बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन

धादिङ–१ : ३४ वर्षे कम्युनिस्ट विरासत जोगाउने दबाबमा एमाले र नेकपा

शुक्रबार, १६ माघ २०८२, १४ : ००
शुक्रबार, १६ माघ २०८२

काठमाडौँ । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्युनिस्टको गढ मानिने धादिङ–१ मा परम्परागत दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

एक समय आफ्नो राम्रो पकड रहेको यो क्षेत्रमा एमाले विगतको गर्विलो विरासत फर्काउने दाउमा छ । अर्कोतिर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका राजेन्द्र प्रसाद पाण्डे आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सुरुवाती समयमा पाण्डे एमालेबाट उम्मेदवार बन्ने गर्दथे । यद्यपि उनी एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी हुँदै पछिल्लो समय माओवादी केन्द्रसँगको एकतापछि बनेको नेकपाबाट उम्मेदवार भएका हुन् । उनी अघिल्लो विरासतलाई कायमै राख्ने दबाबमा छन् ।

मुख्य प्रतिस्पर्धी दलहरू एक्लाएक्लै निर्वाचनमा सहभागी भएकाले आफूलाई सहज हुने पाण्डेको तर्क छ । ‘सबै पालिकामा हाम्रो राम्रो मत छ । पछिल्लो लहरले केही पालिकामा थोरै मत प्रभावित भए पनि खासै असर पर्ने देखिँदैन । कम्युनिस्टको वर्चस्व यसपटक पनि कायमै रहन्छ’, उनले भने ।

गजुरी गाउँपालिका छेपाङ्ग निवासी पाण्डे एमालेको छैटौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । आठौँ महाधिवेशनमा पोलिटब्युरो र नवौँ महाधिवेशनमा स्थायी समिति सदस्यमा निर्वाचित भएका उनी २०७८ सालमा एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लागे । गत वर्ष असारमा भएको एकीकृत समाजवादीको १०औँ महाधिवेशनमा उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । 

पूर्वमुख्यमन्त्री तथा नेकपाका अर्का प्रभावशाली नेता शालिकराम जम्कट्टेलले नेकपाको मत प्रभावित नभएको जिकिर गरे । कांग्रेस र एमालेको मत रास्वपाले क्रस गर्ने हुँदा नेकपा सहज रूपमा विजयी हुने उनको दाबी छ ।

‘बेनिघाट रोराङ, सिद्धलेक, गजुरी गाउँपालिकामा हामी निकै मतले अगाडि छौँ । थाँक्रे, गल्छी गाउँपालिका र धुनीबेसी नगरपालिकामा पनि हाम्रो राम्रो मत छ । गल्छी र धुनीबेसीमा एमाले र हाम्रो बराबरजस्तै मत छ’, जम्कट्टेलले भने ।

जेनजी विद्रोह दमनका कारण एमालेको जनमत खस्किँदै गएको र कांग्रेसमा नेतृत्व परिवर्तनका कारणले अन्तरविरोध चर्चिएको तथा रास्वपा सामाजिक सञ्जालमा बढी निर्भर रहेकाले भूगोलमा नेकपाको जनमत प्रभावित नहुनु नै जितको आधार रहेको जम्कट्टेलले जिकिर गरे ।

प्रतिस्पर्धी दलको तुलनामा नेकपाले उठाएको एजेण्डा नै अग्रगामी भएकाले पनि जनमत आकर्षित हुने उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका कारण पराजित भएका एमालेका उम्मेदवार भूमि त्रिपाठी पनि आफ्नो पक्षमा परिणाम ल्याउन कम्मर कसेका छन् । बेनिघाट रोराङ गाउँपालिका, रिचोकटार निवासी त्रिपाठी १२ वर्षदेखि जिल्ला अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । अधिवक्ता पनि रहेका उनी धादिङका पार्टी इन्चार्ज र केन्द्रीय सदस्य हुन् । आफ्नो पालिकामा नेकपाको मत थोरै अगाडि भए पनि अन्य पालिकामा एमालेको राम्रो पकड रहेको उनको दाबी छ ।

‘बेनिघाट रोराङ, गजुरी गाउँपालिकामा थोरै मतले नेकपा अगाडि भए पनि सिद्धलेक, गल्छी, थाँक्रे, धुनिबेसी नगरपालिकामा हाम्रो राम्रो पकड छ । कांग्रेसको मत रास्वपाले क्रस गर्ने हुँदा एमालेलाई समस्या हुँदैन’, उनले भने ।

यता कांग्रेस र रास्वपा ३४ वर्ष कम्युनिस्टको दबदबा रहेको किल्ला भत्काउने गरी आक्रामक तयारीमा जुटेका छन् । कांग्रेसले नयाँ अनुहार कृष्ण रिजाललाई प्रतिस्पर्धामा उतारेको छ । थाँक्रे गाउँपालिका डी गाउँका स्थायी बासिन्दा रिजाल नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक हुन् । उनी १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि हुन् ।

पुसको अन्तिम हप्ता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि आफू निकट रिजाललाई टिकट दिएका थिए । कांग्रेस रुपान्तरण सहित निर्वाचनमा होमिएकाले जित आफ्नो हुने रिजाल जिकिर गर्छन् ।

‘हामी नयाँ नेतृत्व सहित चुनावमा होमिएका छौँ । विगतमा तालमेल गरेर चुनावमा गएकाले सोचे अनुसार मत आएन’, उनले भने, ‘सबै पालिकामा कांग्रेसको संगठनात्मक मत बलियो छ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएकाले योपटक जित निकाल्न सक्छौँ भन्ने विश्वास छ ।’

रास्वपाले सामाजिक अगुवा तथा कलाकार आसिका तामाङलाई उम्मेदवार बनाएको छ । तामाङ गजुरी गाउँपालिकाकै बासिन्दा भएकाले त्यस पालिकाको जनमत प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । देशव्यापी रूपमा रास्वपाको माहोल बढ्दै गएकाले त्यसको प्रभाव धादिङ–१ मा पनि पर्न सक्ने विश्लेषण भइरहेको छ ।

तामाङलाई सामाजिक अभियन्ताका रूपमा धेरैले चिन्छन् । एकातिर उनको सामाजिक छवि र रास्वपाको पक्षमा देखिएको जनलहरले धादिङ–१ मा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ । तामाङ पनि रास्वपाको पक्षमा जनलहर देखिएको जिकिर गर्छिन् । मतदातालाई भेट्न गाउँगाउँ गएकी उनले वृद्धवृद्धा, युवायुवतीदेखि बालबालिकासम्म सबैले आफूलाई सकारात्मक प्रतिक्रिया दिएको बताइन् ।

‘सहरी क्षेत्रमा मात्र होइन, गाउँ–गाउँमा रास्वपाको पक्षमा धेरै लहर छ । वृद्धवृद्धा, युवायुवतीदेखि बालबालिकासम्ममा मैले आफूलाई चिनाउनै परेन । सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । आन्तरिक प्राविधिक कमजोरीका कारण पराजित भए बेग्लै कुरा, नत्र जित्ने अवस्था देखिएको छ’, उनले भनिन् ।

यो क्षेत्रबाट चुनाव मैदानमा दलबाट १३ र स्वतन्त्र १० गरी २३ जना उम्मेदवार छन् । २०७९ सालमा भएको निर्वाचनमा (कांग्रेस–माओवादी–एकीकृत समाजवादी) गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार पाण्डे ८ हजार ९१ मतान्तरले विजयी भएका थिए । उनले ३६ हजार १८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका त्रिपाठीले २७ हजार ९२७ मत प्राप्त गरेका थिए ।

यस्तै, रास्वपाका हिमेश पन्तले १२ हजार ४९४ मत प्राप्त गर्दा अन्यले जम्मा एक हजार ३९५ मत पाएका थिए । त्यतिबेला पार्टी विभाजन पश्चात एक्लै निर्वाचनमा उठ्दा पनि त्रिपाठीले राम्रो मत ल्याएका थिए ।

यस्तै समानुपातिकतर्फ एमालेले २४ हजार ८१३ मत ल्याएर पहिलो पार्टी बन्दा दोस्रोमा रहेको कांग्रेसले १६ हजार ५६७, तेस्रोमा माओवादीले १५ हजार ७९४, चौथोमा रास्वपाले १० हजार १२७ मत प्राप्त गरेको थियो । एकीकृत समाजवादीले जम्मा ६ हजार ३५ मत प्राप्त गरेको थियो ।

  • यस्तो छ इतिहास

बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४८ सालमा भएको निर्वाचनमा धादिङको साविक २ र ३ नम्बर क्षेत्र एमालेले कब्जा गरेको थियो भने १ नम्बर क्षेत्रमा कांग्रेसले बाजी मारेको थियो । २०५१ सालको मध्यावधिमा १ नम्बर क्षेत्र राप्रपाले कब्जा गर्दा यो क्षेत्र एमालेकै पकडमा रह्यो ।       

२०५६ को निर्वाचनमा धादिङ–१ राप्रपा, धादिङ–२ कांग्रेसले कब्जा गर्दा धादिङ–३ हाल (धादिङ–१) मा एमालेले नै ह्याट्रिक गर्‍यो । रोचक कुरा, तीन वटै निर्वाचनमा राजेन्द्र पाण्डे विजयी भएका थिए । त्यसकारण यस क्षेत्र एमालेको ‘लाल किल्ला’ अर्थात् उर्भर क्षेत्र मानिन्थ्यो । त्यसमा पनि प्रभावशाली नेता पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएपछि अन्य दलका उम्मेदवार प्रक्रियामा मात्र सहभागी हुन्थे ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा धादिङ– १ मात्र होइन, धादिङका तीन वटै निर्वाचन क्षेत्रमा नेकपा(माओवादी)ले ‘क्लिन स्विप’ गर्‍यो । २०७० को निर्वाचनमा तीन वटै क्षेत्रमा एमालेले ‘कमब्याक’ गर्‍यो । २०६४ सालमा यो क्षेत्रबाट माओवादीका प्रभावशाली नेता शालिकराम जम्कट्टेल विजयी भएका थिए । २०७० सालमा पाण्डेले जम्कट्टेलसँग हारको बदला लिए ।

२०७४ सालमा एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि पाण्डे र जम्कट्टेल दुवै जना प्रदेश सभा सदस्यमा निर्वाचित भए । पाण्डे प्रदेशसभा १ र जम्कट्टेल प्रदेशसभा २ बाट भारी मतले विजयी भए । संयोग, दुवै नेता बागमती प्रदेशका मुख्यमन्त्री बन्न सफल भए । प्रतिनिधि सभा सदस्यमा एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी निर्वाचित भए । दुर्भाग्य, तत्कालीन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच देखिएको सत्ता र शक्ति संघर्षका कारण नेकपा विघटन भयो । आन्तरिक विवादका कारण एमाले समेत जोगिएन । माधव नेपाल समूहले पार्टी विभाजन गरी २०७८ सालमा नेकपा(एकीकृत समाजवादी) गठन गरेको थियो ।

  • अघिल्लो निर्वाचनमा स्थानीय तहमा जित–हारको अवस्था 

२०७९ सालको स्थानीय तह निर्वाचनमा गजुरी गाउँपालिका अध्यक्षसहित वडा नं. १, ५, ६, ७ र ८ माओवादीले जितेको थियो । उपाध्यक्ष र अन्य वडा कांग्रेस विजयी भएको थियो ।

गल्छी गाउँपालिका अध्यक्षसहित १, २ र ७ नं. वडामा एमाले विजयी भएको थियो । उपाध्यक्षसहित वडा नं. ४, ६ र ८ कांग्रेसले जित्दा वडा नं. ३ र ५ मात्र माओवादीले जितेको थियो ।

थाँक्रे गाउँपालिका अध्यक्षसहित १, ५, ७, ९ र १० वडा एमालेले जितेको थियो । उपाध्यक्षसहित २, ३, ४ र ६ वडा माओवादीले जितेको थियो । वडा नं. ८ एकीकृत समाजवादी र ११ कांग्रेसले जितेको थियो ।

सिद्धलेक पालिका अध्यक्ष, २ र ७ नं. वडा मात्र कांग्रेसले जितेको थियो । वडा नं. १ र ५ माओवादीले जितेको थियो । ३, ४ र ६ नं. वडा एमालेले जितेको थियो ।

बेनिघाट रोराङ पालिका अध्यक्ष सहित २, ४, ५, ६, ७ र ८ नं. वडा माओवादीले जितेको थियो । उपाध्यक्ष एकीकृत समाजवादी र वडा नं. १ र १० कांग्रेसले जित्दा एमालेले ३ र ९ नं. वडा जितेको थियो ।

धुनिबेसी नगरपालिकाको प्रमुख एकीकृत समाजवादी र उपप्रमुख कांग्रेसले जितेको थियो । माओवादीले १, ६, ८ नं. वडा माओवादीले जितेको थियो । ५ नं. वडा स्वतन्त्रले जित्दा, २ र ४ वडा एकीकृत समाजादीले जितेको थियो । कांग्रेसले ३, ७ र ९ वडा जित्दा एमाले निल भएको थियो ।

जनमतको हिसाबले बेनीघाट रोराङ, गजुरी, सिद्धलेकमा नेकपाको राम्रो प्रभाव रहेको सो पार्टीका नेताहरूको दाबी छ । गल्छी गाउँपालिका र धुनीबेसी नगरपालिकामा भने आफूहरू अन्य दलकै हाराहारीमा रहेको उनीहरूको जिकिर छ । थाक्रेमा पनि पछिल्लो समय एमालेको जनमत घट्दो मात्रामा रहेको नेकपाका नेताद्वय पाण्डे र जम्कट्टेलले बताए ।

यता एमालेका उम्मेदवार त्रिपाठी बेनिघाट र गजुरीमा थोरैमात्रामा नेकपा अगाडि भए पनि अन्य पालिकामा आफूहरू अगाडि रहेको दाबी गर्छन् । निर्वाचन आयोगका अनुसार धादिङ–१ मा एक लाख ३६ हजार ६८६ मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप