचार गरेको हो । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने लगायतका प्रावधानहरू रहेको भन्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्र बैंकलाई यस्तो पत्राचार गरिएको हो । 

आयोगले गरेको पत्राचारमा भनिएको छ,'आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलहरूबाट पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै प्रणाली तर्फका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरू समेतका लागि बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूमा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी यस आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा निर्वाचन अभियानसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन अनुरोध छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप