नेपालतर्फ ल्याउँदै गरेको डेढ लाख नशालु ट्याब्लेटसहित दुई जना पक्राउ
सारांश
- भारतीय एसएसबीले रौतहटमा नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको नशालु औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूको साथबाट करिब डेढ लाख प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको छ, जुन भारतबाट नेपालतर्फ तस्करी हुँदै थियो।
- एसएसबीको अर्को अपरेसनमा २ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्, र उनी नेपालबाट भारततर्फ गाँजा तस्करी गर्दै थिए।
रौतहट। नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै ठुलो परिमाणमा नशालु औषधि नेपाल भित्र्याउने प्रयास विफल पार्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब डेढ लाख प्रतिबन्धित मनोप्रभावी ट्याब्लेट बरामद गरिएको छ।
एसएसबी ७१ औँ बटालियनको ‘ए’ कम्पनी अठमोहनस्थित इन्टेलिजेन्स सेटअपबाट प्राप्त विशेष सूचनाका आधारमा भारतको पूर्वी चम्पारण क्षेत्रबाट नेपालतर्फ ठुलो परिमाणमा प्रतिबन्धित औषधि ओसारपसार हुन लागेको थाहा पाएपछि सुरक्षा सतर्कता बढाइएको थियो। तस्करहरूले ढाका (पूर्वी चम्पारण) देखि झरोखरसम्म इलेक्ट्रिक अटो रिक्सा प्रयोग गरी सामान ल्याइरहेका थिए भने सुरक्षाकर्मीबाट जोगिन विभिन्न ‘लाइनर’ हरू परिचालन गरिएको खुलेको छ।
प्राप्त सूचना तत्काल ७१ औँ बटालियनको डीसी अप्स कार्यालय तथा झरोखर प्रहरीसँग समन्वय गरिएको थियो। सहायक कमाण्डेन्ट बिश्वजित तिवारीको निर्देशनमा एफ कम्पनी जमुनिया र झरोखर प्रहरीको संयुक्त टोलीले विशेष अपरेसन सञ्चालन गरेको थियो।
शनिबार साँझ करिब ५:३० बजे भारततर्फको बीपी सीमास्तम्भ नम्बर ३५७/०२ बाट करिब २ किलोमिटर टाढा पर्ने अमवा गाउँ नजिक शङ्कास्पद इलेक्ट्रिक अटो रिक्सा नम्बर: बीआर ०५ आर ए ४४८१ रोकेर जाँच गर्दा ठुलो परिमाणमा मनोप्रभावी औषधि फेला परेको हो।
सवारी चालकको उपस्थितिमा गरिएको जाँचका क्रममा पाँच कार्टुनमा लुकाइछिपाइ राखिएको ट्रमाडोल ५० एमजीका ४९५ प्याकेट बरामद गरिएको थियो। प्रत्येक प्याकेटमा ३०० ट्याब्लेट रहेको र जम्मा १ लाख ४८ हजार ५०० नशालु ट्याब्लेट बरामद भएको एसएसबीले जनाएको छ। उक्त औषधि नेपालतर्फ तस्करी हुँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बरामद औषधि र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ। पक्राउ पर्नेहरू भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला बसतपुर कालोनी, मोतिहारी निवासी २२ वर्षीय तपस कुमार र सोही स्थानका २२ वर्षीय गुलशन कुमार रहेको एसएसबीले जनाएको छ।
यसैबिच, एसएसबी ७१ औँ बटालियनकै अर्को अपरेसनमा नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको अवस्थामा एक जना युवक पक्राउ परेका छन्। ‘बी’ कम्पनी महुवावा र बिहार प्रहरीको संयुक्त विशेष गस्ती टोलीले करिब २ केजी गाँजासहित २२ वर्षीय कृष्णा कुमारलाई नियन्त्रणमा लिएको हो। उनी भारत, बिहार पूर्वी चम्पारण जिल्ला मधुबनजितौरा वडा नम्बर १५ का बासिन्दा हुन्।
उनी सीमास्तम्भ नम्बर ३७६ बाट करिब अढाई किलोमिटर टाढा पर्ने धरहरी गाउँ नजिक पक्राउ परेका थिए। बरामद गाँजा नेपालबाट भारततर्फ तस्करी गरी ल्याइएको आशङ्का गरिएको छ। पक्राउ परेका व्यक्ति र बरामद सामानलाई थप अनुसन्धानका लागि महुवावा प्रहरी चौकीमा बुझाउने प्रक्रिया भइरहेको एसएसबी पिपराकोठीका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण