बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उम्मेदवार

नुवाकोट-१ : तीन दललाई रास्वपाको चुनौती

बुधबार, १४ माघ २०८२, १९ : ३०
बुधबार, १४ माघ २०८२

सारांश

  • नुवाकोट-१ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ, जसमा कांग्रेस, एमाले र नेकपाबीच प्रतिस्पर्धा हुनेछ।
  • २०५६ देखि २०७० सम्म कांग्रेसले जितेको यो क्षेत्रमा नेकपा माओवादी केन्द्रले २०७४ र २०७९ मा जित हासिल गरेको थियो।
  • डा. प्रकाशशरण महत, हितबहादुर तामाङ र बद्री मैनाली मुख्य प्रतिस्पर्धी हुन् भने रास्वपाका उम्मेदवारले चुनौती दिने देखिएको छ।

काठमाडौँ । नुवाकोटको ६ वटा गाउँपालिका समेटिएको नुवाकोट क्षेत्र नम्बर १ मा यो पटक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । २०५६ सालदेखि २०७० सालसम्म निरन्तर नेपाली कांग्रेसले जित्दै आएको यो क्षेत्रमा २०७४ र २०७९ मा गठबन्धनको बलमा नेकपा माओवादी केन्द्रले जित हासिल गर्‍यो । दुई शक्तिबिच मुख्य प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा फागुन २१ को निर्वाचनमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ । 

नुवाकोट-१ मा ककनी, पञ्चकन्या, लिखु, तादी, शिवपुरी, दुप्चेश्वर र सूर्यगढी गाउँपालिका समेटिएका छन् । जेनजी आन्दोलनपछि हुन लागेको चुनाव भएकाले यसपटक कसले बाजी मार्ला भन्नेमा एकिन गर्न गाह्रो छ । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर नुवाकोट-१ बाट उम्मेदवार बन्दै आएका नेकपाका नेता हितबहादुर तामाङ पाँचौं पटक चुनाव लड्दैछन् । २०६४ को पहिलो र २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता डा. रामशरण महतसँग झिनो मतान्तरले पराजय भोगेका उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महतलाई पराजित गरे । २०७४ को निर्वाचनपछि डा. महत यो क्षेत्रमा चुनावी प्रतिस्पर्धाबाट बाहिरिए । 

२०७९ सालमा देशभर कांग्रेस र तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) ले गठबन्धन गर्दा नुवाकोट-१ मा उम्मेदवार बने हितबहादुर । गठबन्धनको बलमा उनले एमालेका उम्मेदवार बद्री मैनालीलाई पराजित गरेका थिए । हाल गठबन्धनबिनै कांग्रेस, एमाले र नेकपा चुनावी प्रतिस्पर्धामा छन् । 

जनताको मतबाट अनुमोदित नभई जहिल्यै झस्केलाबाट प्रतिनिधिसभा सदस्य भएको आरोप लाग्दै आएका कांग्रेस नेता डा. प्रकाशशरण महत यो पटक नुवाकोट-१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएर विजयी हुने दाउमा छन् । समानुपातिक सूचीबाट सांसद बनेर ऊर्जा र अर्थमन्त्री सम्हालिसकेका छन् । अर्थमन्त्री भएको समयमा ठुलो मात्रामा बजेट आफ्नो क्षेत्रमा खन्याएको आरोप खेप्दै आएका उनै महतलाई चुनाव जित्ने चुनौती छ । महतका लागि यो चुनाव एक अग्निपरीक्षा समेत हुनेछ । 

एमालेले यो पटक पनि पुरानै अनुहारलाई मैदानमा उतारेको छ । एमाले नुवाकोटको अध्यक्ष रहेका बद्री मैनाली यसअघिको निर्वाचनमा तत्कालीन माओवादी केन्दका उम्मेदवार हितबहादुर तामाङका प्रतिस्पर्धी थिए । ठेकेदार पृष्ठभूमिका मैनाली यो क्षेत्रका बलिया उम्मेदवार मानिन्छन् । 

यी तीनै जना उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. विक्रम तिमिल्सेना चुनौती बन्ने देखिएको छ । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट रास्वपा उम्मेदवार पद्युम्न महतले ६ हजार १११ मत ल्याएका थिए । अहिले रास्वपाको लहर राम्रै देखिँदा विगतको मतमा कति थपिन्छ त्यसले नतिजामा फेरबदल ल्याउने देखिन्छ । 

यस्तो थियो २०७९ को मत परिणाम

नुवाकोट-१ मा कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ २६ हजार ५४८ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका बद्री मैनालीले २३ हजार ४६५ मत प्राप्त गरेका थिए । रास्वपाका पद्युम्न महतले ६ हजार १११ मत ल्याएका थिए भने राप्रपाका सुदर्शन सिटौलाले १ हजार ६११ मत प्राप्त गरेका थिए ।
 
समानुपातिकतर्फको मत परिणाम हेर्दा एमालेले १६ हजार २६७ मत प्राप्त गर्दा कांग्रेसले १५ हजार ७५१ मत प्राप्त गरेको थियो । माओवादी केन्द्र अर्थात् हालको नेकपाले १५ हजार १२७ मत प्राप्त गर्दा रास्वपाले ५ हजार ४४९ मत पाएको थियो । राप्रपाले ४ हजार ४९ मत र एकीकृत समाजवादीले ५०५ मत प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन पौडेल
निराजन पौडेल
लेखकबाट थप