कस्ता छन् खोटाङमा पुराना र नयाँ दलका अनुहार ?
सारांश
- खोटाङमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना दलहरूले नयाँ उम्मेदवारहरू प्रस्तुत गरेका छन्।
- विभिन्न दलहरूले नयाँ अनुहारका साथ प्रतिस्पर्धा गर्दै गर्दा, नेकपाले डा. हरि रोकालाई उम्मेदवार बनाएको छ, जसले चुनावी प्रतिस्पर्धालाई रोचक बनाउने अपेक्षा गरिएको छ।
- २०७९ को निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका थिए भने यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले पुराना दलहरूलाई चुनौती दिने आकलन गरिएको छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा पुराना दलहरूले पनि नयाँ उम्मेदवार रोजेका छन् । खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायत दलहरूले नयाँ अनुहार देखाएर चुनावमा होमिएका हुन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १५ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गराएका छन् ।
२०७९ को निर्वाचन परिणाम र बदलिँदो राजनीतिक अवस्थाका कारण पुराना दलहरूले पनि नयाँलाई प्रतिस्पर्धीका रूपमा उभ्याएका हुन् ।
लामो समयदेखि खोटाङको राजनीतिमा सक्रिय रहेका नेकपा एमालेका नेता विशाल भट्टराई यस पटक पछि हटेका छन् । २०५६ सालदेखि लगातार चुनावमा उठ्दै आएका भट्टराईलाई रोक्दै एमालेले यस पटक जिल्ला अध्यक्ष देवविक्रम राईलाई अघि सारेको छ ।
अघिल्लो निर्वाचनको समानुपातिक मतका आधारमा पार्टीले जित निकाल्ने एमालेले दाबी गरेको छ । ०७९ मा यहाँ एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २४ हजार २७१ मत प्राप्त गरेको थियो ।
यस्तै ०७९ को चुनावमा गठबन्धनका कारण उम्मेदवार उठाउन नपाएको कांग्रेसले यस पटक नयाँ अनुहार महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई प्रतिस्पर्धाका लागि भिडाउन लागेको छ । ०७९ को चुनावमा यहाँ कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट माओवादीका रामकुमार राई विजयी भएका थिए । यस पटक वीरकाजीको उम्मेदवारीलाई सबैले स्विकारेको अवस्थामा जित निकाल्न सक्ने कांग्रेसलाई विश्वास छ ।
नेकपाले चर्चित अर्थशास्त्री डा. हरि रोकालाई उम्मेदवार बनाएको छ । रोका ओझेलमा परेका किसानहरुका आवाज बुलन्द पार्न चुनावी मैदानमा उत्रिएका छन् । बौद्धिक व्यक्तित्व र अर्थ विश्लेषकको छवि बनाएका रोकाको उपस्थितिले खोटाङको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
गाउँमै हलो–कोदालो चलाएर बसेको व्यक्ति नै उम्मेदवार बनेपछि स्थानीय किसानमाझ यतिबेला उनको उम्मेदवारी चर्चा बनेको छ ।
नयाँ पार्टीको बढ्दो चुनौती
देशको बदलिँदो राजनीति र युवाको समर्थन रहेको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) र भर्खरै दर्ता भएको श्रम संस्कृति पाटीले यहाँ पुराना दलहरूलाई कडा चुनौती दिने आकलन गरिएको छ । रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृति पार्टीबाट आरेन राई यहाँ उम्मेदवार बनेका छन् । खोटाङ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको जन्मस्थल भएकाले पनि यहाँ उक्त पार्टीले अपेक्षित मत पाउने विश्वास गरिएको छ ।
यस्तै जेनजी युवाहरूले दर्ता गराएको राष्ट्रिय परिवर्तन पाटीले जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उठाएको छ । कुलमान घिसिङ केन्द्रीय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको पनि साझा उम्मेदवार राई रहेकाले उनको पक्षमा राम्रै मत आउने आकलन गरिएको छ ।
कस्तो छ अघिल्लो चुनावको परिणाम ?
२०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामकुमार राईले गठबन्धनको सहयोगमा यहाँ ३१ हजार ३५१ मत ल्याएर विजयी भएका थिए भने नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरी पराजित भएका थिए ।
जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसका सबैभन्दा धेरै जनप्रतिनिधि छन्, जसमा दुई नगरपालिका प्रमुख र चार गाउँपालिका प्रमुखसहित ३२ वडाध्यक्ष कांग्रेसका छन् । दुई प्रदेशसभा सदस्यमा एमालेका पाँचकर्ण राई र कांग्रेसका भूपेन्द्र राई रहेका छन् ।
खोटाङमा यस पटक १ लाख ४७ हजार १२० मतदाता कायम छन्, जसमा ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन् ।
जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण