तीन पूर्व सहकर्मीबिच प्रतिष्ठाको लडाइँ, मौकाको फाइदा उठाउने ध्याउन्नमा बासना !
सारांश
- एमालेका रवीन्द्रराज शर्मा र एकीकृत समाजवादीका अम्मरबहादुर थापाबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
- २०७९ को निर्वाचनमा थापाले शर्मालाई पराजित गरेका थिए, तर यसपटक कांग्रेस र रास्वपाका उम्मेदवारले पनि प्रतिस्पर्धा थपेका छन्।
- कांग्रेसकी बासना थापाले पुरानो विरासत फर्काउने र रास्वपाका नन्दकिशोर बस्नेतले पनि चुनावी प्रतिस्पर्धामा आफूलाई उभ्याएका छन्।
सुर्खेत । ५० को दशकयता एमाले दैलेखभित्र कसैको दबदबा थियो भने—ती नेता हुन्, रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापा । एमाले दैलेखका संस्थापक रहेका शर्माले ०४८ देखि संसदीय चुनाव लड्न सुरु गरे । थापा ०४९ मा स्वतन्त्र वामपन्थीबाट जिविसको सदस्य चुनाव लडे । त्यसपछि एमाले प्रवेश गरेका थापा—शर्माबिच झन्डै साढे २ दशक गहिरो मित्रता र सहकार्य रह्यो ।
शर्माले दैलेख—१ मा ०४८ र ०५१ सालको चुनाव लड्दा कांग्रेसका गणेशबहादुर खड्कासँग पराजित भए ।
०५१ सालसम्म दैलेखका नेमकिपाको प्रभाव थियो, चुनावी प्रतिस्पर्धा कांग्रेस—नेमकिपाबिच हुन्थ्यो ।
एमाले तेस्रो र चौथो दलमा सीमित थियो । एमालेका शर्मा ०५१ मा चौथो भए । उक्त चुनावपछि नेमकिपा एमालेमा समाहित भयो । नेमकिपादेखि स्वतन्त्र वाम आन्दोलनमा सक्रिय नेताहरूलाई एमालेमा समाहित गराउने मुख्य भूमिकामा थापा—शर्माहरू नै थिए ।
त्यसपछि बलियो भनेको एमालेले कांग्रेससँग चुनावी प्रतिस्पर्धा गर्न थाल्यो ।
दुई पटक संसदीय चुनावमा असफल भएपछि शर्मा ०५४ मा नारायण नगरपालिको मेयर लडे र जिते । थापा भने त्यो बेला एमालेको सचिव भएर पार्टी चलाइरहेका थिए । ०५६ को चुनावमा एमालेका नरबहादुर हमालले कांग्रेसका खड्कालाई पराजित गरे । दैलेख—१ मा ०७० को चुनावसम्म कांग्रेसका खड्कासँग नै एमालेका नेताहरूको प्रतिस्पर्धा हुन्थ्यो ।
०६४ को चुनावमा एमालेबाट थापा एमालेबाट उम्मेदवार बने । यद्यपि कांग्रेसका खड्कासँग पराजित भए ।
०७० मा एमालेबाट पुनः उम्मेदवार बनेका थापाले कांग्रेसका खड्कासँग हारको बदला लिए । यी चुनावमा थापाको चुनावी कमान्डरको भूमिकामा शर्मा थिए । ०७४ को चुनावमा थापा प्रदेश झरे भने प्रतिनिधि सभामा शर्मा उम्मेदवार बने । उक्त चुनावमा यी दुईजना काँधमा काँध मिलाएर भोट माग्न जान्थे ।
बाम गठबन्धनबाट उम्मेदवार बनेका शर्माले प्रतिनिधि सभातर्फ २३ हजार ७७३ र थापाले प्रदेशतर्फ १२ हजार ५६७ मतसहित दैलेख १ (ख) बाट चुनाव जिते । उक्त चुनावमा प्रतिनिधि सभामा कांग्रेसले राप्रपाका दीपककुमार शाहीलाई सघाएको थियो । तर पनि शर्माले चुनाव जिते ।
यसरी लामो समय एउटै पार्टीका सहकार्य गरेका थापा—शर्मा एमाले विभाजनपछि भने फरक कित्तामा उभिए । शर्मा एमालेमै बसे भने थापाले एकीकृत समाजवादी रोजे ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा दोस्रो पटक शर्मा—थापा आमने–सामने भएका छन् । शर्माले पुरानै अनुभवी शर्मालाई उनीसँग लड्न खटायो । अहिले थापा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
कर्णाली प्रदेशमा तत्कालीन नेकपामा विवाद उत्कर्षमा रहँदा थापा एमाले विरुद्धको कित्तामा उभिए । उनले एमालेको निर्णय विरुद्ध ‘फ्लोर क्रस’ गर्दै तत्कालीन माओवादीबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीको सत्ता बचाउने खेलमा सामेल भए । एमालेले उनलाई कारबाही गर्यो । आफ्नो सत्ता बचाउन भूमिका खेलेका थापालाई शाहीले ६ महिने भौतिकमन्त्री बनाए । सबैभन्दा लामो समय १४ वर्ष एमाले दैलेख नेतृत्व गरेका थापा एमाले विभाजनपछि माधव नेपाल समूहसँगै एकीकृत समाजवादीमा लागे ।
विगतमा एमाले दैलेखमा सूत्रधार रहेका उनीहरू एक–अर्काका चुनावी कमान्डर समेत बनेको विगत छ । तर ०७९ को निर्वाचनदेखि यी दुई पूर्व सहकर्मी चुनावी भिडन्तमा छन् ।
०७९ मा कांग्रेस, माओवादीको साथ पाएका समाजवादीका थापाले एमालेका शर्मालाई ८५२ मतान्तरले पराजित गरिदिए । थापाले १८ हजार २९७ मतसहित निर्वाचित हुँदा शर्माले १७ हजार ४४५ मत पाएका थिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा दोस्रो पटक शर्मा—थापा आमने–सामने भएका छन् । शर्माले पुरानै अनुभवी शर्मालाई उनीसँग लड्न खटायो । अहिले थापा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा सङ्घीयतापछिका चुनावमा कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवार उठाएको थिएन् । ०७४ मा बाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएपछि राप्रपालाई सहयोग गरेको कांग्रेसले ०७९ मा केन्द्रबाट नै बाम–लोकतान्त्रिक गठबन्धन हुँदा समाजवादीमा थापाले टिकट पाए ।
यो पटक भने कांग्रेसले युवा नेतृ बासना थापालाई उम्मेदवार बनाएको छ । कुनै बेला आफ्नो बलियो गढ रहेको क्षेत्रमै आफ्नो उम्मेदवार र आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाएका थिएनन्, कांग्रेस कार्यकर्ताले । १० वर्षपछि, त्यो पनि महिला नेतृ थापाको उम्मेदवारीले कांग्रेसलाई उत्साह थपेको बताउँछिन्, उनी ।
अर्कातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्व एमाले नेता नन्दकिशोर बस्नेत (एनके) चुनावी मैदानमा छन् । उनी एमालेबाट उम्मेदवारका लागि सिफारिस भएका थिए ।
तर बिचैमा रास्वपा प्रवेश गरेर टिकट ल्याए । उनी पनि दैलेखमा चिनिएकै नेता हुन् ।
दुई पूर्व सहकर्मीले तनावमा रवीन्द्र !
सदरमुकाम समेत रहेको दैलेख—१ मा नारायण नगरपालिका, महावु, भगवतीमाई, डुङ्गेश्वर, नौमुले र गुराँस गाउँपालिका पर्छन् ।
सांगठनिक र जनमतका यसअघि बलियो रहेको एमालेका शर्मालाई अहिले आफ्नै पूर्व सहकर्मी नेकपाका थापा र रास्वपाका बस्नेतले तनाव दिएको छ । कमजोर संगठन रहेका थापा र बस्नेतले मत लिने भनेकै एमालेको हो । यसअघि थापाले कांग्रेसको मतका कारण चुनाव जितेका हुन् । यो पटक उनले कांग्रेसको मत पाउने सम्भावना छैन । यद्यपि शर्माले भने थापा र बस्नेतलाई आफ्नो चुनावी प्रतिस्पर्धी नै मानेका छैनन् ।
७९ हजार ७०१ मतदाता रहेको यो क्षेत्रमा ०७९ को निर्वाचनमा एमालेले सबैभन्दा बढी १६ हजार ३१३ समानुपातिक मत पाएको थियो । प्रत्यक्षमा टिकट नपाएको कांग्रेसले १५ हजार ८३७, एकीकृत समाजवादीले ३ हजार १६६ र माओवादीले २ हजार ६४५ मत पाए । राप्रपाले १ हजार मत कटायो ।
यो पटक विगतको मतलाई आधार मानेर चुनावी विश्लेषण गर्नु उपयुक्त नहुने विश्लेषकका तर्क छन् । तर, दैलेख जस्तो ग्रामीण भूभाग भएको जिल्लामा यसले ठुलो अर्थ राख्छ नै ।
सांगठनिक र जनमतका यसअघि बलियो रहेको एमालेका शर्मालाई अहिले आफ्नै पूर्व सहकर्मी नेकपाका थापा र रास्वपाका बस्नेतले तनाव दिएको छ । कमजोर संगठन रहेका थापा र बस्नेतले मत लिने भनेकै एमालेको हो । यसअघि थापाले कांग्रेसको मतका कारण चुनाव जितेका हुन् । यो पटक उनले कांग्रेसको मत पाउने सम्भावना छैन । यद्यपि शर्माले भने थापा र बस्नेतलाई आफ्नो चुनावी प्रतिस्पर्धी नै मानेका छैनन् ।
‘तारा र घण्टीहरु तेस्रो, चौथो हुन्, प्रतिस्पर्धा हुने एमाले–कांग्रेसबिच हो,’ शर्माले रातोपाटीसँग भने, ‘हामी चुनाव जित्छौँ ।’
यता नेकपाका (७० वर्षीय) थापाले भने आफूलाई कांग्रेस र एमाले दुवैले भोट दिने र चुनाव जित्ने बताए । ‘यो क्षेत्रको विकासमा सबैभन्दा बढी अग्रसर मै छु, संसदमा धेरै बोल्ने पनि मै हुँ,’ उनले भने, ‘रविन्द्रजी तेस्रो हुनुहुन्छ जस्तो लाग्छ ।’
यद्यपि उनलाई एमालेबाट भोट क्रस नभएको खण्डमा चुनावी मैदान महङ्गो पर्ने देखिन्छ । नेकपाको आफ्नो कमजोर जनाधार र अर्कातर्फ थापा प्रतिनिधि सभाको शिक्षा समितिको सभापति हुँदा शिक्षा विधेयकको सन्दर्भ झिक्दै शिक्षकमाथि बोलेका टिप्पणीहरुले शिक्षा क्षेत्रका अगुवाहरु चिँढिएको चर्चा दैलेखमा छ । तथापि एक अनुभवी र अर्को नयाँ पूर्व सहकर्मीले गर्दा एमालेका शर्मालाई चुनौती पक्कै थपेको छ ।
रास्वपाका उम्मेदवार बस्नेतले एमालेको मात्र नभई अन्य दलले समेत आफूलाई मत दिने र यो पटक घण्टी बज्ने दाबी गरे । बस्नेत दैलेख सदरमुकामका होटल व्यवसायी हुन् ।
पूर्व सहकर्मीको लडाइँबाट फाइदा उठाउने ध्याउन्नमा बासना
तीन पूर्व सहकर्मीले चुनावलाई प्रतिष्ठाको विषय बनाएको अवस्थामा अर्कातर्फ त्यहीबिचबाट विगतको विरासत फर्काउने रणनीति बनाइरहेकी छिन्, कांग्रेसकी बासनाले ।
उनी सदरमुकाममा रहेको होटल पार्किङकी सञ्चालक हुन् भने ०७४ मा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन् ।
नेविसंघको राजनीतिबाट उदाएकी उनी चिनिएकै महिला नेतृ हुन् । उनले विगतमा कांग्रेसले दैलेखमा गरेको विकासलाई नै आफ्नो चुनावी एजेन्डा बनाएकी छिन् ।
‘यो क्षेत्रको हालसम्मको विकासमा कांग्रेसको अग्रणी भूमिका छ, अर्को एक मात्र महिला नेतृ भएकाले मप्रति सबैको सहानुभूति छ,’ बासनाले भनिन्, ‘बलियो संगठन पनि कांग्रेसको जित्ने आधार हो ।’
यहाँ कुनैबेला कांग्रेसका गणेशबहादुर खड्काको प्रभाव थियो । ०४८ साल यता लगातार चुनाव लड्दै आएका उनी ०७० को चुनावमा पार्टीभित्रको गुटबन्दीका कारण पराजित भए । एक पटक भौतिक तथा यातायात मन्त्रीसमेत भएका उनकै पालामा दैलेखमा मोटर बाटो र बिजुली बत्ती पुगेको चर्चा दैलेखमा हुन्छ ।
उनले ०४८, ०५१ र ०६४ मा चुनाव जितेका थिए । बासना कांग्रेसको त्यो पुरानो विरासत यो पटक फर्काउने बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण