बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुसमा तीन फिल्म प्रदर्शन : व्यवसाय कति ?

बुधबार, १४ माघ २०८२, १२ : १५
बुधबार, १४ माघ २०८२

सारांश

  • पुस महिनामा प्रदर्शनमा आएका नेपाली फिल्महरूले राम्रो दर्शक पाउन सकेनन्, जसले गर्दा फिल्म व्यवसाय चुनौतीपूर्ण बन्यो।
  • अर्जुन घिमिरेको 'झरी पछिको इन्द्रेणी' ले केही राम्रो व्यापार गरे पनि, 'मुगलान' र 'एक्लो' ले बक्स अफिसमा कमजोर प्रदर्शन गरे।
  • 'एक्लो' साइन्स फिक्सन विधाको फिल्म भए पनि र कान्स फिल्म फेस्टिभलसम्म पुगे पनि व्यापारिक रूपमा असफल भयो।

काठमाडौँ । भनिन्छ, पुस फासफुस । नेपाली फिल्मका लागि गत पुस महिना वास्तवमै फासफुस भयो । यो महिना जति फिल्म प्रदर्शनमा आए, कुनैले पनि राम्रो दर्शक पाउन सकेनन् । छोटा दिन, जाडो समय र दर्शकको हलसम्म पुग्ने अनिच्छाका कारण पुस महिना फिल्म व्यवसायका लागि सधैँ चुनौतीपूर्ण मानिन्छ । यद्यपि, निर्माणमा आएको चाप र रिलिज डेटको लुछाचुँडीका कारण निर्माताहरूले जोखिम मोलेरै तीन ठुला फिल्म पुसमा प्रदर्शनमा ल्याए । तर, नतिजा भने सोचेजस्तो उत्साहप्रद रहेन ।

यस पटक पुसमा तीन फरक स्वादका फिल्महरू प्रदर्शनमा आए । फिल्म थिए, अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित सामाजिक कथाको ‘झरी पछिको इन्द्रेणी’, आशिष ढकाल निर्देशित ग्रामीण परिवेशको ‘मुगलान’ र प्रदीप शाही निर्देशित साइन्स फिक्सन ‘एक्लो’ । यी तीनै फिल्मको बक्स अफिस नतिजा भने राम्रो देखिएन ।

पुस ४ गतेबाट प्रदर्शनमा आएको ‘झरी पछिको इन्द्रेणी’ ले यो महिना प्रदर्शनमा आएका फिल्महरूमध्ये तुलनात्मक रूपमा केही सन्तोषजनक व्यापार ग¥यो । ‘पाँडे’ को निर्देशनमा डेब्यु समेत रहेको फिल्मले वैदेशिक रोजगारीको सपना, पारिवारिक प्रेम र जेनजी पुस्ताको आन्दोलनलाई समेटेको थियो । करिब २ करोडको लागतमा निर्माण भएको बताइएको फिल्मले बक्स अफिसमा १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ ग्रस कलेक्सन मात्र गर्न सफल भयो । फिल्मका लागि ३९ हजार २१७ टिकट बिक्री भए ।

लामो समयपछि पर्दामा फर्किएका अभिनेता गणेश उप्रेती, रमेश उप्रेती र दीपाश्री निरौलाजस्ता स्थापित अनुहारका कारण पनि फिल्मले केही दर्शक तान्न सफल भयो । निर्देशक घिमिरेले दाबी गरे झैँ समाजको वास्तविक कथा र ‘झरी’ पछि आउने ‘इन्द्रेणी’ अर्थात् दुःखपछिको सुखको कथाले दर्शकलाई केही हदसम्म प्रभावित पारे पनि सार्वजनिक प्रदर्शनबाट फिल्मले लगानी सुरक्षित गर्न भने सकेन ।

त्यस्तै नेपाली फिल्म क्षेत्रमा नयाँ प्रयोगका रूपमा हेरिएको फिल्म ‘एक्लो’ ले पनि बक्स अफिसमा निकै कमजोर प्रदर्शन ग¥यो । नेपालको पहिलो साइन्स फिक्सन (विज्ञान कथा) भनिएको यो फिल्म करिब ४ करोडको भारी बजेटमा निर्माण भएको थियो । सन् २०३० को काल्पनिक समय र पृथ्वी छोड्नुपर्ने मानव जातिको कथा बोकेको यो फिल्मले कान्स फिल्म फेस्टिभलको मार्केट स्टलसम्म पुगेर चर्चा बटुलेको थियो ।

प्रदीप खड्का, विजय लामा र सुनिल थापा जस्ता स्टार कलाकारका साथै बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको यस फिल्मले मात्र ४६ लाख ९५ हजार १८३ रुपैयाँको व्यापार गर्न सक्यो । केवल १४ हजार २५५ दर्शकले मात्र हलसम्म पुगेर यो काल्पनिक संसार नियाले । मुस्ताङ र पनौतीका सुन्दर लोकेसनमा खिचिएको भए पनि फिल्मको व्यापारिक असफलताले नेपाली बजारमा नयाँ विधाका फिल्म भित्र्याउनेले सोच्नुपर्ने देखाएको छ ।

पुस १० मा प्रदर्शनमा आएको ‘मुगलान’ को अवस्था झनै नाजुक देखियो । डेढ करोडको लगानी भनिएको यो फिल्मले जम्मा ६ लाख ३१ हजार ९४४ रुपैयाँ मात्र कलेक्सन गर्न सक्यो । २ हजार ४ सय थान टिकट बिक्री हुनुले यो फिल्मले दर्शकको न्यून उपस्थिति मात्र पायो भन्ने प्रस्ट हुन्छ ।

ग्रामीण जीवनशैली र त्यहाँको सङ्घर्षको कथा पस्किएको यो फिल्ममा प्रभात पाल, स्मारिका ढकाल र दिनेश डिसी लगायतका कलाकारको अभिनय थियो । तर, प्रचार प्रसारको कमी र पुसको चरम जाडोका कारण यो फिल्म हलमा आएको र गएको धेरै दर्शकले पत्तै पाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप