बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

शनिबार, १० माघ २०८२, ०० : ४७
शनिबार, १० माघ २०८२

सारांश

  • बाँकेमा चार जनाले प्रतिनिधिसभा निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
  • क्षेत्र नं १ र २ बाट उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
  • क्षेत्र नं ३ मा भने कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । बाँकेको तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका निर्वाचन क्षेत्र नं १ र निर्वाचन क्षेत्र नं २ बाट उनीहरूले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ता र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्माले उम्मेदवारी फिर्ताको निवेदन दिएको जानकारी दिए । दुई जनाका उम्मेदवारी फिर्तासँगै जिल्लाको निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिनेको सङ्ख्या २० कायम भएको छ ।

त्यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पनि स्वतन्त्रतर्फका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले स्वतन्त्रतर्फका प्रदीपकुमार पौडेल र दीपक शाहीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उम्मेदवारी फिर्तासँगै सो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेको सङ्ख्या १५ कायम हुने भएको छ । तर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा भने कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । सो निर्वाचन क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएका थिए । बाँके जिल्लामा कुल ६१ जनाको उम्मेदवारी परेकामा चार जनाले फिर्ता लिएपछि ५७ जनाको उम्मेदवारी कायम भएको छ ।

बाँकेका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप