बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

चुनावकाे मुखमा राष्ट्रपति र उपराष्ट्रपति विदेश भ्रमणमा जाने

बुधबार, १४ माघ २०८२, १६ : २९
बुधबार, १४ माघ २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा जाँदैछन्, जसले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ मनाउनेछ।
  • उपराष्ट्रपति रामसहाय यादव 'वर्ल्ड गभर्मेन्ट समिट' मा भाग लिन युएई जाने तयारीमा छन्, जसले गर्दा राष्ट्रपतिको भ्रमण छोटो पारिएको छ।
  • नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो र राष्ट्रपति पौडेललाई जापान सरकारले सम्मान गरेको थियो।

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव भने विदेश भ्रमणको तयारीमा लागेका छन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चारदिने औपचारिक भ्रमणमा निस्किने तयारीमा छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेललाई जापानले भ्रमणका लागि बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो, अहिले जापानमा पनि चुनावको तयारी भइरहेको छ । 

राष्ट्रपति पौडेल फर्केकै दिन उपराष्ट्रपति यादवको यूएई भ्रमणको कार्यतालिका बनाइएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यूएईमा हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । उपराष्ट्रपति यादवको यूएई जाने कार्यक्रम पहिला नै तय भइसकेका कारण राष्ट्रपति पौडेलको भ्रमण तालिका छोटो बनाइएको परराष्ट्रका एक अधिकारीले बताए । 

राष्ट्रपति तथा उपराष्ट्रपति एकैपटक देश बाहिर रहन नहुने परम्परा छ । त्यसैले राष्ट्रपति पौडेलको भ्रमणलाई छोटो बनाएको बताइएको छ । 

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० मा राष्ट्रपति पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मान गरेको थियो । त्यसबेला पौडेल कांग्रेसका वरिष्ठ नेता थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप