बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनमा घृणाजन्य अभिव्यक्ति नदेऊ, शान्ति सुरक्षा मजबुत बनाऊ : मानव अधिकार आयोग

मङ्गलबार, १३ माघ २०८२, १३ : ३६
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको समयमा नेताहरूका अमर्यादित अभिव्यक्तिप्रति ध्यानाकर्षण जनाएको छ।
  • आयोगले घृणाजन्य अभिव्यक्तिले समाजमा अराजकता निम्त्याउने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत गराएको छ।
  • आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादित हुन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका जिम्मेवार नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनयता एकअर्काप्रति लगाइएका आक्षेप र घृणा फैलाउने खालका भाषणहरूले समाजमा अराजकता निम्त्याउने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत गराएको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि त्यसले अरूको मर्यादामा चोट पुर्‍याउने र शान्ति सुरक्षामा आँच पुर्‍याउन नहुने उल्लेख गरिएको छ। घृणाजन्य अभिव्यक्तिले निर्वाचनको समयमा सुरक्षा चुनौती थप्ने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने आयोगको ठहर छ। आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार र सामाजिक सद्भावप्रति सधैँ ध्यान पुर्‍याउन जिम्मेवार व्यक्तिहरूलाई आग्रह गरिएको छ।

आयोगले राजनीतिक दलका नेता, उम्मेदवार र सर्वसाधारणलाई सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित हुन तथा मानव अधिकारमैत्री भाषा मात्र प्रयोग गर्न भनेको छ। घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आयोगले निर्देश गरेको छ। 

यस्ता अभिव्यक्तिले समाजमा विभाजन ल्याउन सक्ने भन्दै आयोगले शान्ति सुरक्षालाई थप मजबुत बनाउन नेपाल सरकारलाई समेत निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप