बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाउँमा तपाईँ बाहेक अर्को नेतै छैन भन्छन्, चुनाव फेरि जित्छु: अम्मरबहादुर थापा

शनिबार, २४ माघ २०८२, १२ : २६
शनिबार, २४ माघ २०८२

सारांश

  • अम्मरबहादुर थापा चौथो पटक प्रतिनिधि सभाको चुनाव लड्दै छन्, र उनले राम्रो प्रतिक्रिया पाइरहेका छन्।
  • स्थानीय जनताले थापालाई उत्कृष्ट उम्मेदवारको रूपमा समर्थन गर्दै आएका छन्, र उनले दैलेखको विकास र समृद्धिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • थापाले आफ्नो प्रतिस्पर्धी कांग्रेस, एमाले र रास्वपालाई मानेका छन्, तर उनले आफू नै चुनाव जित्ने दाबी गरेका छन्।

चौथौँ पटक प्रतिनिधि सभा चुनाव लड्दै हुनुहुन्छ, कस्तो पाइरहनुभएको छ प्रतिक्रिया ?

म अहिले अभियानमै छु, हिँड्दै छु, भेट्दै छु । गाउँमा जता गयो, अम्मरबहादुर थापा बाहेक अर्को नेता नै छैन भन्छन्, के गर्ने ? अहिलेका सबै उम्मेदवारमध्ये असल र अब्बल उम्मेदवार अम्मरबहादुर थापा नै हो, त्यसैलाई भोट हालौँ भन्छन् ।

हो र ? त्यस्तो छ है

ग्राउन्ड त छ नि त ! त्यही भएर त ३/३ पटक चुनाव जिताए दैलेखीले । ग्राउन्ड नभए जिताउँथे र ?

तर तपाईंको क्षेत्रमा नेकपा कमजोर दल हो, अघिल्लो पटक कांग्रेसको भोटले जितेको हो, हामी अम्मरजीलाई प्रतिस्पर्धी नै मान्दैनौँ भन्छन्, नि कांग्रेस–एमाले ?

हैन, देशभरि त ‘तारा’ नै प्रतिस्पर्धी हो । अरू को छ ? १ नम्बर पार्टी तारा नै हुन्छ । उनीहरुले भनेर के हुन्छ ?

तपाईँलाई दैलेखीले धेरै पटक जिताए, कामै गर्न सक्नु भएन भन्छन्, फेरि किन जिताउने हो र तपाईँलाई ?

दैलेखको विकास, समृद्धिका लागि जिताउने नि ! दैलेखी जनताको मन मुटुमा बसेको र उनीहरूको आवाज संसदमा बुलन्द गर्ने नेताका रूपमा जिताउने कुरा जनताले भनिरहेका छन् । जहाँसुकै यही हल्ला छ नि, मेरो प्रचार त सुन्नुभएको छैन कि क्या हो ? कांग्रेस–एमालेका मान्छेले पनि मलाई नै अब्बल र राष्ट्रिय स्तरको लिडर बन्न सक्ने मान्छे हो, त्यसैले पनि मलाई जिताउनुपर्छ भनिरहेका छन् ।

तर अम्मरबहादुर थापाले कामै गरेन भन्छन् नि ?

अरुले त यति पनि गर्न सकेका थिएनन् । अम्मरबहादुरले त गाउँ–गाउँ, टोल–टोलमा विकास पुर्‍याएको छ ।

त्यसो भने तपाईंको प्रतिस्पर्धी दल कुन हो ?

अहिले कांग्रेस, एमाले र हामीबिच प्रतिस्पर्धा हो । तर यी सबैलाई उछिन्ने ‘तारा’ नै हो ।

तपाईंकामित्र एमालेका रवीन्द्र शर्माले त अम्मरजी प्रतिस्पर्धामा आउनुहुन्न भन्नुहुन्छ नि ?

रविन्द्रजी बरु प्रतिस्पर्धामा आउनुहुन्न जस्तो लाग्छ मलाई । घण्टीले एमालेकै भोट काट्ने हो । म त दैलेखी जनताको भावनाको कदर गर्छु र मभन्दा असल उम्मेदवार कोही छ भने भन्नुहोस्, म बाटो छोड्न तयार छु । तर अहिलेका उम्मेदवारहरूमा म जत्तिको व्यक्तित्व भएको कोही छैन, त्यसैले सबैले मलाई नै भोट हाल्छन् ।

उता रास्वपाले पनि घण्टी बजाउने भन्छन् नि ?

त्यस्ता घण्टी–सण्टी त कता जान्छन् कता..!

कति मत ल्याउँछु जस्तो लाग्छ ?

अहिले १५ हजारभन्दा माथि ल्याउँछु । 

अन्तिममा रातोपाटी मार्फत के भन्न चाहनुहुन्छ, एजेन्डासहित ?

केही गौरवका योजनाहरू छन्, ती अधुरा सपना साकार पार्ने, सुर्खेत–दैलेख महावु सडक बनाउने हो । र, यहाँको पेट्रोलियम ग्यास उत्खनन गरेर दैलेखलाई समृद्ध बनाउने हो । यत्ति भन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप