बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

काठमाडौँमा गहना र नगद लुट्ने गिरोह पक्राउ

दिउँसो ट्याक्सी चलाउने राति लुटपाट गर्ने
बिहीबार, १५ माघ २०८२, १६ : ५८
बिहीबार, १५ माघ २०८२

सारांश

  • काठमाडौंमा तीन महिनादेखि सर्वसाधारणको गहना र नगद लुटपाट गर्ने गिरोह पक्राउ परेको छ।
  • लुटपाटमा संलग्न गिरोहले मोटरसाइकल प्रयोग गरी कुटपिट गर्ने गरेको र मुख्य योजनाकार विनय तामाङ रहेको खुलेको छ।
  • प्रहरीले लुटिएका सामान किन्ने र फरार व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान जारी राखेको छ।

काठमाडौँ । काठमाडौँमा विगत तीन महिनादेखि रातको समयमा सर्वसाधारणको गहना र नगद लुटपाट गर्दै आएको एउटा ठुलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानबाट यो गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूले विशेषगरी रातको समयमा दुई वा तीनवटा मोटरसाइकलमा तीन–तीन जनाको दरले चढेर लुटपाट गर्ने गरेको पाइएको छ। लुटपाटको क्रममा उनीहरूले पीडितहरूलाई कुटपिट समेत गर्ने गरेका थिए, जसका कारण कतिपय पीडितको कानै च्यातिएको र गम्भीर चोट लागेको अवस्था छ।

पक्राउ पर्नेहरूमा लुटपाटका मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ रहेका छन्। अन्य सदस्यहरूमा २३ वर्षीय आयन माझी, २३ वर्षीय मिनस रसाइली, ३२ वर्षीय समन माझी, २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी, २२ वर्षीय विशाल तामाङ, २८ वर्षीय विदुर विश्वकर्मा र २९ वर्षीय फुवा तामाङ छन्। 

622115241_772016328661292_7934952913575142165_n

पक्राउ परेकामध्ये धेरैको आपराधिक पृष्ठभूमि रहेको र उनीहरू यसअघि पनि चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्तिहरू हुन्। यो गिरोहले लुटपाट गर्नुअघि बा १२ च ७७०१ नम्बरको निजी गाडीमा रेकी गर्ने र दिउँसोको समयमा ट्याक्सी चलाएर राति त्यही सवारी लुटपाटमा प्रयोग गर्ने गरेको खुलेको छ।

प्रहरीले लुटपाटमा प्रयोग भएका ६ वटा मोटरसाइकल, एउटा निजी कार र बागमती प्रदेश ०१००२ ज ०७६६ नम्बरको ट्याक्सी बरामद गरेको छ। बरामद मोटरसाइकलहरूमा एनएनएस, पल्सर २२० र केटीएम आरसी जस्ता तीव्र गतिका सवारी साधनहरू रहेका छन्। 

यो गिरोहले काठमाडौँको बौद्ध, कुमारीगाल, चाबहिल, भीमसेनगोला, एयरपोर्ट, स्वयम्भू, विजेश्वरी, कारखानाचोक, डल्लु, नयाँ बजार, बुढानीलकण्ठ, कपन र कोटेश्वर जस्ता विभिन्न क्षेत्रमा लुटपाट मच्चाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ। 

622520053_888532650771191_303943551528207153_n

लुटिएका सामान किन्ने कार्यमा संलग्न खोटाङ ज्वेलर्स र सुन चाँदी कालीगढ पसलमा काम गर्ने व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हालसम्म २७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् भने उनीहरू विरुद्ध अहिलेसम्म जम्मा ४ वटा जाहेरी दर्ता भइसकेको छ। उनीहरूले सुनका औँठी, सिक्री, मुन्द्रा, टप, ब्रासलेट, आइफोन र ठुलो मात्रामा नगद रकम लुट्ने गरेका थिए। 

प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ र अन्य फरार हुनसक्ने व्यक्तिहरूको पनि खोजी भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप