चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सारांश
- आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति र राजस्व चुहावटको मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ।
- शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष र सदस्यहरूले १० अर्बभन्दा बढी राजस्व छुट दिएको आरोप लागेको छ।
- अख्तियारले दायर गरेको मुद्दामा शर्मा र उनकी पत्नीलाई प्रतिवादी बनाइएको छ, र विशेष अदालतले यसअघि उनलाई दोषी ठहर गरेको थियो।
काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध गैरकानुनी रूपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावटसम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ ।
शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप सम्बन्धी मुद्दा सुनुवाइका लागि न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
कर फर्छ्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । महत अध्यक्ष रहेको कर फर्स्योट आयोग, २०७१ बाट फर्स्योटका लागि सम्झौता भएका करदातामध्ये केहीलाई बदनियतपूर्वक १० अर्ब दुई करोड रुपैयाँभन्दा बढी कर छुट तथा मिनाह गरेको भेटिएको थियो ।
शर्मा र ढकाल आयोगका सदस्य थिए । आयोगलाई दिइएको म्यान्डेटभन्दा बाहिर गई आफूलाई फाइदा हुने गरी करदाताहरूसँग सम्झौता गरेका कारण राज्यलाई आउनुपर्ने राजस्व नउठेको दाबी अख्तियारले गरेको थियो ।
त्यस्तै, सोही वर्ष २०७१ माघ १५ मा फेरि आन्तरिक राजस्व विभागका महानिर्देशकका रूपमा कार्यरत हुँदा शर्माले गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी अर्को मुद्दा दायर भएको थियो । ०४५ मा सरकारी सेवामा प्रवेश गरेका उनले ०७३ सम्म सात करोड ९३ लाख रुपैयाँभन्दा बढी रकम बराबरको सम्पत्ति जोडेको र खर्च गरेको भेटिएको थियो ।
अख्तियारको अनुसन्धानअनुसार उनको वैध आय तीन करोड ६३ लाख रुपैयाँ हुनुपर्नेमा चार करोड ३० लाख रुपैयाँभन्दा बढी रकमको स्रोत खुलेको थिएन । यस मुद्दामा शर्माका साथै जफत प्रयोजनका लागि उनकी पत्नी कल्पना उप्रेती शर्मालाई समेत प्रतिवादी कायम गरी अख्तियारले मुद्दा दायर गरेको थियो ।
यो मुद्दामा विशेष अदालतबाट यसअघि चूडामणि शर्मासहितलाई राजस्व चुहावटमा दोषी ठहर गरेको थियो । विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल सर्वोच्च अदालत पुगेका थिए ।
२०८२ असार २५ मा सर्वोच्चका न्यायाधीशहरू सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले स्वच्छ सुनुवाइमा प्रश्न उठाउँदै विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको औँल्याउँदै गर्दै पुन सुनुवाइ गर्न भन्दै सो मुद्दा विशेष अदालतमा फर्काइदिएको थियो । त्यसपछि विशेष अदालतमा यो मुद्दा पुन सुनुवाइ हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण