चुनावमा एजेन्डा होइन, ‘प्रतिशोध र इगो’ बोक्दैछन् दलका नेता !
सारांश
- निर्वाचनमा दलका नेताहरूले देश विकासको स्पष्ट खाका, सुशासन र रोजगारीको योजना प्रस्तुत गर्नुको सट्टा एक अर्कालाई आरोप लगाइरहेका छन्।
- केपी शर्मा ओली र रवि लामिछानेले निर्वाचनको समयमा एक अर्काप्रति कटाक्ष गर्दै अभिव्यक्ति दिएका छन्, जसले चुनावी प्रचारप्रसारको शैलीलाई उजागर गर्छ।
- राजनीतिक विश्लेषकहरूले गालीगलौज र आरोप-प्रत्यारोपको संस्कृतिले राजनीतिप्रतिको विश्वास घटाउने र अराजकता बढाउने चेतावनी दिएका छन्।
काठमाडौँ । निर्वाचनका समयमा ठोस एजेन्डा र प्रतिबद्धता बोकेर जनतामाझ जानुपर्ने जिम्मेवार राजनीतिक दल र तिनका नेताहरू नै त्यसविपरीत ‘प्रतिशोध र इगो’ बोकेर जनताको मत बटुल्ने प्रयासमा लागेका छन् ।
यस्तो प्रतिस्पर्धा देशको जिम्मेवार पदमा पुगेका र फेरि पनि देश चलाउँछु भन्ने दलका शीर्ष नेताहरू नै अग्रपंक्तिमा देखिन्छन् । इगो र प्रतिशोधको राजनीति मुलुकका लागि हानिकारक हुने तथा राजनीतिक दलहरूप्रति नागरिकको विश्वास समेत घट्दै जाने भएकाले त्यस्तो प्रवृत्तिमा सुधारको खाँचो रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । निर्वाचनमा मत माग्न जाँदा राजनीतिक पार्टी र नेताहरूले देश विकासको स्पष्ट खाका, सुशासन र रोजगारीको योजना तथा परराष्ट्र नीतिलगायतका एजेन्डालाई प्राथमिकतामा राख्नुको साटो एक अर्काप्रति आरोप प्रत्यारोप र गालीगलौजको संस्कृति बदल्न आवश्यक रहेको विश्लेषकहरूको सुझाव छ ।
- पछिल्लो उदाहरण हेरौँ-
१.केपी शर्मा ओली
- मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिँगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन, अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे र अर्को साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैन यी बतासका खेती गरिरहेका छन् । यिनीहरूका उद्देश्य छैन, विचार छैन, भोली उठी कहाँ जाने केही थाहा छैन ।
गत शनिवार एमाले पार्टी कार्यालय च्यासलमा भएको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको यो टिप्पणी आफूसँगै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका बालेन्द्र शाह (बालेन) लक्षित हो भन्ने प्रस्ट बुझिन्छ ।
२ रवि लामिछाने
- गिद्धले सिनो लुछे जस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ–अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्विकार्छौँ तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षडयन्त्रपूर्ण ढङ्गले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्विकार्दैनौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई दिनअघि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गरेको यो टिप्पणी कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीप्रति लक्षित भन्ने कुरा स्पष्ट बुझिन्छ ।
पूर्व उपप्रधान र गृहमन्त्री समेत भैसकेका लामिछानेले आगामी निर्वाचनमा एमाले, कांग्रेस र नेकपा (ओली, प्रचण्ड र गगन थापा) बिच चुनावी तालमेल र सहकार्य हुनसक्ने चर्चा भइरहेका बेला सम्भावित गठबन्धनलक्षित अभिव्यक्ति दिन पुगेका हुन् ।

चुनावको सम्मुखमा माथिका दुई नेताका अभिव्यक्ति प्रतिनिधि उदाहरण मात्रै हुन् । फागुन ४ गतेपछि चुनावी प्रचार–प्रसार खुला भएसँगै नेता र नेतृत्व तहबाटै यी भन्दा चर्का अभिव्यक्ति, टिप्पणी, घोचपेच र गालीगलौजको शृङ्खला स्वाभाविक रूपमा बढ्न सक्ने देखिएको छ ।
फागुन २१ मा मतदाताले भोट हाल्ने समय आउन अव एक महिना पनि छैन । तर मतदाताहरूले अहिलेसम्म दलहरूका घोषणापत्र पढ्न त के हेर्न पनि पाएका छैनन् । राजनीतिक दलका घोषणापत्र पढेर कुन पार्टी र उम्मेदवारलाई मत दिने हो भनेर मतदातालाई धारणा बनाउन ढिला भैसकेको छ । तर उनीहरू अर्को पार्टी र उम्मेदवारले कस्तो घोषणापत्र बनाउँछ र त्यो भन्दा आफू कसरी फरक हुने भनेर एकअर्कामा ‘भद्रो’ हेरेर बसेका छन् ।
राजनीति शास्त्रका दिग्गजहरू नेपाली राजनीतिमा मौलाउँदै गएको गालीगलौज र अर्काको भद्रो हेर्ने प्रवृत्तिले समाज र देश सही बाटोमा जान नसक्ने तर्क गर्छन् । साथै उनीहरू यस्तो प्रवृत्तिले राजनीतिप्रतिको विश्वास समेत घट्दै जाने र छिटो छिटो अराजकताका घटनाहरू बढ्न पुग्ने बताउँछन् ।
उनीहरूका अनुसार चुनावका बेला एकअर्का पार्टी र नेताप्रति सामान्य घोचपेच चल्नु स्वाभाविक भएपनि जति चर्को आवाजमा अर्कोलाई गाली गर्यो, त्यति नै बढी जनमत आफ्नो पक्षमा पर्छ भनेर बुझ्नुचाहिँ अत्यन्त हानिकारक हुन पुग्छ । ‘अहिलेसम्म तल्लो स्तरमा ओर्लेर गाली गरेको अवस्था त होइन, तर नेतृत्व घोचपेच र गालीगलौजमा नउत्रेर सौम्य हुनुपर्ने हो’, राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. लोकराज बराल भन्छन्, ‘हाम्रो नेपाली समाज त्यस्तो गालीगलौज गर्ने पनि होइन ।’
विश्लेषक बराल देश चलाउँछु भन्ने राजनीतिक दल र तिनका नेताहरूले कहिलेकाहीँ सामान्य घोचपेच गर्नुलाई अस्वाभाविक रूपमा नलिइए पनि लगातार प्रतिशोध र इगो बोकेर अभिव्यक्तिहरू दिँदै राजनीति गर्नुलाई भने उपयुक्त ठान्न नसकिने बताउँछन् ।
‘अहिलेसम्म त ठिकठिकै देखिन्छ तर फागुन ५ गतेबाट चुनावी गतिविधि बढ्दै जाला, त्यसपछि थप छेडखानी पनि बढ्न सक्छ’, बरालले भने, ‘ओलीजीले केही दिनअघि बतासे अण्डाबाट बच्चा निस्किन्छ र ? भन्नुभयो यतिसम्म त चल्छ तर त्यो भन्दा बढी भयो भने पच्दैन ।’
_QtUEsy0lyy.jpg)
त्रिभुवन विश्व विद्यालयका अर्का प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. भेषराज घिमिरे यत्रो राजनीतिक परिवर्तन भइसक्दा पनि ठुला भनिएका राजनीतिक दल र नेताहरू नै एक अर्काप्रति आरोप प्रत्यारोप गरेर आफ्ना कमजोरी छोप्न लाग्नुले उनीहरूमा स्पष्ट कार्यक्रम र कार्यदिशाको कमी भएको ठान्छन् ।
‘हामी हाम्रो संस्कारको कुरा गरिरहेका छौ, यति ठुलठुला परिवर्तन पनि गरिरहेका छौँ’, प्राध्यापक डाक्टर घिमिरे भन्छन्, ‘तर दलहरूले अहिले पनि एकले अर्कोलाई आरोप प्रत्यारोपबाहेक केही ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।’
डा. घिमिरे नेपाली राजनीतिमा रहेका र देखिएका साना ठुला, नयाँ पुराना सबैले यो भएन, त्यो भएन भनेर सबै बिग्रेको कुरा मात्रै गर्ने गरेर निराशा थपेको बताउँछन् ।
‘उनीहरू नै सवै कुरा गर्छु पनि भन्छन् । तर गर्ने कसरी हो र के के कुरा जोडेर गर्ने हो भन्ने कुनै पनि उपाय र योजना देखिँदैन’ घिमिरेले भने, ‘आफूले गर्ने काम भन्ने र जनतालाई बुझाउने भन्दा पनि गालीगलौजको संस्कृति यसरी बढेर गयो कि अव गाली नगरी कुनै नेतृत्वले भाषण गर्छ भने ताली नबज्ने, त्यसका पछाडि कार्यकर्ता र मानिसहरू नलाग्ने अवस्थासम्म आइसक्यौँ ।’

डा. घिमिरे राजनीतिमा यस्तो अवस्थालाई दुरावस्थाका रूपमा विश्लेषण गर्नुपर्ने भन्दै भोट हाल्ने दिन आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा घोषणापत्रसम्म सार्वजनिक नगर्नु लज्जास्पद भएको टिप्पणी गर्छन् । ‘अहिलेसम्म प्रमुख दलहरूले घोषणापत्र समेत ल्याउन सकेका छैनन्’, घिमिरे भन्छन्, ‘अहिले फलानो दलले घोषणापत्र ल्याएपछि बल्ल हामी ल्याउँछौ भनेर पर्ख र हेरको अवस्था देखिन्छ यो विडम्बना हो ।’
चुनावमा मतदाताले घोषणापत्र हेरेर जसको राम्रो हुन्छ उसैलाई भोट दिने लोकतान्त्रिक व्यवस्थामा दलहरूले चुनावी घोषणापत्र ल्याउनै ढिला गरेर गलत गरिरहेको घिमिरेको बुझाइ छ ।
‘कुन पार्टीको देश बनाउने प्रतिबद्धता के हो ? अन्तर्राष्ट्रिय सम्बन्ध के हो ? आर्थिक नीति के हो ? सुशासनको मोडालिटी र एजेन्डा के हो भनेर जनताले छुट्टाउन पाउनुपर्छ’, घिमिरेले भने, ‘त्यो नहेरी टिकटकमा लाइक र कमेन्ट हेरेर भोट आउँछ भन्ठान्नु अत्यन्तै गलत छ ।’
सत्तामा बस्ने र बाहिर बस्नेले पनि समस्याको समाधान दिने भन्दा पनि थप समस्या देखाउने प्रवृत्ति नेपाली राजनीतिमा मौलाएको घिमिरेको विश्लेषण छ ।
‘सबैले समस्या मात्र देखाउने गरेका छन् । ठुला पार्टी र नेतृत्वले समस्या देखाउने होइन । समस्या आम जनताले देखाउने हो’, घिमिरे भन्छन्, ‘नेतृत्वले समाधान देखाउने हो ।’ हाम्रो देशको भूगोल,हावापानी र पर्यटनसँग जोडेर विकासको खाका सार्वजनिक गर्न दलहरू लजाउने गरेको घिमिरेको टिप्पणी छ ।
‘परनिर्भरताको ग्राफ बढिरहेको अवस्थामा त्यसलाई कसरी घटाउने भन्ने सोच,एजेन्डा र खाका हुनुपर्छ’, डा. घिमिरे भन्छन्, ‘भूराजनीतिको सिकार किन भइरहेका छौँ, त्यसलाई परास्त गर्ने स्टाट्रेजी के हो ? खाली तामझामका साथ चुनाव प्रचारका साथै एकले अर्कोलाई गालीगलौज र आरोप प्रत्यारोप गर्ने राजनीतिक संस्कार र संस्कृतिको माहौल दलहरूले जसरी बनाइरहेका छन् यो लोकतन्त्रका लागि विडम्बना मात्रै होइन नागरिकको त्याग र बलिदानको उपहास अनि भद्दा मजाकबाहेक केही होइन ।’
राजनीतिक विश्लेषक डम्बर खतिवडा स्वच्छ राजनीतिक प्रतिस्पर्धा भन्दा पनि प्रमुख राजनीतिक दल र नेताहरू बदलाको भावनासहित गालीगलौज र आरोप प्रत्यारोपमा उत्रने गरेको बताउँछन् । नेपाल र नेपालीहरूमा भावना प्रधान मनोविज्ञानले धेरै काम गर्ने भएकाले पनि विवेकसम्बत कुरा, ज्ञान र विचारका कुरा, एजेन्डा र सङ्गतिका कुरा, तर्क र सिस्टमका कुरामा चासो र रुचि नहुने गरेको खतिवडाको बुझाइ छ ।
‘त्यसैले यो रेभेन्स साइकोलोजी हो । बदलाको मानसिकता हो । बदलाले पुराना शासकहरूलाई प्रतिस्थापन गर्छ तर ठोस परिणाम दिँदैन’, खतिवडाको निष्कर्ष छ ।
पुराना नेताहरूसँग बदला लिन चाहने मतदाता वा कार्यकर्ताले नयाँका नाममा बालेन शाहलाई ‘हाउगुजी’ बनाइरहेको खतिवडाको भनाइ छ । ‘एउटा पक्ष बालेनलाई हाउगुजी बनाएर ओली, देउवा र प्रचण्डसँग बदला लिने साइकोलोजिमा छ भने अर्को पक्ष परिवर्तनलाई हिंसामात्र भनिरहेको छ,’ उनको भनाइ छ ।
खतिवडाका अहिले आरोप प्रत्यारोप भन्दा पनि दलहरूका एजेन्डामा बहस हुनुपर्ने बताउँछन् ।
‘कसका एजेन्डा के हुन् ? फरक पोलिटिकल कल्चर के हो ? नेतृत्व र उसको क्वालिटी के हो ? उनीहरू आएर गर्ने के हो ? यसबारे बहस हुनुपर्ने हो’, खतिवडाले रातोपाटीसँग भने, ‘कांग्रेस, एमाले र माओवादीलाई घुमीफिरी चान्स किन दिइरहनुपर्ने हो ? वा किन नदिनुपर्ने हो ? वा आफूलाई नयाँ भन्नेहरू कसरी नयाँ हुन् ? यसमा प्रस्ट हुनुपर्छ ।’
खतिवडाले रास्वपाले अहिले आफूलाई नयाँ भनिरहेको भन्दै स्वयंमा रास्वपा नयाँ हो कि होइन ?भनेर छुटयाउन सक्नुपर्ने बताए । ‘रास्वपा पनि दुई पटक सरकारमा गइसकेको पार्टी हो अनि बालेन शाह रास्वपामा प्रवेश गर्ने बित्तिकै नयाँ हुने अरू नहुने भन्ने हुन सक्दैन’, खतिवडाले भने, ‘यी सबै प्रश्नको उत्तर खोज्नुपर्छ । तर उत्तर राजनीतिक कार्यकर्ताले खोज्दैनन् ।’

यसको उत्तर खोज्न स्वतन्त्र नागरिक समाज, मतदाता, मिडिया र बौद्धिक जगतले बहस चलाउनुपर्ने खतिवडाको सुझाव छ ।
दलहरूले यसवेला गालीगलोज र आरोप प्रत्यारोप गर्न छाडेर अव हामी ऋण लिएर मुलुक चलाउँदैनौँ भन्न सक्नुपर्ने घिमिरे बताउँछन् । ‘हाम्रो भूगोल र आर्थिक सम्भावनालाई हेरेर देशभित्रै विकासका खाकाहरू बनाउन सकिन्छ भनेर जनताको मन जित्न सक्नुपर्छ’, घिमिरेले भने, ‘समुन्नत, दिगो र स्वाभिमानी अर्थतन्त्रका लागि हाम्रा यो यो योजना छन् र हाम्रो बहुमत आयो भने कार्यान्वयन पनि गर्छौ भन्न सक्नुपर्छ ।’
बन पैदावार, कृषि र ससाना उद्यमशीलताका योजना ल्याउने हो भने एकै वर्षमा विकासले छलाङ नमारे पनि आशा पलाउन सक्छ र आयात प्रतिस्थापन गर्न सकिन्छ भनेर नागरिकलाई आश्वस्त पार्न सके मात्र दलहरूप्रति जनविश्वास बढ्ने घिमिरेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण