टी–२० विश्वकपमा पाकिस्तानको सहभागिता अन्योलमा
सारांश
- पुरुष टी-२० विश्वकप २०२६ मा पाकिस्तानको सहभागिता अनिश्चित बनेको छ।
- बंगलादेशलाई भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले प्रतियोगिताबाट हटाएपछि पीसीबी आक्रोशित छ।
- पीसीबी अध्यक्षका अनुसार सरकारको निर्णयअनुसार पाकिस्तानले विश्वकप खेल्ने वा बहिष्कार गर्नेछ।
इस्लामावाद । आगामी फेब्रुअरी ७ देखि सुरु हुने पुरुष टी–२० विश्वकप २०२६ मा पाकिस्तानको सहभागितालाई लिएर गम्भीर अन्योल उत्पन्न भएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा खेल्न अस्वीकार गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रतियोगिताबाट हटाएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) कडा रूपमा प्रस्तुत भएको हो।
पीसीबीका अध्यक्ष मोहसिन नाभीले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाकिस्तान विश्वकप खेल्ने वा नखेल्ने भन्ने अन्तिम निर्णय सरकारको निर्देशनमा भर पर्ने बताएका छन्। उनले आईसीसीले भारतलाई काखा र अन्य राष्ट्रलाई पाखा गर्ने गरी ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाउँदै बंगलादेशमाथि ठुलो अन्याय भएको टिप्पणी गरे।
‘हामी आईसीसीको होइन, आफ्नै सरकारको आदेश मान्छौँ, प्रधानमन्त्री स्वदेश फर्किएपछि यसबारे अन्तिम निर्णय हुनेछ,’ नाभीले स्पष्ट पारे।
सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न नसक्ने अडान लिएको बंगलादेशलाई आईसीसीले प्रतियोगिताबाट हटाएर स्कटल्यान्डलाई समावेश गरिसकेको छ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकपमा बंगलादेशका खेलहरू भारतमा तोकिएका थिए। तर, पछिल्लो समय भारत र बंगलादेशबिच बिग्रँदो सम्बन्ध र मुस्ताफिजुर रहमानलाई आईपीएलबाट फुकुवा गर्न दिइएको निर्देशनपछि बीसीबीले सुरक्षाको प्रश्न उठाएको थियो।
गत वर्ष भएको ‘हाइब्रिड मोडल’ सम्झौताअनुसार पाकिस्तानले आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्ने कार्यतालिका छ। पाकिस्तानले फेब्रुअरी ७ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्ने र फेब्रुअरी १५ मा कोलम्बोमा भारतसँग भिड्ने तय छ।
यद्यपि, बंगलादेशप्रतिको ऐक्यबद्धता र आईसीसीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पाकिस्तानले पनि अन्तिम समयमा हात झिक्न सक्ने सङ्केत दिएको छ। यदि सरकारले अनुमति नदिएमा पाकिस्तानले पनि विश्वकप बहिष्कार गर्न सक्ने नाभीले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण