बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा हिमपात : राजमार्ग र विद्युत् सेवा अवरुद्ध

शनिबार, १० माघ २०८२, १० : ५३
शनिबार, १० माघ २०८२

सारांश

  • सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध भएका छन्।
  • दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपातका कारण सवारी आवागमन र विद्युत् सेवा बन्द भएको छ।
  • हिमपातका कारण किसानहरू खुसी भएका छन्, किनभने यसले हिउँदे बालीलाई फाइदा पुर्‍याउँछ।

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् ।

रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ । उनले भने, “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।”

यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप