शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वित्तीय नियम उल्लंघनमा लेस्टर सिटीको ६ अंक खोसियो, रेलिगेसनको जोखिम बढ्यो

शुक्रबार, २३ माघ २०८२, ०७ : ३७
शुक्रबार, २३ माघ २०८२

सारांश

  • लेस्टर सिटीलाई वित्तीय नियम उल्लंघनको आरोपमा ६ अंकको कारबाही गरिएको छ।
  • च्याम्पियनसिप तालिकाको १७औँ स्थानमा रहेको लेस्टर अंक कटौतीपछि २०औँ स्थानमा झरेको छ।
  • क्लबले ईएफएलको निर्णयप्रति आपत्ति जनाउँदै कानुनी विकल्प खोज्ने बताएको छ।

लण्डन । इङ्लिस क्लब लेस्टर सिटीलाई वित्तीय नियम उल्लंघन गरेको अभियोगमा ६ अंकको कारबाही गरिएको छ। इङ्लिस फुटबल लिग (ईएफएल) ले ‘प्रफिट एण्ड सस्टेनेबिलिटी’ (पीएसआर) नियम तोडेको भन्दै लेस्टरको चालू सिजनको ६ अंक तत्काल लागू हुने गरी कटौती गरिदिएको हो।

यो कारबाहीसँगै च्याम्पियनसिप तालिकाको १७औँ स्थानमा रहेको लेस्टर सिधै २०औँ स्थानमा झरेको छ। टोली अहिले गोल अन्तरका आधारमा मात्र रेलिगेसन क्षेत्रभन्दा बाहिर छ।

सन् २०२३-२४ सम्मको तीन वर्षको अवधिमा लिगले तोकेको भन्दा बढी घाटा देखाएपछि लेस्टरमाथि गत मे महिनामा प्रिमियर लिगले आरोप दर्ता गरेको थियो। प्रिमियर लिगको नियम अनुसार क्लबहरूले तीन वर्षको अवधिमा १० करोड ५० लाख पाउण्डभन्दा बढी घाटा बेहोर्न पाउँदैनन्, तर लेस्टरको पछिल्लो वित्तीय प्रतिवेदनले सो सीमा नाघेको देखाएको छ।

लेस्टरले सन् २०२२ मा कीर्तिमानी ९ करोड २५ लाख पाउण्ड र २०२३ मा ८ करोड ९७ लाख पाउण्ड घाटा भएको पुष्टि गरेको थियो। क्लबले ईएफएलको यो निर्णयप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘अन्यायपूर्ण’ र ‘अस्वभाविक’ भनेको छ। क्लबले एक विज्ञप्ति जारी गर्दै लिगले तोकेको सजायले क्लबको खेल भावना र उद्देश्यमा ठूलो चोट पुर्‍याएको भन्दै कानुनी विकल्पहरू बारे विचार गरिरहेको बताएको छ।

गत सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको लेस्टर अहिले प्रशिक्षकविहीन अवस्थामा छ। जनवरीमा मार्ती सिफुइन्तेसलाई बर्खास्त गरेपछि टोलीको कमाण्ड अन्तरिम प्रशिक्षक एन्डी किंगले सम्हालिरहेका छन्।

पछिल्ला चार खेलमा जित निकाल्न नसकेको र तीन खेलमा हार बेहोरेको लेस्टरका लागि यो अंक कटौतीले थप संकट पैदा गरिदिएको छ। अब लेस्टरले शनिबार बर्मिङ्घम सिटीको सामना गर्दैछ, जहाँ टोलीलाई रेलिगेसनबाट बच्न जित्नैपर्ने दबाब हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप