बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलाडी

‘नडियाडको जयसूर्या’देखि भारतको भरपर्दो अलराउन्डरसम्म

शुक्रबार, १६ माघ २०८२, १५ : ००
शुक्रबार, १६ माघ २०८२

सारांश

  • अक्षर पटेलले आफ्नो क्रिकेट यात्रा र भारतको लागि खेल्ने सपनाको बारेमा अनुभव सुनाए।
  • उनले आफ्नो बाल्यकाल, क्रिकेटप्रतिको लगाव, र बुबाको प्रेरणाबारे कुरा गरे।
  • उनले टी२० विश्वकपको अनुभव, एमएस धोनीको सल्लाह, र आगामी प्रतियोगिताहरूको बारेमा चर्चा गरे।
00:00 / NaN:NaN
Audio By AI

मुम्बई  । ‘त्यो दिनभन्दा अघि मैले कहिल्यै त्यस्तो महसुस गरेको थिइनँ,’ अक्षर पटेल टाउको हल्लाउँदै मुस्कुराउँछन् । मेरो आग्रहमा उनी आफ्नो इन्स्टाग्राममा रहेको एउटा रिल हेरिरहेका छन्, जुन ४ जुलाई २०२४ मा भारतले टी–२० विश्वकप जितेपछि मुम्बईमा आयोजित विजय जुलुसको भिडियो हो ।

‘त्यहाँ रहेका १५ जना खेलाडीबाहेक अरू कसैले त्यो अनुभूति कस्तो थियो भनेर बुझ्न सक्दैनन् । त्यो बिल्कुलै फरक थियो—अनुभव, वातावरण, हामीले पाएको प्रशंसा, जनसागर । यति ठुलो भीड एकै स्वरमा ‘इन्डिया ! इन्डिया !’ भन्दै चिच्याइरहेको मैले पहिले कहिल्यै देखेको थिइनँ,’ उनी भन्छन् ।

भारतका अधिकांश क्रिकेटरहरूजस्तै अक्षर पनि गल्ली क्रिकेटबाटै हुर्किएका हुन् । टेनिस बलले क्रिकेट खेल्दै हुर्किएका उनी सानैदेखि खेलप्रति मोहित थिए । बल र ब्याट बोकेरै सुत्थे । तीमध्ये कुनै हरायो भने, अभिभावकले नयाँ नकिनिदिएसम्म रोएर बस्थे ।

उनको क्रिकेट जीवनमा सबैभन्दा ठुलो प्रभाव बुवा राजेशको रह्यो । ‘जिम्बाब्वे र वेस्ट इन्डिजको खेल हुँदा पनि उहाँ रातभर जाग्राम बसेर हेर्नुहुन्थ्यो,’ अक्षर सम्झन्छन्, ‘त्यही जोस सजिलै ममा पनि सर्‍यो ।’

axar-5

आफू राम्रो खेल्छु भन्ने महसुस गरेपछि उनको आत्मविश्वास झन् बढ्यो । उनी आफूभन्दा नौ वर्ष जेठा काकाको छोरा संक्षिप र उनका साथीहरूसँग खेल्न थालेँ । सुरुमा दाइहरूले सानो भनेर थोरै बल मात्र खेल्न दिन्थे । ‘मैले राम्रो खेल्न थालेपछि, उनीहरूले मलाई टोलीमै राख्नुपर्छ भन्ने ठाने,’ अक्षर भन्छन् ।

उनको कलात्मक ब्याटिङ र बलियो लेग–साइड खेलकै कारण उनलाई ‘नडियाडको जयसूर्या’ भन्ने उपनाम दिइयो । ‘गल्ली क्रिकेटमा रन बनाउन धेरै ठाउँ हुँदैन, तर मेरो लागि लेग साइड सजिलो हुन्थ्यो,’ उनी थप्छन् ।

छिट्टै उनी यति राम्रो भए कि गर्मीयाममा संक्षिपले खेल्ने टेनिस–बल प्रतियोगिताहरूमा प्रतिम्याच ५०० रुपैयाँ पारिश्रमिक लिन थाले । कक्षा ८ मा नयाँ विद्यालय जाँदा उनको छ–सात जना केटाहरूसँग घनिष्ठ मित्रता भयो ।

एकपटक तीमध्ये एक जनाले अन्तरविद्यालय प्रतियोगितामा टोली दर्ता गराएर अभ्यास गर्नुपर्ने प्रस्ताव राख्यो । ‘मैले भनेँ, ‘गल्लीमै अभ्यास गरौँ न,’ अक्षर सम्झन्छन् । त्यतिबेला मात्रै उनले थाहा पाए—प्रतियोगिता लेदर बलले खेलिने रहेछ ।

axar-3

‘मैले उसलाई सोधेँ, ‘तिमीले नजिकबाट लेदर बल देखेका छौ ?’ अक्षरले टोलीको नाम फिर्ता लिन भने । तर खेडा जिल्ला क्रिकेट संघले नाम फिर्ता लिए तीन वर्ष प्रतिबन्ध लगाउने चेतावनी दियो । अन्ततः हार्ने नै भए पनि मैदान उत्रिने निर्णय गरियो ।

उनीहरूले क्लब क्रिकेट खेल्ने विद्यालयका एक सिनियरसँग सहयोग मागे । उनले लेदर बल खेल्ने आधारभूत कुराहरू सिकाए । ‘त्यतिबेलासम्म लेदर बल के हो भन्ने नै थाहा थिएन,’ अक्षर भन्छन्, ‘हामीले कंक्रिट पिचमा कर्कको बलले अभ्यास गर्‍यौँ ।’

टोलीसँग जम्मा दुई वटा किटब्याग थिए, एउटा विद्यालयको र अर्को किपिङ ग्लोभ्स भएको खेलाडीको । उसले आफूलाई किपर नबनाएसम्म नखेल्ने अडान लियो । ओपनिङ गर्न कोही तयार नभएपछि, त्यतिबेला फास्ट बलर रहेका अक्षरले नै ब्याटिङ र बलिङ दुवैको सुरुवात गरे ।

पहिलो खेलमा उनी २० रनमा आउट भए । ‘सेन्ट मेरीज स्कुलका फास्ट बलरले चकिङ गरेर मलाई आउट गरे,’ उनी भन्छन्, ‘तर म मानिरहेको थिइनँ ।’ अन्ततः टोलीका सिनियरले सम्झाएर उनलाई मैदानबाहिर ल्याए ।

axar-2

त्यो दुईदिने खेल थियो, जसमा पहिलो इनिङ्सको अग्रताका आधारमा नतिजा तय हुन्थ्यो । दोस्रो इनिङ्समा अक्षरले त्यही बलरको सामना गर्ने अठोट गरे । ‘मैले लगातार पाँच बलमा पाँच चौका हानेँ,’ उनी सम्झन्छन् ।

उनको प्रतिभाबाट प्रभावित खेडा क्रिकेट संघका अधिकारीहरूले उनलाई जिल्ला क्याम्पमा बोलाए । फाराम भरे पनि उनी सुरुमा जान मानेनन् । बुवाको आग्रहपछि मात्रै हप्तामा केही दिन क्याम्प जान थाले । त्यतिबेला उनको सपना क्रिकेटर बन्ने थिएन । ‘म इन्जिनियर बन्न चाहन्थेँ,’ अक्षर भन्छन्, ‘खेल त रमाइलोका लागि खेल्थेँ ।’ कक्षा १० सम्म उनी सधैँ कक्षाको ‘टप–३’ भित्र पर्थे ।

दाइ संक्षिपले कम्प्युटर साइन्समा स्नातक र स्नातकोत्तर गरेको देखेर आफूले पनि त्यत्तिकै वा अझ राम्रो गर्नुपर्छ भन्ने उनको सोच थियो । ‘आत्मविश्वास थियो, तर क्रिकेटप्रति गम्भीर थिइनँ,’ उनी स्विकार्छन् ।

छिट्टै उनी जिल्ला टोलीमा छानिए र तेस्रो खेलमै कप्तान बने । १४ वर्षको उमेरमा स्टेट ट्रायलका लागि बोलाइयो । क्रिकेट छोड्न चाहने अक्षरलाई उल्टै बुवाले नै खेलमा निरन्तर लागिरहन प्रेरित गरे ।

axar-1

करिब एक वर्षपछि गान्धीनगरसँगको अवे खेलका क्रममा राति १२ बजे साथीको फोन आयो, हृदयाघातका कारण उनकी हजुरआमाको निधन भएको रहेछ । तर बुवाले उनलाई खबर गरेनन् । टोली व्यवस्थापकले खेल छोडेर घर जान अनुमति दिएनन् । दुई रात उनी निदाउन सकेनन् ।

दुई दिनपछि घर पुग्दा बुवाले अँगालो हाल्दै भन्नुभयो, ‘खेलका बिचमा छोरालाई विचलित गर्न नचाहेर खबर नगरेको ।’ त्यस रात बुवाले सुनाएको एउटा इच्छाले अक्षरको जीवन मोडिदियो । ‘त्यही दिनदेखि म गम्भीर भएँ,’ उनी भन्छन्, ‘कम्तीमा एउटा खेल भारतका लागि खेल्ने वाचा गरेँ ।’

१५ जुन २०१४ मा बंगलादेश भ्रमणका क्रममा उनले भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरे । खेलाडी छनोट बैठकको दिन उनी इडेन गार्डेन्समा केकेआरविरुद्ध आईपीएल क्वालिफायर खेल्ने तयारीमा थिए । ‘चेतेश्वर पुजारा आएर बधाई दिनुभयो,’ उनी सम्झन्छन्, ‘त्यसपछि बुवालाई फोन गर्दा दोस्रो पटक उहाँ रोएको सुनेँ ।’

axar-4

त्यस सिजन किंग्स इलेभन पञ्जाब फाइनल पुगेपछि नडियाडमा उनको भव्य स्वागत गरियो । थार जिपमा सहर परिक्रमा गराइयो । ‘त्यसपछि सबथोक बदलियो,’ उनी भन्छन् ।

एमएस धोनीलाई उनी आफ्नो आदर्श मान्छन् । सन् २०२१ को टी–२० विश्वकपमा धोनी भारतका मेन्टर हुँदा उनले दिएको सल्लाह—दबाब नलिई स्वतन्त्र भएर खेल्ने—अक्षरका लागि निर्णायक बन्यो । २०१८ को एसिया कपमा औँलाको चोटले बाहिरिएका उनी २०२१ मा बलियो रूपमा फर्किए । इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा ३ खेलमा २७ विकेट लिएपछि उनी सबै ढाँचामा पहिलो रोजाइ बने ।

सन् २०२४ को टी–२० विश्वकपमा पाकिस्तानविरुद्धको खेल, सेमिफाइनल र फाइनलमा देखाएको प्रदर्शनले उनको महत्त्व अझ प्रस्ट भयो । फाइनलमा पाँचौँ नम्बरमा आएर ३१ बलमा ४७ रन बनाउनु उनको करिअरकै विशेष इनिङ्समध्ये एक बन्यो ।

३२ वर्ष पुगेका अक्षर अहिले भारतका सबै ढाँचाका मुख्य अलराउन्डरमध्ये एक हुन् । आगामी टी–२० विश्वकपमा उनी सूर्यकुमार यादवका उपकप्तान रहनेछन् । दीर्घकालीन लक्ष्यबारे उनी भन्छन्, ‘अवसर आयो र मनले मान्यो भने गरिहालिन्छ ।’

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नागराज गोल्लापुडी
नागराज गोल्लापुडी
लेखकबाट थप