बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

शान्त देखिने धादिङ-२ : भित्रभित्र चल्दैछ चुनावी आँधी

शुक्रबार, १६ माघ २०८२, १९ : ३०
शुक्रबार, १६ माघ २०८२

काठमाडौं । प्रतिनिधिसभा चुनाव आउन करिब ५ साता मात्रै बाँकी हुँदा धादिङ क्षेत्र नम्बर २ अहिलेसम्म शान्त नै छ । देशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा चुनावी अंकगणित र सम्भावित नतिजाबारे चर्चा भइरहँदा यो क्षेत्र स्वस्थ प्रतिस्पर्धामा अघि बढिरहेको छ ।
 
यो जिल्ला अहिलेसम्म राष्ट्रिय रुपमा चर्चामा नआउनुको कारण यो पनि हो कि यहाँ न त भाइरल अनुहारहरु प्रतिस्पर्धामा छन्, न त चुनावी प्रचारका लागि शीर्ष नेताहरू पुगेका समेत छन् । यद्यपि यो निर्वाचन क्षेत्रको प्रतिस्पर्धा पनि कम भने छैन ।
 
यो क्षेत्र अन्तर्गत धादिङ जिल्लाको उत्तरी क्षेत्र पर्छ । चीनसँग सिमाना जोडिएको रुबीभ्याली उपत्यकादेखि धादिङ सदरमुकाम धादिङबेँसीसम्म बुढीगण्डकी र त्रिशुलीको सीमासम्म यो क्षेत्र फैलिएको छ । यसमा रुबीभ्याली, गंगाजुमना, खनियाबास, नेत्रावती, त्रिपुरासुन्दरी, ज्वालामुखी गरी ६ गाउँपालिका र नीलकण्ठ नगरपालिका यो क्षेत्र अन्तर्गत पर्छन् ।

अहिले यो क्षेत्रमा नेपाली कांग्रेसबाट रमेश धमला, नेकपा एमालेबाट धनबहादुर घले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बोधनारायण श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यसबाहेक थप ११ वटा दलले समेत उम्मेदवार उठाएका छन् । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, नेसनल रिपब्लिक नेपाल, श्रम संस्कृति पार्टी, मितेरी नेपाल पार्टी, नेकपा माओवादी, उज्यालो नेपाल पार्टी र आम नेपाल पार्टी छन् । ८ जना स्वतन्त्र उम्मेदवारले समेत यो अवधिमा उम्मेदवारी दिएका छन् ।
 
कसको कस्तो छ प्रोफाइल ?

दलगत इतिहास, राष्ट्रिय चर्चा एवं उम्मेदवारको लोकप्रियताका आधारमा हेर्दा धादिङ-२ को चुनावी नतिजा मुख्य चार दलबाहेक अन्यत्र जाने अवस्था देखिँदैन ।
 
यसमध्ये कांग्रेसबाट उम्मेदवार बनेका धमला पार्टीको जिल्ला समितिका पूर्व सभापति हुन् । पर्यटन व्यवसायी समेत रहेका उनी ट्रेकिङ एजेन्सी ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष समेत हुन् । उनको स्थायी ठेगाना नीलकण्ठ नगरपालिका–१३ हो ।   

एमालेका उम्मेदवार रहेका धनबहादुर घले स्थानीय व्यवसायी हुन् । धादिङको गंगाजमुना–६ स्थायी घर भएका उनी २०७० मा तत्कालीन धादिङ-१ बाट निर्वाचित भई संविधानसभा सदस्यको भूमिका निर्वाह गरेका थिए । 

नेकपाबाट उम्मेदवार बनेका रामबहादुर भण्डारी त्रिपुरासुन्दरीका स्थायी बासिन्दा हुन् । माओवादी सशस्त्र युद्धका क्रममा हराएका भएका उनका दुई छोरा अझै बेपत्ता छन् । आफ्नो समेत खुट्टा गुमाएका उनलाई तत्कालीन माओवादीले ज्यूँदो सहिद घोषणा गरेको थियो ।

रास्वपाबाट यो क्षेत्रमा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् । उनी ज्वालामुखी–२ का स्थायी बासिन्दा हुन् । पार्टीको केन्द्रीय संगठन विभाग उपप्रमुख रहेका उनी युनिसेफका पूर्व कर्मचारी पनि हुन् ।

यस्तो छ विगतको अंकगणित 

निर्वाचनको इतिहास हेर्दा धादिङ–२ सधैँ ‘सेलेक्टिभ’ हुने गरेको देखिन्छ । नयाँ संविधान बनेर देशमा १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम भएसँगै दुईवटा निर्वाचनमा धादिङले फरक-फरक दलका उम्मेदवारलाई जिताएर पठाएको छ ।


 
२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा एमालेका खेम लोहनी विजयी भएका थिए । उनले ३६ हजार २०० मत ल्याएर विजयी हुँदा कांग्रेसका रामनाथ अधिकारी ३५ हजार ६०० मतसहित पराजित भएका थिए । त्यतिबेला तत्कालीन माओवादी र राप्रपाले एमालेका उम्मेदवारलाई नै समर्थन गरेको थियो ।
 
२०७९ को निर्वाचनमा आउँदा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भए । उनले ३४ हजार ७३६ मत ल्याउँदा एमालेका खेम लोहनीले २४ हजार १९० मत ल्याएका थिए । यसपटक कांग्रेस र माओवादीबिच चुनावी तालमेल भएको थियो । राप्रपाले भने यसपटक पनि एमालेलाई समर्थन गरेको थियो भने रास्वपाकी उम्मेदवार बसुमाया तामाङले ५ हजार ५६९ मत ल्याएकी थिइन् ।

प्रदेशसभातर्फ धादिङको सबैभन्दा उत्तरमा रहेको क्षेत्र प्रदेशसभा २ (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ३८३ मत ल्याउँदा माओवादीले १४ हजार ३८३ मत ल्याएको थियो । कांग्रेस–माओवादी गठबन्धनबिच माओवादी उम्मेदवार पराजित भएको देखिन्छ । प्रदेशसभा २ (क) मा भने माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको थियो । यो अवस्थामा कांग्रेस उम्मेदवारले १९ हजार ४७४ मत ल्याउँदा एमाले उम्मेदवारले १६ हजार ४५८ मत ल्याएको थियो । रास्वपाले प्रदेशसभामा कुनै पनि उम्मेदवार उठाएको थिएन ।
 
प्रत्यक्ष निर्वाचनमा तालमेल भएको अवस्थामा समानुपातिक मतले कुन दलको उम्मेदवार कति थिए भनेर अनुमान लगाउन सकिन्छ । २०७९ सालमा कांग्रेसले २० हजार ९५७ मत ल्याउँदा एमालेले १६ हजार २७५ मत ल्याएको थियो । माओवादीले ११ हजार ४९४, राप्रपाले ७ हजार ६३०, रास्वपाले ५ हजार ६२८ र एकीकृत समाजवादीले २ हजार ९३४ मत ल्याएको देखिन्छ । यसो गर्दा कुल मत करिब ६० हजार हुन आउँछ । त्यतिबेला कुल ६६ हजार ७५४ मत खसेको थियो । बाँकी मत साना दल र स्वतन्त्र उम्मेदवारहरुले होल्ड गरेको अवस्था थियो । 

२०७९ को निर्वाचनमा धादिङ-२ मा कुल १ लाख ३४ हजार मतदाता थिए । त्यसमध्ये समानुपातिकतर्फको कुल सदर मत मतदाता संख्याको ४९.५५ प्रतिशत रहेको देखिन्छ । अहिले हुन गइरहेको चुनावमा यो क्षेत्रमा ३ हजार ८६८ मतदाता थपिएका छन् । यो भनेको २.८७ प्रतिशत हो । 

कुन उम्मेदवारको प्रभाव कस्तो ?

माथिको तथ्यांकलाई सन्दर्भको रुपमा हेर्न सकिए पनि यही आधारमा यसपटकको चुनावी परिणाम आँकलन गर्नु भने उपयुक्त हुँदैन । राष्ट्रिय राजनीतिको माहोल यतिबेला फरक छ । एकातिर फरक माहोलमा चुनाव भइरहेको छ भने अर्कोतिर राष्ट्रिय रुपमा रास्वपा पुराना दललाई टक्कर दिनेगरी आएको छ । 

उता कांग्रेस पनि ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्दै नयाँ नेतृत्वसहित चुनावमा गएको छ । एमालेले अरू दललाई विदेशबाट परिचालित भन्दै आफूलाई राष्ट्रिय शक्तिको रुपमा उभ्याउँदै चुनावी प्रचारमा जाने २०७४ को नीति दोहोर्‍याउन खोजेको जस्तो देखिन्छ । माथिल्लो भेगमा राम्रो प्रभाव रहेको राप्रपा आफ्नो भोटलाई जोगाउने प्रयासमा हुन सक्छ । 

तर यी सबैका बिचमा उम्मेदवारको उपस्थिति र प्रभावले महत्त्वपूर्ण फरक पार्ने अवस्था छ । अघिल्लो पटकको विजेता दल कांग्रेसलाई पार्टीभित्रको आन्तरिक कलहका कारण हुनसक्ने अन्तर्घातलाई रोक्ने चुनौती देखिन्छ । पार्टीका जिल्ला सभापति रामनाथ अधिकारी शेखर कोइराला पक्षका हुन् । विशेष महाधिवेशन हुँदै गर्दा ‘आफूहरु नियमित महाधिवेशनको पक्षमा रहेको’ भन्दै विज्ञप्ति निकाल्ने ४७ जिल्ला सभापतिहरुमध्ये उनी एक हुन् । अर्कोतिर नीलकण्ठ नगरपालिकाका मेयर समेत रहेका भीम ढुंगानाले देउवा पक्षको प्रतिनिधित्व गर्छन् । उम्मेदवार बनेका धमला भने गगन थापा पक्षका हुन् । यो हिसाबले हेर्दा कांग्रेसको आन्तरिक प्रतिशोध कायम भएको अवस्थामा धमलालाई हराउन आफ्नैभित्र पर्याप्त हुने देखिन्छ । 

यसको सकारात्मक पक्ष पनि छ । कांग्रेसले जनप्रतिनिधिलाई टिकट नदिनेगरी बनाएको मापदण्डका कारण ढुंगानाले टिकट पाउने आश गरेका थिएनन् । जिल्ला सभापति अधिकारीले यसअघि नै आफू उम्मेदवार नबन्ने घोषणा गरेकाले उनको नाम पनि सिफारिसमा थिएन ।
 
त्यस्तै, माथिल्लो भेगका प्रभावशाली मानिने दिलमान पाख्रिनलाई समानुपातिकका लागि सिफारिस गरिएकाले उनले पनि टिकटको आश गरेका थिएनन् । वासुदेव तिमल्सिना, तिलकप्रसाद रुवाली, गोपाल विश्वकर्माको नाम सिफारिस भए पनि जिल्लाका पूर्व सभापति धमलाले टिकट पाउँदा उनीहरुले पनि चित्त बुझाउने अवस्था छ । 

व्यक्तिगत रुपमा धमलाको सबल पक्ष भनेको जिल्लाको सभापति भएर संगठन चलाएको अनुभव हुनु र पर्यटन क्षेत्रमार्फत् भूगोल, राजधानीदेखि प्रवाससम्म सम्बन्ध हुनु हो । 
 
उता, एमालेमा पनि आन्तरिक कलह कमजोर छैन । खासगरी टिकट दिने, खोस्ने र फेरि दिने अवस्थाले धादिङ एमालेमा कलहको अवस्था देखिन्छ । एमालेले सुरुमा हालका उम्मेदवार धनबहादुर घलेलाई टिकट दिएको थियो । तर तल्लो भेगका नेताहरुको विरोधपछि चन्द्र रिजाललाई टिकट दिएको एमालेले घले समूहको विरोध र दबाबपछि रिजालको टिकट खोसेर फेरि घलेलाई नै आधिकारिक उम्मेदवार मानेको थियो ।

यो अवस्थाले एकातिर तल्लो बेल्टका कार्यकर्ताहरु असन्तुष्ट भएका छन् भने अर्कोतिर पाइसकेको टिकट खोसिँदा रिजाल समूहबाट घलेलाई असहयोग नै गर्ने अवस्था देखिएको छ । त्यसो त यसअघि उम्मेदवार रहेर सामान्य मतले पराजित भएका खेम लोहनी पनि रिजालकै पक्षमा थिए । उम्मेदवारी दर्ताको बिहान पनि एमालेका आधिकारिक उम्मेदवार रिजाल भएको भन्दै उनले स्टाटस लेखेका थिए । राष्ट्रिय राजनीतिमा सबैभन्दा ठुलो प्रभाव खेपिरहेको एमालेलाई यही प्रकारको आन्तरिक कलह रहेमा यो नै हारका लागि पर्याप्त हुने देखिन्छ ।
 
यसमा सकारात्मक पक्ष पनि नभएको होइन । २०७० मा तीनवटा क्षेत्र हुँदा घले निर्वाचित भए पनि त्यसपछिका दुई निर्वाचनमा उनले टिकट पाएनन् । बरु दुवैपटक तल्लो बेल्टले टिकट पायो । २०७४ सालमा उम्मेदवार बनेका गुरु बुर्लाकोटी र २०७९ का उम्मेदवार खेम लोहनी प्रदेशसभाको तल्लो क्षेत्रकै व्यक्ति हुन् जुन घलेको सबैभन्दा सबल पक्ष हो । यो अवस्थामा माथिल्लो क्षेत्रले उम्मेदवार पाउनु आफैँमा न्यायोचित पनि देखिन्छ । 

त्यस्तै, भूगोललाई नै आधार क्षेत्र बनाएका घले काठमाडौंमा बसेर राजनीति गर्ने रिजालभन्दा बढी उपयुक्त भएको अर्थमा समेत एकाथरीले हेर्ने गरेका छन् । घलेले टिकट पाउँदा माथिल्लो भेगमा भएका तामाङ समुदाय र राप्रपाको भोट समेत उनीप्रति बढी ‘लोयल’ हुने अवस्था रहन्छ ।

नेकपा पनि अहिले आफूलाई सशक्त रुपमै आएको छ । सांगठनिक भोट कम भए पनि उम्मेदवारको फाइदा नेकपालाई देखिन्छ । ज्यूँदो सहिद भनेर चिनिने रामबहादुर भण्डारीप्रति धादिङमा सहानुभूति राख्नेको संख्या धेरै छ, उनको सबैभन्दा सबल पक्ष उनको व्याकग्राउन्ड नै हो ।
 
अर्कोतिर माथिल्लो बेल्टमा राम्रो प्रभाव रहेका पूर्व सांसद जगतबहादुर सिंखडाले नै चुनावी प्रचारको कमान्ड सम्हालिरहेकाले भण्डारीलाई केही सहज हुने अवस्था छ । एकीकृत समाजवादी लगायत दल मिलेर बनेको नेकपाले पुराना प्रतिस्पर्धी दलसँगको अन्तरलाई कम गरेको आँकलन छ । 

तर २०७० पछि पहिलोपटक आफ्नै बलबुतामा भिड्न लागेको नेकपालाई सहज हुने अवस्था छैन । सहानुभूतिकै आधारमा दुई-चार हजार मत बढाउन सकिए पनि नतिजा आफ्नो हातमा पार्न दोब्बरभन्दा धेरै मत बढाउनुपर्ने अवस्था र राष्ट्रिय रुपमा आशावादी मत बढाउने ठाउँ नभएकाले यो पार्टीलाई चुनावी नतिजा आफ्नो हातमा पार्नु फलामको च्युरा चपाउनुभन्दा कम कठिन छैन ।

अब रास्वपातिर जाऔं । सामाजिक सञ्जालको प्रभाव र भाइरल अनुहारको बलमा नतिजाको बाढी ल्याउने तयारी गरेको रास्वपाको अवस्था अन्यत्रजस्तै धादिङमा पनि आशावादी र अपेक्षित अहिले पनि छँदैछ । धादिङ–२ मा अधिकांश मतदाता काठमाडौं लगायतका काठमाडौं, चितवन, पोखरा लगायत सहरी क्षेत्रबाट आउने भएकाले पनि यो क्षेत्र रास्वपाको लागि उर्वर नै मान्न सकिन्छ । २०७९ मा कमजोर मत पाए पनि योबिचमा सबै वडामा संगठन विस्तार गरेकाले रास्वपामा सांगठनिक भोटको प्रभाव पनि सकारात्मक नै पर्न सक्छ ।
 
तर रास्वपामा उम्मेदवारप्रति चरम असन्तुष्टि छ । खासगरी जिल्लाका सम्भावित अन्य उम्मेदवारलाई पन्छाएर भूगोलमा खासै नभिजेका बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाइएपछि रास्वपाभित्र व्यापक असन्तुष्टि देखिन्छ । यसपटक कृष्णमान शाक्य, अनिल अधिकारी, उपेन्द्र पाण्डे, राजन अर्याल लगायतले टिकटको आकांक्षा गरे पनि उपसभापति डीपी अर्यालको जोडबलमा उनलाई टिकट दिइएको भन्दै रास्वपा कार्यकर्ताहरु निराश छन् । 

अघिल्लोपटक साढे ५ हजार भोट ल्याएको रास्वपालाई चुनावी नतिजा आफ्नो हातमा पार्न कम्तीमा ५ गुणा भोट बढाउनुपर्छ । नयाँ मतदाता जम्मा ४ हजार मात्रै बढेको अवस्थामा अन्य दललाई भोट हालेकालाई तान्नुपर्ने बाध्यतामा रहेको रास्वपाले धादिङ-२ मा न त अनुहारलाई स्थान दिएको छ न त ग्राउन्डलाई, जुन रास्वपालाई चुनौती हो ।

यी सबै अवस्था हेर्दा धादिङ–२ को चुनावी भिडन्त अझै रोचक हुने देखिन्छ । उम्मेदवार र कार्यकर्ताले गर्ने अबको मिहिनेतले जुनसुकै उम्मेदवारको पक्षमा पनि नतिजा आउने अवस्था धादिङ–२ ले देखाउँछ । यसमा राप्रपाले कुन उम्मेदवारप्रति बढी लोयालिटी देखाउँछ, यसले पनि चुनावी परिणाममा प्रभाव पार्न सक्छ । त्यसबाहेक नयाँ दलको रुपमा आएका उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीले तान्नसक्ने मतदाताले पनि चुनावी परिणामलाई केही हदसम्म प्रभाव पार्न सक्ने अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप