बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी अभियन्ता सोडारीको स्वास्थ्य अवस्था गम्भीर, वीर अस्पतालमा भर्ना

बुधबार, १४ माघ २०८२, १३ : १३
बुधबार, १४ माघ २०८२

सारांश

  • काठमाडौँको माइतीघर मण्डलामा अनसनरत जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरियो।
  • सोडारी ६ बुँदे माग राख्दै ९ दिनदेखि अनसनमा थिए, तर सरकारले चासो नदेखाउँदा स्वास्थ्य बिग्रियो।
  • जेनजी युनाइटेडका संयोजकले सरकारको व्यवहारलाई 'क्रूर र मानवीय संवेदनाहीन' भनेर टिप्पणी गरे।

काठमाडौँ । विभिन्न ६ बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा विगत ९ दिनदेखि आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

लगातार ९ दिनसम्म अनसन जारी रहँदा समेत सरकारले कुनै चासो नदेखाई बेवास्ता गरेपछि अन्ततः उनको अवस्था नाजुक बनेको हो । सरकार युवा तथा जेनजी आन्दोलनका माग र मुद्दाप्रति अनुदार बन्दै आएको भन्दै जेनजी युनाइटेडका संयोजक सुजन पौडेलले यसलाई ‘सरकारको क्रूर र मानवीय संवेदनाहीन व्यवहार’ भनेर टिप्पणी गरेका छन् ।

वीर अस्पतालमा उपचाररत सोडारीको अवस्था अत्यन्तै सिकिस्त बन्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको डा. जगत विकले जानकारी दिएका छन् । सोडारी माइतीघर मण्डलामा ६ बुँदे मागसहित आमरण अनसनमा बस्दै आएका थिए ।

अभियन्ता सोडारीका ६ बुँदे मागहरू :

१. निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनुपर्ने ।

२. जेनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको तत्काल रिहाइ तथा दोषीमाथि हदैसम्मको कारबाही ।

३. भ्रष्टाचार अभियोग लागेका सम्पूर्ण व्यक्तिमाथि निष्पक्ष छानबिन र निर्मम कारबाहीको सुनिश्चितता ।

४. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गरिनुपर्ने ।

५. संविधान संशोधन वा पुनःलेखनमार्फत राज्यको पुनर्संरचना गरिनुपर्ने ।

६. विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरिनुपर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप