वार्म–अप खेलमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न नपाउँदा कति घाटा ?
सारांश
- आगामी टी-२० विश्वकपको तयारीका लागि नेपालले टेस्ट राष्ट्रसँग अभ्यास खेल खेल्न नपाउने भएको छ।
- नेपालले यूएई र क्यानडासँग अभ्यास खेल खेल्नेछ, तर यी खेलहरू शीर्ष टोलीको स्तरको तयारीका लागि पर्याप्त नहुन सक्छन्।
- विश्वकपमा राम्रो प्रदर्शन गर्न, नेपालले उपलब्ध स्रोत र अवसरको अधिकतम उपयोग गर्दै उत्कृष्ट खेल खेल्नुपर्नेछ।
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को महाकुम्भ नजिकिँदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारी र रणनीतिलाई लिएर क्रिकेट समर्थकहरूमा बहस सुरु भएको छ ।
भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि भारतमा अन्तिम तयारीमा जुटेको नेपालले प्रतियोगिताअघिको आधिकारिक अभ्यास खेलमा कुनै पनि टेस्ट राष्ट्रसँग खेल्न नपाउने भएको छ । नेपालले विश्वकपमा आफ्ना समूह चरणका महत्त्वपूर्ण खेलहरू भारतको प्रतिष्ठित वानखडे स्टेडियम मुम्बईमा खेल्दै छ, तर आईसीसीले सार्वजनिक गरेको वार्म–अप तालिकाअनुसार नेपालले आफ्ना दुवै अभ्यास खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्नेछ । फेब्रुअरी ३ र ५ मा हुने ती खेलहरूमा नेपालले क्रमशः यूएई र क्यानडाजस्ता एसोसिएट राष्ट्रको सामना गर्नेछ ।
यूएई र क्यानडा एसोसिएट क्रिकेटका बलिया प्रतिस्पर्धी भए पनि विश्वकपमा नेपालले सामना गर्नुपर्ने इंग्ल्यान्ड, वेस्ट इन्डिजजस्ता शीर्ष टोलीको स्तरको तयारीका लागि यो पर्याप्त भने हुनेछैन ।
नेपालले खेल्ने अभ्यास खेल चेन्नइमा हुनेछन् । चेन्नईको पिच प्रायः सुस्त र स्पिन–मैत्री ट्र्याकका लागि चिनिन्छ, जबकि मुम्बईको वानखडे स्टेडियम ब्याट्सम्यानमैत्री, फ्ल्याट पिच र ‘ड्यु फ्याक्टर’का लागि चर्चित छ । नितान्त फरक कन्डिसनमा अभ्यास गरेर विश्वकपको मुख्य प्रतिस्पर्धामा उत्रनुले टोलीको प्रदर्शनमा असर पर्न सक्छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले टेस्ट राष्ट्रसँग अभ्यास खेल मिलाउन प्रयास नै नगरेको भने होइन । क्यानका सचिव पारस खड्काले सार्वजनिक रूपमै यसका लागि पहल भएको बताएका थिए । विश्वकपअघि द्विपक्षीय शृंखला आयोजना गर्ने योजनासमेत बनेको थियो । तर समय, भेन्यु र लजिस्टिक कारण देखाउँदै ठुला राष्ट्रहरू तयार नभएको क्यानको भनाइ छ ।
तर, प्रयासका बाबजुद सफलता नमिल्नुको पछाडि नेपालको अन्तर्राष्ट्रिय छविले पनि भूमिका खेलेको देखिन्छ । ठुला प्रतियोगितामा नेपालले हालसम्म कुनै टेस्ट राष्ट्रलाई पराजित गर्न नसक्नुले पनि यसमा असर पारेको छ । एसिया कप र विश्वकपजस्ता मञ्चमा पाएका अवसरलाई पूर्ण सदुपयोग गर्न नसक्दा नेपालप्रतिको धारणा अझै ‘एसोसिएट स्तर’मै सीमित छ । जसकारण ठुला राष्ट्रहरू शृंखला खेल्न तयार नभएको बुझिएको छ ।

‘वेकअप कल’ र सुधारका क्षेत्र
विश्वकप तयारीकै सिलसिलामा नेपालले श्रीलंका ‘ए’ टोलीसँग खेलेको तीन खेलको शृंखला २–१ ले गुमाएको थियो । उक्त नतिजालाई विश्वकप तयारीका लागि ‘वेकअप कल’ मानिएको छ । शृंखलामा नेपालको तल्लो क्रमको ब्याटिङबाट अपेक्षित योगदानको अभाव र डेथ ओभरमा पेस बलिङमा देखिएको अनुशासनको कमीजस्ता कमजोरीहरू देखिएका थिए । यद्यपि, कमजोरी पहिचान हुनु नै सुधारको पहिलो आधार हो ।
यी चुनौतीबिच एउटा सकारात्मक पक्ष भने मुम्बईमै भइरहेको बन्द प्रशिक्षण हो । टोलीले स्थानीय एमसीए प्रेसिडेन्ट्स इलेभेनजस्ता टोलीसँग अभ्यास खेल खेल्दै स्थानीय कन्डिसन, बाउन्स, आउटफिल्ड र डेउ फ्याक्टर बुझ्ने महत्त्वपूर्ण मौका पाएको छ । यी खेलहरू औपचारिक नभए पनि विश्वकपको तयारीका लागि निकै उपयोगी मानिएका छन् ।
समूह चरणमा नेपालको यात्रा सहज छैन । इंग्ल्यान्ड र वेस्ट इन्डिजजस्ता विश्वविजेता टोलीसँगै बंगलादेशको स्थानमा समूहमा परेको स्कटल्यान्ड पनि कमजोर आँक्न मिल्ने टोली होइन । रिची बेरिङटन, मार्क वाट, जर्ज मुन्से, क्रिस ग्रेभ्सजस्ता अनुभवी खेलाडीले भरिएको स्कटल्यान्डले जुनसुकै बेला खेल पल्टाउन सक्छ ।
अभ्यास खेलको सीमिततालाई पन्छाउँदै नेपालसँग उपलब्ध स्रोत र अवसरमै उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । यूएई र क्यानडाविरुद्धको अभ्यास खेलमा प्रभावशाली जित निकाल्दै आत्मविश्वास बटुल्नु र त्यस लयलाई विश्वकपसम्म लैजान सक्नु नै नेपालको वास्तविक परीक्षा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026