शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनआरटी शीर्ष स्थानमा दबाब बढाउँदै

बिहीबार, १५ माघ २०८२, १९ : १०
बिहीबार, १५ माघ २०८२

काठमाडाैँ । दुई खेलाडीले रातो कार्ड सामना गरेको खेलमा न्युरोड टिम (एनआरटी) ले जित निकाल्दै राष्ट्रिय लिगको शीर्ष स्थानका लागि अंक बराबरी गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एनआरटीले बिहीबार संकटा क्लबमाथि ३–१ को जित निकाल्दै लिगमा चौथो जित आत्मसात् गर्‍याे ।

एनआरटीको जितमा कृतिषरत्न छुन्जु र टिमोथीको ओकेरेकेले समान एक गोल गरे । संकटाका वेन्डपाङ्गा विल्गोले आत्मघाती गोल गर्न पुगे । कृष्णबहादुर आलेले गोल फर्काए पनि संकटाको हार टरेन ।

खेलमा दुवै टोलीका समान एक जना विदेशी खेलाडीले रातो कार्ड सामना गरे । खेलको २४औं मिनेटमा नै डिफेन्डर टाय ड्यानिएल बाडारुले दोस्रो पहेँलो कार्ड सामना गरेपछि संकटा १० खेलाडीमा सीमित भयो ।

उनले त्यसअघि तेस्रो मिनेटमा नै पहेँलो कार्ड बेहोरेका थिए । एनआरटीले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । कप्तान कृतिषरत्नको गोलबाट एनआरटीले अग्रता लिँदै संकटामाथि दबाब बनायो ।

२४औं मिनेटमा संकटाले एक खेलाडी गुमाएपछि भने एनआरटीले त्यसको फाइदा लिन सकेन । पहिलो हाफमा एनआरटीले थप गोल गर्न सकेन । दोस्रो हाफमा भने तीन गोल निस्कियो ।

५१औं मिनेटमा संकटाका डिफेन्डर वेन्डपाङ्गाले आत्मघाती गोल गर्न पुगे । संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले नियन्त्रणमा लिन नसकेको बललाई क्लियर गर्ने प्रयासमा वेन्डपाङ्गाले आत्मघाती गोल गरेका हुन् ।

तर, त्यसको पाँच मिनेपछि संकटाले गोल गर्दै खेलमा फर्कने प्रयास ग¥यो । सबिनकुमार लुङ्गेली मगरले राइट साइडबाट दिएको कट पासलाई कृष्णबहादुरले गोल गरेका हुन् । तर, ६७औं मिनेटमा एनआरटीले तेस्रो गोल गर्दै संकटासँग अग्रता ३–१ ले अगाडि बढायो । एनआरटीका लागि नाइजेरियन खेलाडी ओकेरेकेको गोल गरेका हुन् ।

तर, ८६औं मिनेटमा ओकेरेकेले आफूमाथि फउल भएको भन्दै विवाद गरेपछि लगातार दोस्रो पहेँलो कार्ड बेहोरे । तर, संकटाले त्यसको फाइदा उठाउन सकेन र एनआरटीले ३–१ को जित निकाल्यो । यो जितसँगै एनआरटी पाँच खेलबाट १२ अंक बटुल्दै तेस्रो स्थानमा उक्लियो । एनआरटीले पहिलो खेलमा नै मच्छिन्द्र क्लबसँग हार बेहोरेको थियो ।

तर, त्यसपछि एनआरटीले लगातार चार खेलमा जित निकालेको हो । पाँच खेलबाट संकटाले एक जित, दुई बराबरी र दुई हार सामना गर्‍याे ।  संकटाले लगातार दोस्रो हार बेहोरेको हो ।

मिलन राईको ह्याट्रिकमा चर्च ब्वाइज युनाइटेडले नव जनजागृति युवा क्लबमाथि ६–१ को फराकिलो जित निकाल्यो । मिलनको ह्याट्रिकसँगै अबायोमी फाकुन्लेले दुई गोल र एरिक बिष्टले एक गो थपे ।

नव जनजागृतिका जोहान बोइरले एक गोल फर्काए पनि फराकिलो हार टार्न सकेनन् । यससँगै नव जनजागृतिले लगातार चौथो हार सामना गर्‍याे । चर्च ब्वाइजले भने चौथो खेलमा दोस्रो जित निकाल्दै सात अंक बटुल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप